पार्टीले हिजो न्यायोचित कदम नचाल्दाको असर अहिले देखिएको छ

पार्टीले हिजो न्यायोचित कदम नचाल्दाको असर अहिले देखिएको छ
सुन्नुहोस्

चितवन २ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार धेरै मतान्तरले पराजित हुनुभयो। तपाईंलाई कसरी यस्तो भयो भन्ने लाग्छ ? 

उपनिर्वाचन नै अनपेक्षित हो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको तनहुँ र बाराको झै चितवनको उपनिर्वाचन अपेक्षित होइन। हामी जसका कारण उपनिर्वाचन भयो यसपटक जनता सचेत छन् भन्नेमा थियौं। त्यसो भएन। राजनीतिक परिवर्तनसँगै जनताको संविधान बनाउन भूमिका निर्वाह गरेका दलहरूलाई बिर्सिएर अनौठो शक्तिमा मतदान गरे। यो राजनीतिमा दुर्भाग्य हुन सक्छ।

परिवारका सबै सदस्यलाई मिलाउन पक्षपात भयो भने झनै सदस्य भड्किन्छन्। अहिलेसम्म भएका उपलब्धिलाई शून्यमा परिणत गर्ने जुन राजनीतिक चरित्रको विकास भएको छ यो खतरनाक हो। नयाँ शक्ति उदाउन खोजेको देखिन्छ। गैरबाम हो या गैरप्रजातान्त्रिक। यो कुरा हामीले बुझाउन सकेनौं। या बुझेर बुझ पचाए। यो दुवै कुरा सँगै छ। पहिलाका म र अहिलेका मतदाता फरक छन्। चेतनशील मतादाता धेरै भएका कारण अमुक शक्तिलाई परिणाम दिए। 

भर्खरै उदाएको शक्तिलाई मतदाताले किन मत दिए ? 

अहिले अतिरञ्जित तरिकाले सतही राजनीति गर्ने शक्तिको उदय भयो। कसैले अनावश्यक आश्वासन र अनावश्यक आलोचना गर्ने चरित्रको पार्टी होइन। यथार्थ धरातलमा टेकेर यथार्थ राजनीति गर्ने दलको सतही राजनीति गर्नेसँग तालमेल नमिलेको हो। त्यसकारण यो नतिजा आउनुमा एउटा क्षेत्र गुमेको महसुस मात्रै होइन २०७२ सालको संविधान नै खतरा हुने संकेत हो। भविष्यका बारेमा सोचिरहेका छौं। 

तपाईंहरूले आफ्नै कार्यकर्ता जोगाउन नसकेको देखियो। इतिहासको कुरा गर्दा पार्टी कमजोर देखियो नि ? 
हाम्रो पार्टीलाई हिजो कार्यकर्ताको भीड आधारित ग्रहण गरियो। पार्टीलाई अब कार्यकर्तामुखी बनाएर लैजानुपर्छ कि भन्ने चर्चा उठेको छ। पार्टीमा वैचारिक बहसलाई नेतृत्वले अगाडि बढाउनुपर्छ भन्ने, वडाबाटै सुदृढीकरण गरेर लैजानुपर्छ भन्ने देखिएको छ।

पहुँचका आधारमा नभएर कार्यकर्ताको भावनाअनुसार लैजान सकियो र त्यसको मूल्यांकनको आधारमा जिम्मेवारी र अवसर दिएर संगठनलाई अगाडि लैजानुपर्छ। बुझाई नै फरक हुन गएको छ। केन्द्रीय कार्यसमितिको निर्णय अन्तिम हुन्छ। महासमिति र महाधिवेशनमा लगिए पनि केन्द्रीय कार्यसमितिले गरेको निर्णय मान्न पर्छ। पार्टीको सञ्चालन यसरी हुने हो। पार्टीलाई कार्यकर्ताको भावनाअनुसार लैजानपर्छ भन्ने बहस मतपरिणामले दिएको छ। 

तपाईंहरूले नेता मनाउन सक्नुभएन कि कार्यकर्तालाई बुझाउन ? 
नेतृत्व पनि स्वार्थी भयो। आफ्नो व्यक्तिगत स्वार्थमा डुबुल्की मार्ने परिपाटी छ। मेरो टिकट, मेरो राजनीतिक भविष्य भन्ने चिन्तनमा अड्केको छ। बीपी कोइरालाले भनेको सबै मिलेको छ।

प्रजातन्त्र आएपछि पार्टीमा सुकिला मुकिला हावी हुनेछन् र पार्टीका कार्यकर्ताले आन्तरिक विद्रोह गरेर नेतृत्वलाई सच्चाउनुपर्छ भन्नुभएको कुरालाई एकदशकअघि लागू गर्नुपथ्र्यो। त्यसो गरेको भए अहिलेको अवस्था आउने 
थिएन। पार्टीमा न्यायोचित व्यवहार नहुँदा यस्तो भएको हो। 

अब सक्किने कि सच्चिने भन्ने प्रश्न आएको छ। कांग्रेस के हुन्छ ? 

हामी सच्चिने हो। सच्चिने यो अर्थमा कि पार्टीको आन्तरिक संगठनलाई मर्यादित, पारदर्शी र न्यायिक हिसाबले संगठनलाई अगाडि बढाउनुपर्छ। संगठनको नेतृत्व छनोटलाई पनि बोझिलो बनाउन भएन। संगठनले जनताको बीचमा प्रस्तुत गर्ने शैली, हरेक निर्वाचनमा उठाउने उम्मेदवार पार्टीमा योगदान र मूल्यांकनको आधारमा दिनुपर्छ। पार्टीमा लागेपछि न्याय हुन्छ भन्ने बनाउन सक्नुपर्छ। यसले मात्रै हामीलाई सच्चाउन मदत गर्छ। 

  •     नेतृत्व स्वार्थी भयो। आफ्नो व्यक्तिगत स्वार्थमा डुबुल्की मार्ने परिपाटी छ। मेरो टिकट, मेरो राजनीतिक भविष्य भन्ने चिन्तनमा अड्केको छ।
  •     पार्टीमा लागेपछि न्याय हुन्छ भन्ने बनाउन सक्नुपर्छ। यसले मात्रै हामीलाई सच्याउन मद्दत गर्छ। 

वडाध्यक्षको टिकटबाटै थालनी गर्नुपर्छ। पालिका, प्रदेश, सबै तहमा टिकट दिँदा वडाबाटै आउनुपर्‍यो। पहुँचका आधारमा हुन भएन। तब नेता दैलो दैलोमा जान्छ। टोल–टोलको समस्या बुझ्छ। अहिले हामी समान अवसर नदिने हो या न्यायोचित भएन भने यसले सच्चिने बाटो होइन सक्किने बाटोमा लैजाने खतरा देखिएको छ। त्यसैले अब सच्चाउने बाटोमा हिँड्न आवश्यक देखिएको छ। वडाको सिमाना थाहा नहुनेले टिकट पाउँछ। पार्टीको संरचना थाहा नहुनेले टिकट पाएको छ। पार्टीको संरचनालाई स्थानीय स्तरमुखी बनाउनुपर्छ। 

तपाईंहरूले अघिल्लो निर्वाचनको तुलनामा यसपटक किन झनै मत जोगाउन सक्नुभएन ? 
पार्टीले नीतिगत रूपमा हिजो न्यायोचित नहुँदाको असर अहिले देखिएको छ। वडा तहमा गरिएको विभेदले अहिले असर पारेको छ। नेतृत्व छान्नका लागि मात्रै नबुझेका मान्छेलाई क्रियाशील सदस्य दिँदा पनि समस्या आएको हो। वर्षांै पुराना सदस्यले छान्ने र नयाँ आएकाले छान्ने नेतृत्वमा पक्कै फरक पर्छ। राम्रो तरिकाबाट छानिएको उम्मेदवारलाई हराउने र दायाँबायाँ गर्‍यो भने त्यसलाई पार्टीबाट निष्कासन गर्‍यो भने पार्टी सुध्रिन्छ। 

७० वर्षभन्दा पुरानो विरासत बोकेको पार्टीलाई एक वर्ष पनि नपुगेको पार्टीले पाखा लगायो। कांग्रेस के अब संकटमा परेको हो ? 
म ग्यारेन्टीका साथ भन्छु कि कांग्रेस संकटमा पर्‍यो भने यो मुलुक नै संकटमा पर्छ। लेखेर राख्नुस्, २०७२ सालको संविधान संकट पर्छ। किनभने झुत्री भए पनि या फोहोरी हुन, आमा आमै हो। यो संविधान जन्माउन कांग्रेसका संस्थापक बीपी कोइरालाले सुरुवात गर्नुभएको हो।

संविधानसभाबाट जनताको हितमा संविधान बनाउने परिकल्पना गर्नुभयो। नेपाललाई सुहाउँदो व्यवस्थाको परिकल्पना गर्नुभयो। प्रजातान्त्रिक समाजवाद, बहुदलीय व्यवस्था, संसदीय व्यवस्था र बालिग मताधिकारका आधारमा आवधिक निर्वाचन प्रणालीबाट जनताको शासन व्यवस्था सञ्चालन गर्ने व्यवस्थाको कल्पना त्यति बेलै गर्नुभयो। 

यो विचार राणा, राजा, पञ्च र कम्युनिस्टले मानेनन्। तर, बीपी कोइरालाको विचारले जित्यो। आज त्यहीअनुसारको संविधान कांग्रेस नेतृत्वको सरकारले जारी गर्‍यो। अहिले आएको भेल बाढीलाई त्यो थाहा भएन। हाम्रो अहिलको उम्मेदवार जितनारायण श्रेष्ठको परिवारले १० कट्ठा जग्गा दिएर स्वास्थ्य चौकी बनाउनुभयो। त्यसको भ्युज आउँदैन। अहिले जित्ने रवि लामिछानेले कसैले दिएको एक फाइल औषधिको त्यसको भ्युज आउँछ। 

यसरी पाएको भोटले लोकतन्त्र धान्छ कि धान्दैन ? सत्ता आन्दोलनबाट पनि आउँछ कि यस्तै झुक्किएर पनि सत्ता परिवर्तन हुन्छ ? 

त्यसकारण आगोमा घिउ थपेर यो व्यवस्थालाई समाप्त पार्ने खेल हुन सक्छ। अहिले आत्तिन पदैन। तर, पार्टीलाई आन्तरिक सुशासन, लोकतान्त्रिक हुन संकेत गरेको छ।

अर्को अहिले ७० वर्ष लगाएर प्राप्त गरेको व्यवस्था गुम्ने खतराको घण्टी पनि बजेको छ। दुइटा कुरालाई बुझेर पार्टीको केन्द्रीय नेतृत्वले यस्तो योजना बनाउनुपर्‍यो कि विधानमै उल्लिखित गरेर आउनुपर्छ। नेतृत्वभन्दा पनि संस्थागत संरचनाको त्रुटि छ त्यसलाई गाउँ केन्द्रित गर्नुपर्छ। केन्द्रमा होइन टिकट वितरण जस्ता अधिकार वडामा हुनपर्‍यो। मिहिनेत गर्नेलाई अवसर दिए कार्यकर्ताले काम गर्छन्। अनि संगठन बन्दै जान्छ। 

प्रस्तुति : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.