विमानस्थलको धावनमार्गमा मरेको चरा भेटियो
काठमाडौंबाट १६८ यात्रु बोकेर उडेको फ्लाई दुबईको जहाज सोमबार राती कोटेश्वरको आकाशमा उड्दै गर्दा पड्किएको आवाज सुनिएको थियो। सोमबार राती नै जहाजसँग चरा ठोकिएको भनेर फ्लाईदुबईले जनाएको थियो।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार बिहान एउटा मरेको चरा(गौथली) भेटिएको छ। विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको हो।
काठमाडौंबाट १६८ यात्रु बोकेर उडेको फ्लाई दुबईको जहाजमा सोमबार राती कोटेश्वरको आकाशमा उड्दै गर्दा पड्किएको आवाज सुनिएको थियो। सोमबार राती नै जहाजसँग चरा ठोकिएको भनेर फ्लाईदुबईले जनाएको थियो।
तर मरेको गौथली भेटिएकै आधारमा जहाजसँग सोही चरा ठोकिएको हो भनेर पुष्टि नहुने नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
उनका अनुसार धावनमार्गमा भेटिएको चरा भर्खरै मरेको जस्तो नभइ पहिलै मरेको चरा हावाले उडाएर ल्याएको जस्तो देखिन्छ। सहायक प्रवक्ता भुलले भने, 'धावनमार्गमा मरेको गौथली भेटिएको छ । उक्त गौथली भर्खरै मरेको जस्तो आलो छैन। पहिलै मरेको गौथली उडाएर धावनमार्गमा ल्याएको हो कि जस्तो दिखिन्छ।'
गौथली राती उड्ने चरा नभएकोले फ्लाइ दुबईको जहाजमा गौथली नै ठोकिने सम्भावना कम भएको पनि उनले बताए।