बारा २ उपनिर्वाचन : ६५ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा

बारा २ उपनिर्वाचन : ६५ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा
सुन्नुहोस्

मतदान स्थललाई वर्गीकरण गर्दै सुरक्षा समितिले सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाएको छ। निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था परिचलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन्।

सिमराः बारा क्षेत्र नं. २ को ८२ मतदान स्थलमध्ये ६५ मतदान स्थललाई अतिसंवेदनशीलको सूचिमा राखिएको छ। जिल्ला सुरक्षा समितिले भुगोल, पूर्वाधार, मतदातालगायतको अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलको वर्गीकरण गरेको हो। 

मतदान स्थललाई वर्गीकरण गर्दै सुरक्षा समितिले सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति बनाएको छ। निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था परिचलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन्। 

‘हामीले निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन हरसम्भव प्रयास गरेका छौं’, प्रजिअ सापकोटाले भने, ‘मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण बनिसकेको छ। त्यसै अनुसार सुरक्षा व्यवस्था परिचालन गरिसकेका छौं।’

निर्वाचनलाई लक्षित गरेर बिहिबार रातीदेखि भारतसँग जोडिएका सिमा नाका पूर्णरुपमा बन्द गरिएको छ। भारतीय पक्षसंग सहकार्य गरेर सिमा नाका बन्द गरिएको र उक्त क्षेत्रमा सुरक्षाकर्मीको सक्रियता बढाएको प्रजिअ सापकोटाले बताए। 

बैशाख १० गते हुने निर्वाचनका लागि बारा दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। जसमध्ये नेपाल प्रहरीका करिब एक हजार सात सय, सशस्त्र प्रहरीका करिब ६ सय र नेपाली सेनाका करिब तीन सय सुरक्षाकर्मी परिचालित हुनेछन्। 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार साँझसम्म नेपाल प्रहरीका एक हजार ६ सय ६८ जना चुनाव क्षेत्रमा परिचालन भइसकेको बताए। उनका अनुसार निर्वाचन क्षेत्र प्रवेश गर्ने नाका, मतदान स्थललगायत सबै ठाँउमा प्रहरी परिचालित भइसकेको र मतदानको दिन अति संवेदनशील स्थलमा १२ जना र सामान्य मतदान स्थलमा आठ जनाका दरले प्रहरी परिचालन हुनेछन्। 

यसैगरी निर्वाचन क्षेत्रमा तीन जना प्रहरी नायब उपरीक्षक र १३ जना प्रहरी निरीक्षकको कमाण्डमा नियमित गस्ती हुने र एउटा स्थानीय तहमा प्रहरीका तीन वटा गाडीले गस्ती गर्ने बोगटीले जानकारी दिए। मतपेटिकाको सुरक्षाको लागि विशेष निर्देशन दिएको बताउदै बोगटीले मतपेटिका असुरक्षित हुने गतिविधि भएमा बुथमा खटिएका प्रहरीलाई गोली चलाउन समेत अधिकार दिइएको बताए।

बोगटीले निर्वाचन क्षेत्र प्रवेश गर्ने सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रुसमेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिने बताए। 
‘मतदानको दिन निर्वाचन क्षेत्र पूर्णरुपमा सुरक्षा घेराभित्र रहन्छ। अनुमति प्राप्त सवारी साधन र अति आवश्यकबाहेकका कुनै पनि व्यक्ति निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पाउने छैनन् ’, बोगटीले भने, ‘शंकास्पद गतिविधि र जबरजस्ती गरेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउनेछ। ’

नेपाल प्रहरीपछि दोस्रो घेराको कमाण्ड सशस्त्र प्रहरीले सम्हाल्नेछ। सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगीले करिब ६ सय सशस्त्र परिचालित हुने बताए। सिमा क्षेत्रमा खटिएका प्रहरीलाई त्यसै क्षेत्रमा खटाइएको र जिल्लाभित्र रहेका अन्य जनशक्तिलाई मतदान स्थल र निर्वाचन क्षेत्रमा परिचालन गरिएको डांगीले जानकारी दिए। बारामा मुसर्वा, मटिअर्वा, कवही, पिपरपाती, सिम्रौनगढलगायतका नाका छन्। 

यसैगरी निर्वाचन क्षेत्रमा करिब तीन सय नेपाली सेना खटिनेछन्। तेस्रो घेरामा परिचालित हुने सेनाले निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त राख्नेछ। 

८२ मतदान स्थलमा ६८५ जना कर्मचारी परिचालित

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ सय ८५ जना कर्मचारीलाई परिचालन गरेको छ। ८२ मतदान स्थलमा सोही अनुरुप मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी परिचालन गरिएको हो। 

निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले सबै मतदान स्थलमा कर्मचारी र निर्वाचन सामाग्री पुगिसकेको बताए। उनले शनिबारसम्म बुथ निर्माणको काम सम्पन्न हुने र सुरक्षासहित मतपत्र मतदान स्थलमा पुग्ने जानकारी दिए। 

निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाएको छ। ८२ मतदान स्थलमा एक सय ३७ मतदान (बुथ) केन्द्र छन्। 

एक लाख पाँच हजार भन्दा बढी मतदाता

बारा क्षेत्र नं. २ मा एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन्। जसमध्ये ५८ हजार नौ सय ३४ पुरुष छन् भने ४६ हजार तीन सय १४ महिला मतदाता छन्। 

यस निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहको ४४ वटा वडा पर्दछ। पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकाका सबै वडा पर्दछ भने कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग यस निर्वाचन क्षेत्रमा पर्दछ। 

नेपाल–भारत सिमाना तीन दिनका लागि बन्द

निर्वाचनका लागि भारतसँग जोडिएका नेपालका सबै सिमाना तीन दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बिहिवार राती १२ बजेदेखि तीन दिनका लागि सिमाना बन्द गरेको हो। 

बैशाख १० गते बेलुका ७ बजेसम्म नाकाबाट आवतजावतमा रोक लगाइएको छ। भारतीय पक्षसँग समन्वय गरेर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.