फोहोरमा अराजक शैली

महानगर मेयर बालेन साहले राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्मको फोहोर उठाउन छाडिदिएका छन् र संघीय सरकारको ध्यानाकर्षण गराउने उनको उपायले तरंग पैदा गरेको छ।
दशकौंदेखि काठमाडौंमा दुई वटा स्थानीय मुद्दा पेचिलो छ— पानी र फोहोर। मेलम्चीको पानी काठमाडौं ल्याउने सपना अझै साकार भएको छैन, काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान पनि निस्कन सकेको छैन। धादिङ र नुवाकोटको साँधमा बञ्चरेडाँडामा फोहोर फाल्न पनि सकस छ।
कहिले कुनै बहानामा त कहिले कुनै बहानामा काठमाडौंको फोहोरको मुद्दा बल्झिरहन्छ। यसपालि त झन् महानगरका मेयर आफैंले फोहोर थान्को नलगाउने अड्डी लिँदै देशका प्रमुख तीन अड्डा दुर्गन्धित भइरहन दिएका छन्। महानगर मेयर बालेन साहले राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्मको फोहोर उठाउन छाडिदिएका छन् र संघीय सरकारको ध्यानाकर्षण गराउने उनको उपायले तरंग पैदा गरेको छ।
सडकका किनार र कुनाकाप्चामा फोहोरको थुप्रो लाग्नु, नियमित फोहोर नउठ्नु र बेलाबेला कचिंगलमात्रै उत्पन्नु हुनुकै कारण सुन्दर सांस्कृतिक सहर काठमाडौं फोहोर नगरी रूपान्तरण भइरहेको छ। मेयर बालेन १४ वटा मन्त्रालयसँग सम्बन्धित आक्रोश एकैपटक पोखेर सिंहदरबारको फोहोर संकलन रोकेका हुन्। एक किसिमले उनले आन्दोलन छेडेका हुन्, जुन आफंै संगतिपूर्ण भने छैन। यस्तो जनप्रतिनिधिले गर्ने कुनै गर्ने कर्म होइन।
हो, वास्तवमा फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाको मात्रै टाउको दुखाइ नहुनुपर्ने हो। संघीय सरकारले फोहोर व्यवस्थापन स्थल नुवाकोट, धादिङ पुग्ने सडकसम्म वर्षौदेखि बनाउन सकेन। सिसडोलमा ल्यान्डफिल साइट बनाउँदा गरिएका प्रतिबद्धता पूरा भएका छैनन्। अरू थुपै्र काम संघीय सरकारले गर्नुपर्ने पनि छन्। त्योभन्दा बढी चाहिँ मेयर बालेन आफूले काठमाडौं गर्न लागेका केही काममा संघीय मन्त्रालयहरूको सहयोग नपाएको झोँक पोख्दैछन्।
सिंहदरबार देशको प्रमुख प्रशासकीय अड्डाको फोहोर थुप्रिन दिँदा त्यसको दबाब उनले मन्त्रीहरूलाई जसरी दिन खोजेका छन्, त्यो एक प्रकारको उरेन्ठेउलो शैली हो। केटौले व्यवहार हो। विधिसम्मत हुनुपर्ने कामका लागि विधिकै बाटो जानुपर्छ न कि गैरजिम्मेवार बनेर। उनकै शैली अरूले पछ्याए भने त्यसले निम्त्याउने अराजकताको कल्पना पनि गर्न सकिन्न ? जस्तो कि सडक बत्तीको पैसा नपाएको झोंकमा विद्युत् प्राधिकरणले महानगर कार्यालय वा कुनै मन्त्रालयको बिजुली काट्यो भने ? वा खानेपानी मन्त्रालयको काम गराउन पाइप बन्द गरियो भने ? के हुन्छ ? अराजकता हुन्छ।
महानगर बनाउँछु भन्नेले, देश बनाउँछु भन्नेले वार्ता र विधिबाटै समस्या सुल्झाउन सक्नुपर्छ। आक्रोश र आन्दोलन र त्यो पनि अत्यावश्यक एवं संवेदनशील विषयमा ख्याल ठट्टाको शैली अपनाउनु हुँदैन। तसर्थ मेयर बालेनले अपनाएको शैली अराजनीतिकमात्रै होइन आफैंमा फोहोरी पनि हो। उनको राजनीतिक ओहोदामा बसेर हठ गर्नु अलोकतान्त्रिक हो।
प्रतिक्रिया दिनुहोस !
