वृद्धाश्रममा खल्लो दिन
काठमाडौं : पाँचखाल काभ्रेकी पार्वती सापकोटा समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिमा बस्छिन्। उनी आफैंलाई कति वर्ष पुगें थाहा छैन। ८ वर्षअघि श्रीमान्को मृत्युपछि उनी आश्रमको सहारामा पुगिन्। बिहीबार मातातीर्थ औंसीको दिन गहभरी आँसु पर्दै भनिन्, ‘सन्तान भएका भए त हेर्न आउने थिए नि ! छैनन्।’
त्यहीँ भेटिइन् त्रिशूली घर बताउने चुडादेवी थपलिया। एउटा छोरा भएको सुनाउने उनलाई तिनै छोरा कहाँ छन् थाहा छैन। ‘श्रीमान् बितेको पनि ९ वर्ष भयो। आफूले धर्तीमा पाइला टेक्नासाथ आमा गुमाएँ। सन्तानको सुख पनि भोग्न पाइन्,’ उनले भनिन्।
मातातीर्थ औंसी आउँछ, जान्छ धादिङकी कृष्णकुमारीलाई यसले छुँदैन। ८८ वर्षकी उनी विगत चार वर्षदेखि आश्रमै छिन्। श्रीमान् मदिरा र तासको कुलतमा परेर आफूलाई दुःख दिने गरेपछि वर्षौं अगाडि श्रीमान्सँगै ३ छोराछोरीलाई भारतमै छाडेर उनी नेपाल आइन्।
त्यहीँ भेटिएकी ६७ वर्षीय आशा शर्मा सन्तानविहीन रहेको उनका अभिव्यक्तिले बताउँछ। भन्छिन्, ‘आफ्ना सन्तान सानैमा छोडेर आएँ। अब आफूसँग नभएपछि सम्झेर के गर्नु ?’ बुढेसकालमा पाउने वृद्धाभत्ता पनि खान पाइनन् उनले। श्रीमान् छोडेपछि नागरिकता बनाउन सकिनन्। न माइतीबाट न त घरबाट नै उनको नागरिकता बन्यो।
खाँवा घर घएकी बसन्ती हुमागार्इं दम्पती नै ३ वर्षदेखि आश्रम नै सबैथोक मानेर बसेका छन्। उनका श्रीमान् ४० वर्ष भारतमा हराएपछि सन्तान भएनन्। श्रीमान् रामप्रसाद हुमागाईं भन्छन्, ‘सन्तान नभएर पनि एक चिम्टी पिर लाग्दैन्। दुनियाँका सन्तान देखेर दिक्क छु।’ सन्तान हुने कतिपयले वृद्धा बाबा आमालाई हेला गरेको उनको आशय थियो।
९२ वर्षकी लक्ष्मी देवी थापा २० वर्षदेखि आश्रममा खुसीसाथ दिनहरू बिताएको बताउँछिन्। उनीको धाँगो र कुरुसले साना–साना ब्याग बुन्दै गरेकी उनले भनिन्, ‘म टुहुरी हो।’ बाबा आमाले जन्माए तर चिन्न पाइन्। अरूको घरमा काम गरेर बसेकी उनी खुट्टा दुख्न थालेपछि आश्रमा साहार लिन पुगिन्।
साथीको श्रीमान्ले साथीलाई कुटेको देख्दा उनलाई बिहे गर्न मन लागेन रे। भन्छिन्, ‘साथीको जीवन नर्क देखेँ। श्रीमान्ले सधैं कुट्ने गरेको देखेँ। सन्तान हुनेले पनि दुःख पाएको देख्दा बिहे नगरेर नै ठीकै गरे जस्तो लाग्छ।’ ९० सालको भूकम्पमा ११ वर्षकी थिइन् उनी। त्यो बेलाको सबै याद छ।
सिन्धुपाल्चोकी भगवती सिग्देल ८ वर्षमा विधुवा भइन्। बाल विधुवा भएर गाउँमा बसेकी उनी विगत ९ वर्षदेखि आश्रममा छिन्। उनी बालविधुवा बन्नु र सन्तान नहुनुमा आफ्नै भाग्य दोषी ठान्छिन्। खोटाङकी बदना कुमारीका कुनै सन्तान छैनन्। २०२३ सालमा फागुनमा बिहे गरेकी उनले असारदेखि श्रीमान् लापत्ता छन्। उनी पनि यसै आश्रमको शरणमा छिन्।
पशुपति वृद्धाश्रममा यस्ता आमाहरू थुप्रै छन्। उनीहरूलाई अन्य दिनभन्दा चडपर्व अली खल्लो लाग्छ। सन्तान र परिवारको सहारा नहुँदा पीडा बढी त्यसै समयमा हुन्छ भन्छन् उनीहरू।
नेपालको एक मात्र सरकारी वृद्धाश्रम
पशुपतिमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रम एक मात्रै सरकारी वृद्धाश्रम हो। यहाँ नियम प्रक्रिया पुगेपछि मात्र वृद्ध–वृद्धा राख्ने भएकोले झन्झटिलो प्रक्रिया भएका कारण पनि सन्तान हुनेले यहाँ जाने आँट गर्न नसक्ने त्यहाँकी एक कर्मचारीले बताइन्। वृद्धाभत्ता धेरै वृद्धाहरूको साहारा बनेको उनको भनाइ छ।
कस्तो छ आश्रमको अवस्था ?
५५ जना आमा आश्रय लिएको यस आश्रममा अधिकांश सन्तान नभएका छन्। जम्मा ८४ जना वृद्ध–वृद्धालाई यहाँ राखिएको छ। जसमा ५५ महिला र २९ पुरुष। आश्रमले ६० वर्ष उमेरदेखि वृद्धा राख्ने गरेको आश्रमका नायव सुब्बा हृदयराज उपाध्याय बताउँछन्। उनका अनुसार ७५ देखि ८५ उमेर समूहका धेरै छन्। सन्तान नभएका अधिकाश छन् भने कोही सन्तान भए पनि आर्थिक अवस्था कम भएकाले आश्रय लिएको उपाध्यायले बताए।
असुविधा के छ ?
‘यहाँ महिनामा एउटा मात्र साबुन दिइन्छ। वृद्धाभत्ता छैन। कोही बाहिरबाट आउनेले पनि पैसा दिन खोज्दा पनि हामीले पाउँदैनौ, बैंकमा जम्मा गर्न लगाउँछन्। सरकारले हामी वृद्धालाई आश्रय दिएपछि पर्याप्त सुविधा दिनुपर्ने हो। कपडा धुन सकिन्न कर्मचारीलाइ दिदा गाली गर्छन्। साबुन पनि पुग्दैन। टवाइलेट पनि राम्रो छैन् निकै गाह्रो छ,’ एक वृद्धाले भनिन्।
नेपालको एकमात्र सरकारी यस आश्रममा पनि सरकारले ती वृद्धालाई सहज खालको वातावरण सिर्जना गर्न सकेको छैन। महिला तथा बालबालिका ज्येष्ठ नागरिकअन्तर्गतको आश्रममा सरकारले गाँस, बाँस र कपासको व्यवस्था गरे पनि पर्याप्त छैन। ज्येष्ठ नागरिक मैत्री भवन नभएकाले समस्या भएको उपाध्याय बताउँछन्।
अशक्त भइसकेपछि एउटै व्यक्तिमाथि ठूलो खर्च हुन्छ। स्वाथ्य उपचार क्षेत्रमा बजेट कम छ। उपाध्ययका अनुसार राम्रोसँग बोल्न नसक्नेको वास्तविक समस्या बुझन कठिन हुने हुँदा अझै समस्या छ। यो सगै वृद्ध–वृद्धालाई हिँड्ने डुल्ने खुल्ला ठाउँ र एउटा एम्बुलेन्स पनि आवश्यक रहेको उनको बताए।
४४ जनाको नागरिकता छैन
उक्त आश्रममा उमेर पुगेर पनि वृद्धाभत्ता नपाउने धेरै छन्। ४४ जना वृद्धाले वृद्धाभत्ता पाउन सकेका छैनन्। ८ जनाको नागरिकता नै बन्न सकेको छैन भने अन्यले नागरिकता भएर पनि सामाजिक सुरक्षा भत्ता पाउन नसेकको उपाध्याय बताउँछन्।
महिला तथा बालबालिका ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक खर्चबाट सहयोग गर्ने भनिए तापनि अहिलेसम्म पाउन नसकेको उनको भनाइ छ।