नेपाल र चीनका सुरक्षा अधिकारीको बैठक : कोरोला नाका खोल्ने बारे छलफल
जोमसोम : कोरोला नाका सञ्चालन गर्नेबारे छलफल भएको छ। नेपाल र चीनका सुरक्षा अधिकारीको मंगलबार बसेको बैठक कोरोला नाका खोल्ने, अन्तर्देशीय व्यापार मेला सञ्चालन गर्ने लगायतका विषयमा अनौपचारिक छलफल भएको छ।
बैठकमा चीनका तर्फबाट झोङ्वा काउन्टी तिब्बतका स्थानीय सुरक्षा अधिकारी तथा जिल्ला सुरक्षा समिति मुस्ताङबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।
झोङ्वा काउन्टी तिब्बतका प्रमुख ल्युबो छिरिङ, प्रहरी प्रतिनिधि लेबा तेन्जिङ र डिएसपी निमा लगायतको सहभागिता रहेको थियो। नेपालका तर्फबाट प्रजिअ केसीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो।
आउँदो जेठ ७ गते नेपाल-चीनबीच संयुक्त समकक्षी बैठक बस्ने मौखिक सहमति भएको प्रजिअ केसीले जानकारी दिए।लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले अल्पकालीन व्यापार मेला खोल्ने विषयमा चिनियाँ पक्ष सकारात्मक रहेको बताए।
यसअघि सन् २०१८ मा दुवै देशका सुरक्षा अधिकारीहरूको चौथो बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको थिएन।