अन्तर्वार्ता

बारा २ मा मेरो जित सुनिश्चित छ, उपेन्द्र यादव प्रतिस्पर्धामै छैनन् : अरुण ज्ञवाली

बारा २ मा मेरो जित सुनिश्चित छ, उपेन्द्र यादव प्रतिस्पर्धामै छैनन् : अरुण ज्ञवाली

प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बारा क्षेत्र नं २ मा उम्मेदवार बनेका छन् अरण ज्ञवाली। अधिवक्तासमेत रहेका उनी नेपाली कांग्रेसको निलम्बित महासमिति सदस्य पनि हुन्। प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आफू बलियो प्रतिस्पर्धी रहेको बताउँदै आएका ज्ञवालीसँग अन्नपूर्णकर्मी क्रान्ति साहले कुराकानी गरेका छन्।

मतदाताको घरदैलोमा पुगिरहनु भएको छ। उनीहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ? 
पाँच दलीय गठबन्धन र अन्य दलका उम्मेदवारको चुनावी जुलुसमा केही भिड देखिएको छ। तर यस क्षेत्रका ५० प्रतिशतभन्दा बढी मतदाता साइलेन्ट छन्। साइलेन्ट मतदाता भनेका गरिब, विपन्न, युवा, महिला र दलित हुन्। उनीहरू परम्परागत दल र तिनका नेताहरूबाट विक्षप्त भइसकेका छन्। उनीहरूले विकल्प खोजिरहेका छन्। यही माटोको धर्तीपुत्र खोजिरहेका छन्। त्यस्तो धर्तीपुत्र जो दलभन्दा पनि माथिको सोच्ने होस्। हुन त सीके राउतजीले धर्तीपुत्र भन्दै शिवचन्द्र कुशवाहालाई लिएर आउनुभएको छ। तर शिवचन्द्रजी एकपटक सांसद बनिसक्नुभएको छ। उहाँले गरेका गतिविधि र व्यवहारबाट पनि जनता सन्तुष्ट छैनन्, रुष्ट नै छन्। त्यसैले उनीहरूका लागि अन्तिम विकल्प भनेको अरुण ज्ञवाली नै हो। त्यसैले यो निर्वाचनमा म उत्साहित छु। 

त्यसोभए जित्ने तपाईँ नै हो? अनि तपाईँको बलियो प्रतिस्पर्धी को हो?
अहिलेको लडाईँ भनेको अरुण ज्ञवाली र शिवचन्द्र कुशवाहाबीच नै हुन्छ। जसपाका उपेन्द्र यादव प्रतिस्पर्धाको रेसमै छैनन्। सम्भवतः उनी तेस्रो या चौथो नम्बरमा पुग्छन्। 

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जसलाई पाँच दलको पनि समर्थन छ। विगतको चुनावी अंकगणितमा उहाँको सहजै जित देखिन्छ। तपाइँको कुरा हास्यास्पद् भएन र? 
स्थानीय निर्वाचनको कुरा गर्ने हो भने यो क्षेत्रमा पर्ने ५ वटै पालिकामा गरी कांग्रेसको २१ हजार भोट थियो। जसपाले १८ हजार भोट पाएको थियो। माओवादी र लोसपाले ५-५ हजार भोट ल्याएका थिए। अहिले गठबन्धनमा रहेका यी दलहरुको त्यतिबेलाको भोट जोड्दा ५० हजार पुग्छ। त्यसपछि गत संसदीय निर्वाचनको कुरा गर्ने हो भने जसपा र उसका बागी दुई उम्मेदवार रामकिशोर यादव र रोशन यादवको मात्रै मत जोड्दा करिब ३५ हजार पुगेको थियो। त्यसो भए अहिले जसपाका उम्मेदवार उपेन्द्र यादवजीलाई अहिले नै जितको माला लगाइदिए भैगो नि।  सहजै जितिरहनुभएको छ भने उपेन्द्रजी किन यति तनावमा हुनुहुन्छ? उहाँको अनुहारमा किन यति धेरै व्याकुलता छ? पाँचै दलका शीर्ष नेताहरू यहाँ ओइरिएर घरघरमा धाइरहनु भएको छ। के यो पराजयको संकेत होइन र?  

उपेन्द्र यादव त गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ। आफ्ना उम्मेदवारलाई जिताउन नेताहरू चुनावी प्रचारमा आउनु अस्वभाविक हो र? 
एउटा कुरामा तपाईँ पनि क्लियर हुनुस्, यहाँका जनता एउटा कुरामा दृढ र स्पष्ट छन् कि बाहिरबाट आएका उम्मेदवारलाई कुनै पनि हालतमा भोट दिँदैनौं, जिताउँदैनौं। 


बारा-२ मा यसअघि पटक-पटक यहाँको मतदाता नभएकै नेताले जितेको इतिहास साक्षी छ नि? 
विगतमा के भयो? त्यसको रटान नगरौं। यसपाली बाहिरबाट आएर यहाँ उम्मेदवार बनेकाले जित्दैनन्। यो मेरो ठाकुवा हो। किनकि जनताले यहीँका सक्षम धर्तीपुत्र खोजिरहेका छन्। मैले दिनहुँ गरिरहेका चुनावीसभामा जनताको भिड हेर्नुस्, अरु उम्मेदवारको चुनावी कार्यक्रममा जनताको सहभागिता हेर्नुस्, आफैँ थाहा पाइहाल्नुहुन्छ। 

अनि चुनावी कार्यक्रममा नाचगान हेर्न आएको भिड मतमा परिणत हुन्छ भन्ने ग्यारेन्टी कसरी गर्नुहुन्छ? 
मैले बिना आधार भनेको होइन। गत मंसिर ४ को निर्वाचनमा पनि गठबन्धन थियो। जित्ने जसपाका रामसहाय यादवले साढे १३ हजार मत ल्याउँदा म स्वतन्त्र लडेरै ८ हजारभन्दा बढी मत ल्याएँ। अहिले त म विकासप्रेमी नेताको छबि बनाएका प्रभु साह नेतृत्वको आम जनता पार्टीको उम्मेदवारका रूपमा उत्रिएको छु। हिजो स्वतन्त्र लड्दा ८ हजार बढी मत ल्याएको अरुण ज्ञवालीले अहिले विकासप्रेमी पार्टीको उम्मेदवार बन्दा त्यसको तेब्बर मत नआउने कुरै छैन। जब बाक्सा खुल्छ, अनि थाहा पाउनुहोला मैले कति भोट पाउँछु। 

एकतिर उपेन्द्र यादवलाई जिताउन पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू लगातार यहाँ आएर मतदातालाई रिझाइ रहेका छन्। अर्कोतिर मधेसमा नयाँ शक्तिका रुपमा उदाएको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन अध्यक्ष सीके राउत स्वंय सहभागी भएका छन्। सतप्रतिशत जित्छु भन्ने दाबी अलि सुहाएन कि? 
एउटा कुरा के बुझनुस् भने बाराका मतदाता स्वतन्त्र छन्। पार्टीको गाँठ (बन्धन)मा बाधिएका छैनन्। यो कुरा गत निर्वाचनको नतिजाले पनि पुष्टि गरिसकेको छ। मंसिरमा भएको निर्वाचनमा तत्कालीन माओवादीबाट शिवचन्द्र कुशवाहा कांग्रेससहितको गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो, तर उहाँले १३ हजारभन्दा केही बढी मतमात्रै पाउनुभयो। जबकि गत स्थानीय तहको निर्वाचनमा यी दुवै पार्टीको मत जोड्दा ३६ हजार पुगेको थियो। तर शिवचन्द्रले किन १३ हजारमात्रै मत पाउनुभयो? त्यस्तै मंसिर ४ को संसदीय निर्वाचनमा चुनाव जितेका जसपाका उम्मेदवार रामसहाय यादवले साढे १३ हजार मतमात्रै पाउनुभयो। उहाँलाई एमालेले पनि समर्थन गरेको थियो। गत स्थानीय तहको निर्वाचनमा जसपा र एमालेले पाएको मत ३० हजारभन्दा बढी नै थियो। तर उहाँले साढे १३ हजारमात्रै मत किन पाउनुभयो? यसले के पुष्टि गर्छ भने गठबन्धन वा तालमेल पार्टी र तीनका शीर्ष नेताले गर्छन्, जनताले गर्दैनन्। त्यसमा पनि बारा २ का जनता झन सचेत छन्। उनीहरू दलका नेताका दास होइनन्, मत आफूले चाहेको र रोजेको नेतालाई नै हाल्छन्। त्यसका कारण गठबन्धन गर्दैमा चुनाव जितिहालिन्छ भनेर कसैले सोच्छ भने त्यो उसको मुर्खता हुनेछ। 

तपाईँ कांग्रेस पृष्ठभूमिको मान्छे। त्यसका कारण गठबन्धनबाट असन्तुष्ट कांग्रेसका कार्यकर्ता, समर्थक र शुभचिन्तकको मत मैले नै पाउँछु भन्ने तपाईँको विश्वास हो?  
मैले पाउने त्यो मत पनि हो। हुन त शेरबहादुर देउवाको ठाडो निर्देशनमा बारा-२ मा कांग्रेसले गठबन्धन गरेर जसपालाई समर्थन गरेको छ। यसबाट यस क्षेत्रका कांग्रेसी कार्यकर्ता र शुभचिन्तक मात्रै असन्तुष्ट छैनन्, यस क्षेत्रमा वर्षौंदेखि सक्रिय राजनीति गर्दै आएका कांग्रेसी नेताहरू पनि भित्रभित्रै असन्तुष्ट र आक्रोशित छन्। त्यसै पनि यो क्षेत्रमा कांग्रेसको पकड निक्कै मजबुत मानिन्छ। यस्तो अवस्थामा शेरबहादुर देउवाले भन्दैमा ती कांग्रेसी नेताहरूले जसपा वा अरु पार्टीका नेतालाई जिताएर आउने यसपछिको आउने निर्वाचनमा राजनीतिक आत्महत्या गर्न तयार हुन्छन् त? अघि मैले सुरुमा भने नि साइलेन्ट भोट, हो त्यो साइलेन्ट भोट भनेकै यिनीहरू हुन्।

आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई बारा-२ का जनताले मत दिएर किन जिताउने? तपाईँका चुनावी एजेण्डाहरु के-के हुन्?
मेरो चुनावी एजेण्डा भनेको पहिलो सडक पूर्वाधारको विकास र विस्तार गर्नु हो। कबहीगोठ भन्सार खुलाएर त्यहाँबाट उत्तरी भेगको जंगलसम्मको सडक कालोपत्रे गरेर राजमार्गका रुपमा स्तरोन्नति गर्ने, यस क्षेत्रमा रहेका थलही र सुखलही कच्ची बाँधलाई पक्की बनाएर किसानको खेतखेतसम्म सिंचाइ पुर्‍याउने। सामुदायिक विधालय र स्वास्थ्य संस्थाहरूको पूर्वाधार सुधार्ने र सेवालाई सहज बनाउने। किसानका समस्यालाई सम्बोधन गर्न सदनमा सशक्त आवाज उठाउने। यसबाहेक यस क्षेत्रमा रोजगारी सिर्जनाका लागि नीति निर्माणको तहमै भूमिका खेल्नेछु। यस क्षेत्रका जनतामाझ अरु उम्मेदवारको भन्दा मेरो छबि पृथक छ। किनकि मंसिर ४ मा मैले चुनाव हारेपनि जनताको समस्या र दुःखपीडामा साथमै रहे। म क्षेत्र छाडेर भागिन्। यस क्षेत्रको विकास र रोजगारीका लागि सकेजतिको काम गरिरहे। 

एउटा हल्ला के सुनिँदैछ भने चुनाव हार्ने अवस्था भयो भने अन्तिम समयमा अरुण ज्ञवालीले अन्य उम्मेदवारलाई समर्थन गरिदिन्छन्? के यो सत्य हो? 
तपाईँले उल्टो सुन्नुभएछ। बैशाख ७ गते अन्य केही उम्मेदवारले मलाई समर्थन गर्नसक्ने सम्भावना छ। मैले अरुलाई होइन, मलाई अरु उम्मेदवारले समर्थन गर्छन्। यसका लागि एक चरणको वार्ता भइसकेको छ। ती उम्मेदवारहरुको नाम अहिले म भन्दिनँ, ७ गते तपाईँहरूले थाहा पाइहाल्नु हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.