लेकालीको यूएईमा कन्सर्ट
पोखरा : पोखराको चर्चित ब्यान्ड लेकालीले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा लाइभ कन्सर्ट गर्ने भएको छ। लेकालीले अप्रिल २२ मा दुबई र अप्रिल २३ मा आबुधावीमा लाइभ कन्सर्ट गर्न लागेको हो।
कोरोना महामारीपछि लेकाली पहिलो पटक विदेश यात्रामा निस्किन लागेको हो। दुबई र आबुधावीमा रहेका नेपालीको आयोजना र व्यवस्थापनमा कन्सर्ट हुन लागेको हो। ब्यान्डमा गायक नवीन गुरुङ, विशाल गुरुङ, भाइ गुरुङ, अमित गुरुङ र चाइनिज गुरुङ छन्।
दुबई र आबुधावीबाट फर्केपछि जापान, हङकङ, बेलायत र दक्षिण कोरियामा पनि कन्सर्ट गर्ने योजना रहेको ब्यान्डका सदस्य अमित गुरुङले जानकारी दिए।
लेकाली ब्यान्ड २०५२ सालमा स्थापना भएको हो। यस ब्यान्डले २०५४ सालमा पहिलो एल्बम ‘यो मुटुमा’ बजारमा ल्याएको थियो। यस्तै ब्यान्डले मानस, मोहिनी, फर्की हेर्दालगायतका एल्बम निकालेको छ।
लेकाली ब्यान्डको चर्चित गीतमा मुटुमा, वनमा कस्तुरी, पहिलो नजरलगायत छन्। पपसंगीतमा आधारित ब्यान्डले विभिन्न मेला, महोत्सवमा आफ्ना सांगीतिक प्रस्तुति दिँदै आएको छ।