अझै निभेन दाइजोको आगो

अझै निभेन दाइजोको आगो
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत श्वेता झा। मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : २८ वर्षीया श्वेता झा प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा आधा जलेको शरीर लिएर पीडादायी अवस्थामा उपचाररत छिन्। दाइजोको निहुँमा उनको शरीरमा परिवारकै सदस्यले आगो लगाइदिएका हुन्। पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको चिकित्सकले बताएका छन्। 

श्रीमान् राजीव झा, सासू द्रौपदी झा र देवर कमलेश झाले मिलेर यो हालत बनाइदिएको उनी बताउँछिन्। उनका अनुसार घटना वैशाख १ गतेको हो। देश नयाँ वर्षको आगमनले उल्लासमय थियो। श्वेता भने घरमा चरम शारीरिक हिंसामा परिन्। केही आफन्तले उद्धार गरेर उनको ज्यान बच्यो।

‘नयाँ वर्ष थियो। म बिहानैदेखि घरको काममा व्यस्त थिएँ। श्रीमान् बाहिरबाट रक्सी खाएर आउनुभो। मेरो जेठो छोरालाई बिना काम कुट्नुभो। म केही बोलिनँ। फेरि छोरीलाई कुट्न थाल्नुभो अनि मैले प्रतिकार गरेँ’, श्वेताले निकै मधुरो स्वरमा पीडा पोखिन्, ‘नयाँ वर्षको दिन छोराछोरीलाई बिना काम किन कुट्नुभएको हो भनी विरोध गर्दा उल्टै मलाई फोहोर गाली दिन थाल्नुभो। एकै छिन्मा सासू र देवर पनि आए र गाली बेइज्जती गर्न थाले।’ 

आफूले जवाफ दिँदा मुखमुखै लाग्छेस् भनेर उल्टै कुट्न थालेको उनले सुनाइन्। ‘हुँदाहुँदै सासूले आज यसलाई खत्तम नै गर्नुपर्छ भन्नुभो। त्यत्ति भनेर सासूले हात समात्नुभो देवरले टाउको। अनि श्रीमान्ले मेरो कपडामा सलाई बालिदिनुभो’, उनले भनिन्, ‘म जल्न थालेपछि कोठामै चिच्याएँ। तर, उहाँहरूले मलाई कपालबाट तान्दै आँगनमा ल्याएर फाल्नुभो। त्यत्तिकैमा छिमेककै एक जना नन्द पर्नेले मेरो हालत हेरिन्। उनले बाल्टीबाट पानी ल्याएर जिउमा खन्याइन्। आगो निभाएर मलाई आफ्नो घर लगिन्।’

शरीर जलेकाले पीडा खपि नसक्नु थियो। उनी रोइकराई विबती गर्न थालिन्। उपचार गराई दिन हारगुहार माग्न थालिन्। ‘करिब एक घण्टासम्म मैले छट्पटाउँदै अनुनयविनय गरेपछि मलाई श्रीमान् र सासूले जनकपुर ल्याएर जानकी हेल्थ केयर सेन्टरमा भर्ती गराउनुभो। तर, त्यहाँ भर्ती भएको अर्को दिननै पट्टीहरू बाँधेर फेरि घर लग्नुभो’, उनले भनिन्, ‘त्यत्ति बेलासम्म ९ वर्षीय छोराले भारत बस्ने मेरा बुवालाई फोन गरेर सबै जानकारी गराइसकेको थियो। त्यसपछि बुवा आएर मलाई उपचारका लागि सरकारी अस्पतालमा भर्ना गराउनुभो।’

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतमा छ। उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भयो। त्यसको १० वर्षसम्म श्रीमान् र परिवारबाट यातना र हिंसा भोग्नुप¥यो। ‘मैले बिहे भएदेखि नर्क भोगिराखेको छु। कुटपिट, मानसिक यातना र दुःखको त कुनै हिसाबनै छैन। तर, अस्ति सामान्य वादविवादमा सासूले कपाल तान्दै कुट्नुभयो र जलाएर आज यसको खेलानै खतम गरिदेऊ भनी श्रीमान् र देवरलाई भन्नुभयो’, श्वेताले भनिन्। 

राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन्। नेपालमा भएका नातेदारले नै ‘केटा राम्रो छ’ भनेपछि उनी बिहे गर्न तयार भएकी थिइन्। माइतीले २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो दिएका थिए। तर, राजीवको परिवारले तीन तोला सुनको माग राख्यो। त्यत्ति बेला त श्वेताका बुवाले बिस्तारै सुन दिने भनी कुरा टारे। तर, उनले माग पूरा गर्न सकेनन्। र, श्वेतामाथि घरमा यातना सुरु भयो। 

‘बिहे भएको एक वर्षदेखिनै छोरीलाई विभिन्न बहानामा कुटपिट हुन्थ्यो’, बुवा जयनारायण झाले भने, ‘एक महिनाअघि पनि श्रीमान्ले पेटमा बेस्सरी लात्ती हिर्काउँदा उसलाई अत्यधिक रक्तस्रावको समस्या भएको थियो। त्यो बेला पनि मैले यहाँ आएर घर परिवारमा पञ्चायतै बसाएर सामाजिक रूपमा दबाब दिलाई अवस्था मिलाउन खोजेको थिए। तर, उनीहरू यस्तो अमानवीय काम गर्छन् भन्ने थिएन।’ छोरीलाई न्याय दिलाउन जयनारायण प्रहरीमा जाहेरी दिने तयारीमा छन्। 

राजीव भने श्वेताले लगाएका आरोप निराधार रहेको दाबी गर्छन्। ‘उसले आफैं लाइटर बालेर शरीरमा आगो लगाएकी हुन्’, उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘घरमा छोराछोरीबीच मोबाइलको विषयमा विवाद भइरहेको थियो। ऊ आवेशमा आएर छोेरोलाई पिट्न थाली। मैले रोकेपछि विवाद भयो र एकछिनमै आफैं आफ्नो शरीरमा आगो लगाइन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.