हिमपहिरोमा परेर भरिया बेपत्ता
जोमसोम : धौलागिरी बेस क्याम्प पुगेर फर्किएका ट्रेकिङ भरिया इटाली बेसक्याम्पमा बेपत्ता भएका छन्।
सेभेन समिट ट्रेक मार्फत विदेशी पर्यटकको भारी बोकेर धौलागिरी बेसक्याम्प गएका सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका-१ नुथला निवासी २० वर्षीय अम्रित राई फर्किदा हिमपहिरोमा परी शुक्रबार बेपत्ता भएका हुन्।
यही बैशाख ७ गते उनीसँगै धिरज राई र अर्जुन राई विदेशी ट्रेकिङ कम्पनीको भारी बोकेर धौलागिरी आधार शिविरमा पुगेका थिए।
उनीहरूसँगै ट्रेकिङको भारी धौलागिरी बेसक्याम्पमा भारी पुर्याएर फर्किने क्रममा अम्रित राई बेपत्ता भएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए।
अन्य दुई जना भने सेभेन समिटि ट्रेकको सम्पर्कमा आइसकेको उनले जानकारी दिए। करिब १०/१५ जना विदेशीको म्याग्दीको धारापानीबाट ट्रेकिङ भारी लिएर उनीहरू धौलागिरी क्षेत्रमा पुगेका थिए
यसअघि सेभेन समिट ट्रेकको तीन जना भरिया टोली मुस्ताङको मार्फाबाट धौलागिरी बेसक्याम्प भारी लिएर जाने योजनामा थिए। तर, प्रतिकुल मौसमका कारण मुस्ताङको मार्फाबाट त्यहाँ जान नसकेपछि उनीहरू म्याग्दीको धारापानीबाट धौलागिरी बेसक्याम्प पुगेका थिए।