चार वर्षपछि चौरीको रगत खाने मेला सुरु

चार वर्षपछि चौरीको रगत खाने मेला सुरु

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा शुक्रबारदेखि याकचौरीको आलो रगत खाने मेला सुरु भएको छ। 

कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक सुरु गरिएको हो।

हिमालयन चौरी पालन तथा संरक्षण समिति अन्तर्गत धौलागिरी याकचौरी पालक समूहको आयोजनामा  बैशाख ८ गतेदेखि वैशाख १७ गते ९ दिनसम्म याकचौरीको आलो रगत खाने मेला सञ्चालन गरिएको धौलागिरी याकचौरी पालक समूहका अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए। 

याकचौरीको रगत खाने मेलामा थासाङ-२ का ९ घरधुरी ९ गोठको करिब ७ सय याकचौरीको रगत निकालिने अध्यक्ष तुलाचनले बताए।

कोरोना कहर अघि बर्सेनि बैशाख महिना र भदौ महिनामा याकचौरीको रगत निकालेर बिक्री गर्दै आइरहेका याकचौरी पालकहरू कोभिड माहामारीको बेला रगत खाने मेला सञ्चालन गर्न सकेनन्। 

रगत निकाल्ने मेला रोकिएपछि याकचौरी पालकहरू निकै मर्कामा परेका थिए। याकचौरीको आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री वितरण गरेर याकचौरी पालकहरू वैकल्पिक आम्दानी गर्दै आइरहेका थिए।

यसवर्ष रगत खाने मेला सञ्चालन गरेसँगै याकचौरी पालक तचा रगत खान आउने सर्वसाधारण उत्साहित भएको समूहका अध्यक्ष तुलाचनको भनाइ छ। यतिखेर जिल्ला बाहिरका र जिल्ला भित्रका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि रगत खान बोक्सी खोला पुगेका छन्।

कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा याकचौरीको आलो रगत खाने मेला लागेको हो। मेलामा एक चौरीयाकबाट १० देखि ३५ गिलाससम्म रगत निकालिने जनाएको छ। याक चौरीको शरीरबाट आवश्यकता अनुसार रगत निकाल्ने गरिन्छ।

मेलामा रगत खाने आउने सर्वसाधारणलाई याकचौरीको आलो रगत प्रतिगिलास ३ सयको दरमा बिक्री गरिएको याकचौरी पालक समूहका सदस्य गोविन्द शेरचनले बताए। बोक्सी खोलामा दिनको एक पटक बिहान ७ बजेदेखि याकचौरीको रगत निकाल्ने कार्यक्रम सुरु हुन्छ। 

रगत खानका लागि सर्वसाधारणलाई पंक्तिवद्ध रुपमा लाईनमा उभ्याइन्छ। रगत खाने मेलामा याकचौरीको पशु स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत निकालिने उनको भनाइ छ।

वशन्तऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो। मेला अवधिभर आयोजक समूहले खुला तारो हान्ने खेल (आर्चरी) प्रतियोगिता आयोजना गरेको बताइएको छ। बिहानैबाट १२ बजेसम्म रगत खाने कार्यक्रम हुन्छ। त्यसपछि तारो हान्ने खेल आदि खेलाइन्छ।

रगत खाने मेला स्थल बोक्सी खोलामा सर्वसाधारणका लागि सामूहिक रूपमा याकचौरी पालक समूहले होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेको छ। व्यावसायिक अस्वस्थ प्रतिस्पर्धालाई मर्यादित बनाउन सामूहिक होटल सञ्चालन गरिएको बताइएको छ।

मुस्ताङका स्थानीय तहहरूमा बर्सेनि यस प्रकारको रगत खाने मेला आयोजना हुने गर्छ। मासु प्रजनन, दूधका परिकारबाट आर्थिक मुनाफा कमाइरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्ने दोश्रो आम्दानीको रुपमा लिइन्छ। 

उनीहरूले एकातिर याकचौरीको रगत बिक्री हुन्छ, अर्कोतर्फ अल्पकालीन व्यवसाय गरेर आम्दानीको गतिलो फाइदा कमाएका छन्। बोक्सी खोलामा रगत खान आउनेका लागि लक्षित गरी त्रिपाल टाँगेर एक दर्जन बढी टहरा निर्माण गरिएको छ।

याकचौरीको आलो रगत खाने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, तनहु, स्याङ्जा र काठमाडौं लगायतका सर्वसाधारण बोक्सी खोला पुगेको थासाङ-२ सौरुका स्थानीय सोजन हिराचनले बताए। उनले हिउँदयामपछि बर्सेनि नयाँ वर्षको सेरोफेरोमा बोक्सी खोलामा चौरीको रगत खाने मेला लाग्ने उल्लेख गरे।

हिमाली लेकका याकचौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ। चौपायाले मुस्ताङका उच्चलेंकको पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जडिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निको भई शारीरिक स्फुर्ती बढ्ने जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.