प्रदेशकै पहिलो कम बेरुजु लोमान्थाङ गाउँपालिकामा
जोमसोम : गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका पहिलो र नेपालभरीको ७५३ स्थानीय तहमध्ये चौथो कम बेरुजु रहेको गाउँपालिकामा पर्न सफल भएको छ।
महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०८० अनुसार शुक्रबार सार्वजनिक गरिएको लेखा परीक्षण प्रतिवेदनमा यो गाउँपालिका गण्डकी प्रदेशकै पहिलो कम बेरुजु नम्बरको सूचीमा परेको हो।
नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकले आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
महालेखापरीक्षक (मलेप) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको कुल बजेटको ० दशमलव १९ प्रतिशत अर्थात ९ लाख ७२ हजार बेरुजु कायम भई गण्डकी प्रदेशकै पहिलो र ७ वटै प्रदेशको तहमा चौथो कम बेरुजु पालिकामा परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
यसअघि आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको बेरुजु कुल बजेटको शून्य दशमलव २६ प्रतिशत अर्थात् १३ लाख ३० हजार बेरुजु रहेको थियो। अघिल्लो वर्ष भन्दा यसपटक लोमान्थाङले शून्य दशमलव ७ प्रतिशत बेरुजु घटाएको हो।
उनले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको पारदर्शीता र वित्तीय अनुशासन कायम गरिएकाले लोमान्थाङ बेरुजु परिणामको नतिजा राम्रो आएको पालिकाले उल्लेख गरेको छ।