धौलागिरी आधार शिविरमा ५ दिनदेखि बेपत्ता राई मृत फेला
जोमसोम : धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता ट्रेकिङ भरियाको शव ५ दिनपछि फेला परेको छ।
धौलागिरी बेसक्यापको स्वीस क्याम्प माथि झन्डै ५ हजार मिटर उचाइको जापानिज बेसक्याम्प नजिक ट्रेकिङ भरियाको शव भेटिएको हो।
सेभेन समिट ट्रेक मार्फत विदेशी पर्यटकको ट्रेकिङ कम्पनीको भारी धौलागिरी बेस क्याम्प पुर्याएर फर्किने क्रममा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका-१ नुथला निवासी २० वर्षीय अम्रित राई हिमपहिरोमा परी बेपत्ता भएका थिए।
भरिया टोली सदस्यमा बेपत्ता धिरज राई र अर्जुन राई दोस्रो दिन शुक्रबारनै सेभेन समिट ट्रेकिङ कम्पनीको सम्पर्कमा आएका थिए।
धौलागिरी बेसक्याम्प क्षेत्रमा बेपत्ता राईको सोमबार एभरेष्ट एअरको हेली मार्फत खोजतलास गरिएको थियो। खोजी कार्यमा म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन र बेपत्ता भई सम्पर्कमा आएका धिरज राई र अर्जुन राई खटिएका थिए।
उनीहरुले ५ दिनदेखि बेपत्ता अम्रित राईको शव जापानिज बेस क्याम्पमा देखेका थिए। तर, मौसम प्रतिकुलताका कारण भेटिएको शव उठाउन समस्या परेपछि मंगलबार बिहान एभरेष्ट एअरको हेली मार्फत शवको उद्धार गरिएको पर्यटनकर्मी शेरचनले जानकारी दिए।
शेरचनका अनुसार जापानिज बेसक्याम्पबाट हेलीमा शव राखेर म्याग्दीको धौलागिरी गाउँपालिका-७ ताकममा ल्याएर त्यहाँबाट पोस्टमार्टमका लागि बेनी लगिएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी शव काठमाडौं लैजाने तयारी भइरहेको बताए।
यसअघि म्याग्दीको धारापानीबाट ट्रेकिङको भारी लिएर भरिया टोली धौलागिरी बेसक्याम्पमा पुगेका थिए। फर्किँदा प्रतिकूल मौसम र हिमपातका कारण उनीहरू बेपत्ता भएका थिए।