कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’नामाकरण कसैको विपक्षमा नभएको बताएका छन्। शुक्रबार नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार इकाइको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
उनले भने, ‘नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाऔं । समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानुनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’
उनले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको दृष्टान्त प्रस्तुत गर्दै यस पटको प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको प्रस्ट पारे। मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताए।
उनले वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६/१७ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नु दु:खद कुरा हो भएको बताए। यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरुको ध्यान जान नसकेको उनको भनाइ छ ।
प्रदेश संरचना अनावश्यक,अत्याधिक खर्चालुलगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गरे।
उनले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक,१०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गरे।