शून्यको मूल्य अनन्त

समीक्षा

शून्यको मूल्य अनन्त

नेपालको कर्णालीवासीको जीवनको सूक्ष्म मनोचिकित्सा हो— शून्यको मूल्य। ती मूल्यहरू डाक्टर नवराज कृत शून्यको मूल्य (सास, साहस र स्नेहको कथा) मा समेटिएको छ। यी कथाहरू सामाजिक अध्येताहरूको वा राज्यको नीति निर्माताहरूको आँखा, ज्ञान र अध्ययनबाट अझै बञ्चित छन्।

यस कृतिमा भने कर्णालीका जनताको मूल्यमा शून्य जोडिएको होइन घटाइएको तितो यथार्थ समेटिएको छ।  राज्यले आफ्नै देशका नागरिकको जीवनको अवमूल्यन कतिसम्म गरेको छ र त्यसको मूल्य कर्णालीवासीले कसरी चुकाइरहेका छन् ? सास, साहस र स्नेहको मूल्यमा कर्णालीका जनताले चुकाएको जीवनको मूल्य पोखिएको छ।  

सहरका ठूलाठूला विश्वविद्यालयहरूमा पठाइने किताबका पाना र ती पाना पठाउने आत्माहरू सहरमै छोडेर गाउँ पसेको डाक्टरलाई कर्णाली समाजको विश्वविद्यालयमा विद्यावारिधि गराइदिने कसले ? तर स्कुल कलेजका मोटामोटा किताबका अनुहार नै नदेखेका भए पनि जिन्दगीको पढाइमा भने जीवनवारिधि गरेकाहरूले डाक्टरको अपूरो विद्यावारिधिलाई पूर्णता दिलाए। डाक्टर केसीले लेखकीय मन्तव्य अर्थात् प्राक्थानमा प्रकट गरेका छन्, ‘डाक्टरको अपूरो विद्यावारिधिलाई पूर्णता दिलाइदिने गुरुहरू पुतली आमा, भेडिनी कान्छी, नामै सोध्न भुलेको जुम्ल्याहाकी आमा, नामै नभएकी भुनभुनेकी आमा र बुधेकी फुपूआमा जस्ता धेरैधेरै जीवनवारिधि गरेका कर्णाली समाजका प्रोफेसरहरू थिए। वर्षौं लगाएर कर्णालीको सामाजिक विश्वविद्यालयभित्र गरेको जीवनवारिधिको यात्राको पुछारमा मात्र डाक्टरले हराएको आफूलाई, नदेखिएको आफ्नै समाजलाई  र नभेटिएको देश 

भेटेको थियो।’ 

साहित्य स्वैरकल्पना मात्र होइन। समाजको गति, प्रगति र ज्ञानको सीमाको दस्ताबेज पनि साहित्य हो। बालरोग विशेषज्ञ डा. नवराज केसीको यस कृतिले लेखकीय कल्पनाशीलतामा होइन कि सामाजिक जीवनको यथार्थमा नै कल्पनातीत मिथक, बिम्ब, प्रतीक र पात्रहरूलाई बिर्साउने जीवन्त पात्रहरूसँग पाठकलाई साक्षात्कार गराएको छ।  पाठकलाई लेखकले जन्माएका पात्रहरूको पृष्ठभूमि बुझ्न र खोज्न समाज बाहिर जानै पर्दैन।  आफ्नै वरिपरिका त्यस्ता अनगिन्ती पात्रहरू पाठक वरिपरि जम्मा हुन्छन्।  

बुधेकी फुपूआमा, बुधे र उसको परिवेश जोडिएको समाजको कथा त हुँदै हो तर यो त्यति मात्र होइन।  यो समाज विज्ञान, मनोविज्ञान र जीवन विज्ञान पनि हो।  डाक्टर केसी पाठकहरूले पत्तै नपाउने गरी बुधेको कथामा जीवविज्ञान र मस्तिष्क विकासका चरणहरूका बारेमा कुराकानी गर्न थाल्छन्। कर्णालीको गरिबी, त्यहाँका महिला र बालबालिकाको स्वास्थ्य र जीवन, उच्च शिक्षा, वैदेशिक रोजगार, प्राकृतिक विपत्ति र विकासका कुराहरूको

कहालिलाग्दो अवस्थाको वर्णन करिब ७० पेजको एउटा कथामा भन्न सकिने कुरा होइन। विकास योजनाका, समाज अध्ययनका वा अन्य विकासे परियोजनाहरूका लागि तयार परिएका रिपोर्ट ५ पेज पढ्दै पट्याएर लाग्ने पाठकहरूले यो ७० पेज लामो कथा एकपछि अर्को उत्सुकतासँग नै पढ्न सक्छन्। पढेर आफूले संसार बुझें भनेर जन्मदिने आफ्नी आमालाई अनपढ भन्ने विद्वानलाई डाक्टर केसी सम्झाउँदै लेख्छन्, ‘हे विद्वान बाबु, यो कुरा पनि बुझ, एउटी आमाको गर्भले जानेको विज्ञान संसारका सारा वैज्ञानिक अनि कम्प्युटरभन्दा उत्कृष्ट छ। यसको कला कुनै कलाकारको कृतिभन्दा लाखौं गुणा सुन्दर छ।’

बुवालाई चिठी, अर्को कथाको शीर्षक हो।  तर शीर्षक मात्र एउटा कथा र पात्र यति धेरै छन्, जहाँ एउटा समाज देखा पर्छ। घरेलु हिंसापीडित महिलाको सुरक्षाका लागि महिलाको गर्भमा भएको बच्चाले ती महिलाका श्रीमान् अर्थात्  महिलाको गर्भमा रहेकै बच्चाका तर्फबाट आफ्ना पिताका लागि डाक्टरले लेखेर पठाएको चिठीका बारेमा धेरैले पढिसक्नु वा सुनिसक्नु भएको हुनसक्छ। तर त्यही कुरालाई डा. केसीले बच्चा र आमाका बीचको जैविक सम्बन्ध, बच्चा जन्मनासाथ किन रुन्छ वा किन रुनुपर्छ जस्ता विज्ञानका कुराहरू पनि कर्णालीको गरिबीका कथाका पात्रहरूसँग जोडेका छन्। त्यसैले पनि उनका कथामा कर्णालीको गरिबी मात्र छैन। उनका कथाले मानवीय  जीवनका सम्बन्ध, सकारात्मक वा प्रेरणादायी सन्देशहरू पनि प्रवाह गर्छन्। 

संसारका कुनै पनि बाआमा छोराछोरीबाट केही चिताउँदैनन्। तर छोराछोरीले माया गरिदिएको क्षण उनीहरूको स्वर्ग हो।  मरेर कहाँ गइन्छ र ? मरेर त माटोमै जाने हो। यसभित्रको यो सन्दर्भ यो कुनै मेडिकल डाक्टरद्वारा तिनका बिरामीका लागि गरिएको औषधिको सिफारिसभन्दा महत्त्वपूर्ण छ। आमाको कोखबाट कुनै बच्चा जन्मेपछि त्यस बच्चाको आमासँगको सम्बन्ध कस्तो रहन्छ ? रगतको र ममताको सम्बन्ध त रहने नै भयो तर डा. केसी कर्णालीको दुःखमा पनि आमा र सन्तानका बीचको जैविक सम्बन्ध पाठकलाई दिन्छन्। 

भेडिनी कान्छी, मृत्युपछिको जीवन, पुतली आमा यी थप तीन  शीर्षकमा पनि समाज, राजनीति, बालबालिका, गरिबी, रोजगारी, महिला सामाजिक जीवनका सबै पक्षको मिहीन चर्चा छ। तर यो चर्चा पट्यारलाग्दो अर्ती उपदेशका रूपमा छैनन्। पाठकहरूका लागि कथा उपन्यासजस्ता आख्यानभित्रका रोचक सन्दर्भ बनेर आएका यी प्रसंग आकर्षक वा पठनीय र ग्रहणयोग्य पनि छन्। कर्णालीका हेलिकप्टर काठमाडौंका सडकमा गुड्ने तीनपाङ्ग्रे टेम्पोजस्तै भएको अनुभव अढाई दशक पहिलेको यही पंक्तिकारको अनुभव डाक्टर केसीको पनि रहेछ।  

राज्यले नागरिकको स्वास्थ्यमा गर्ने लगानीको मात्रा, रोगी एकातिर औषधि र खर्च अर्कातिर, गर्भवती महिलाको स्वास्थ्य र प्रसूति सेवा, हिम्मतबहादुरको कथा, भेडिनी कान्छीको बाल मनोविज्ञान, खरायोको मातृत्व प्रेम, हजुरआमा र आमाहरूको आर्थिक योगदान, महिलाहरूको शरीर विकासमा हर्माेन आदिको विकासको सम्बन्ध, मानसिक, शारीरिक तथा आध्यात्मिक स्वास्थ्य, भेडिनी कान्छीको तीनखुट्टे भेडीसँगको मितिनी साइनोको आत्मीयता, पटुकी बैंक, मृत्युको क्षण पहिलेको मानिसको दिमागी प्रक्रिया आदि यस्ता कति धेरै सन्दर्भहरू छन् जसले पाठकहरूको मन मस्तिष्क छुन्छ।

कर्किनी बज्यैसँगको कवितामय संवाद र उनको आतिथ्य, तिनका जीवनकथा यस्तो लाग्छ कर्णाली नदी यति घुमेको छ कि कहिलेकाहीं लाग्छ, यो नदी आफैंलाई रिंगटा लाग्दो हो। कोमल मुटु बोकेको मान्छेहरूलाई ढुंगाभन्दा पनि कठोर परिस्थितिहरूले साँच्चिकै ढुंगाको मूर्ति बनाउँदो रहेछ।  डा. केसीको यो अनुभूति पुतली आमाको यो कथनमा वास्तविक झैं लाग्छ, बनापैसा बचेको, अलिकति बचेको सास बच्छ कि भनेर आस खोज्दै आएकी हुँ बाबु ? भलो होला त ? एकजना बिरामीका आफन्तबाट यो कुरा सुनेर सायद निःशब्द बनेका डाक्टर सोच्छन्, पैसा सकियो, सास सकिएको छैन बिरामीको।  यो कस्तो वचन थियो।  यो वाक्यको अर्थ के होला ? भाव बुझें झैं वा बुझ्नै नसके झैं।  दुनियाँमा एउटा वाक्यको किताब पनि बन्छ होला।  पहाड जत्रा शब्द।  सागर जस्तो भाव।  एउटा वाक्य आज डाक्टरका लागि पाठशाला बनेको थियो।  अब यो बुझ्नलाई उसलाई यो जुनी लाग्नेछ।  

स्वदेश र विदेशका कुनै पनि युनिभर्सिटीमा नबुझेको कुरा डाक्टरलाई कर्णालीको समाजले बुझाउँछ। कृतिमा कथा छ, कथामा डाक्टर छन् र पात्रहरू छन्।   प्रचलित आख्यान वा काव्यलाई बिर्साउने यस कृतिलाई सिर्जनात्मक गैराख्यान भनिएको छ सांग्रिला प्रकाशनको प्रेस लाइनमा। कथा र कथाका पात्र वा भूगोलको धेरै नालीबेली लगाउँदा पाठकका लागि कृति बेस्वादिलो बन्न सक्छ। स्वादु व्यञ्जनलाई धेरै गिजोलेर बेस्वादिलो बनाउनु पनि त भएन नि ? डाक्टर नवराज केसीको नेपाली समाजको मनोविज्ञानको उत्खनन हामी पाठकका लागि मन छुने दुःखद् कथा मात्र होइन, हाम्रा नीति निर्माता वा राज्यका लागि आँखा र प्रेरणा पनि बनुन्।  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कथन छ, शून्यबाट सुरु भएर शून्यमा नै अन्त्य। तर डाक्टर केसीको प्रिप्किसन छ, शून्यबाट दस। तर शून्यको मूल्यमा शून्यको मानक वा गणनाले होइन, जीवनको त्यो सार जुन महाकवि देवकोटाले बोध गरेका थिए मृत्यु शय्यामा, त्यो बोध जीवनकालमै गरेका डाक्टर केसीले पाठकहरूलाई पनि त्यही बोध गराउन प्रयास गरेको कृति हो (शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)। 
न भक्ति भो न भाव
आखिर रहेछ श्रीकृष्ण एक
शून्यमा शून्य सरि बिलाएँ म।  
(महाकवि, देवकोटा)  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.