अर्जुनको ‘बम्मै जानी रेलैमा’
अर्घाखाँची : लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ। अर्जुन र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतले टिकटकमा चर्चा पाएसँगै अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको गायक सापकोटाले बताए। ‘टिकटक, युट्युबलगायत सबैतिर राम्रो हुँदैछ। प्रतिक्रियाहरू पनि एकदमै राम्रो आएका छन्’, गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका अर्जुनले गीतका विषयमा आएका प्रारम्भिक प्रतिक्रियाबारे भने, ‘उत्साहित सँगैसँगै राम्रो हुनेमा विश्वस्त छौं।’
गीतका शब्द गीतकार शिव हमालले कोरेका हुन् भने गायक अर्जुनकै संगीत छ। गीतको एरेन्जर सुनिल परियार छन्।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अर्जुनसँगै दिब्या न्यौपाने, बादल घिमिरे र क्रिष्टल सापकोटाको अभिनय छ। निर्देशक श्रेष्ठले भिडियोलाई आकर्षक बनाएका छन्। अजय रेग्मीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ।