एकीकृत बस्तीमा सडक र खानेपानीको अभाव

बागलुङ : पहिरोबाट विस्थापितका लागि तयार गरिएको काठेखोला गाउँपालिका-५ बिहुँको एकीकृत बस्ती (नमुना बस्ती)मा भौतिक पूर्वाधारको अभाव भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको एकीकृत बस्तीमा भौतिक संरचना निर्माण गर्न प्राप्त बजेट कोरोना संक्रमणकालमा बजेट कार्यान्वयन नहुँदा खानेपानी, ढल निकास, सार्वजनिक भवन र सडकको पहुँच मार्ग निर्माण हुन नसकेको स्थानीयले बताए।
उपभोक्ता समितिको अध्यक्ष तथा विस्थापित धनमाया दर्जीले भौतिक संरचना निर्माणका लागि कोरोना महामारी अघि ४० लाखको योजना आए पनि कामै नभइ फ्रिज भएको बताइन।
‘नमुना बस्तीमा खानेपानीको अभाव, वर्षायामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन्। बस्ती वरपर बनाउने भनिएको पदमार्ग बनेन। सार्वजनिक सभाहल योजनामा परे पनि बस्तीमा तयार नै भएको छैन,‘विस्थापित दर्जीले भनिन्,‘नाली, पानी, भवन र बाटोका बजेट कोरोना कालमा आएको थियो त्यसैले कामै नभइ सकियो।’
सबै गाउँमा मोटरबाटो पुगे पनि मध्यपहाडी लोकमार्ग नजिकै रहेको नमुना बस्तीमा सडक विस्तार नहुँदा दुःख लागेको स्थानीय रुपा दर्जीले बताइन। सरकारले आफूहरूका लागि खानेपानी र सडक विस्तार गरेमा दैनिकी सञ्चालन गर्न सहज हुने दर्जीको भनाइ छ। ‘ठूलो घर त हामीले मागेकै छैनौं, सके बनाउँला नसके काम चलाउँला दर्जीले भनिन्, ‘नमुना बस्ती नामले होइन सुविधाले हुनुपर्छ। बस्ती भएको ठाउँमा खुर्सानीसमेत रोप्न ठाउँ छैन।
उनले खानेपानीका लागि स्थानीयबाट एउटा पाइपमा ल्याइएको र पालैपालो सबैले प्रयोग गरिरहेको बताइन। ‘अयन्त्र त एक घर एक धारा निर्माण भएको छन्,’ दर्जीले भनिन्,‘यहाँ नमुना बस्ती भनिए पनि खानेपानी संकलनका लागि घण्टौं समय कुर्नुपर्ने अवस्था छ।’
बस्तीमा आठ लाख रुपैयाँमा ढल निकासका लागि सानो नाली बनाए पनि त्यसको काम पूरा भएको छैन। ‘आठ लाखको काम गरेर सानो नाली बनाइयो’ धनमायाले भनिन, ‘बाँकी काम गर्न सकिएन, कोरोना पछि बजेटनै आएन।’
२०७२ सालको बर्खामा गएको पहिरोले बिहुँ काउलेका १४ परिवार विस्थापित भएका थिए। काउले बस्ती बसाउन प्राविधिक दृष्टिले जोखिम पूर्ण भएपछि जग्गा खरिद गरेर एकीकृत बस्ती निर्माण गरिएको हो।
विस्थापित भएको पाँच वर्षपछि काहुलेका १० परिवारले ओत लाग्ने घर पाएका थिए। देश विदेशमा रहेका बिहुँ र बागलुङबासीको सहयोग तथा काठेखोला गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमुना बस्ती तयार गरिएको थियो।
बस्तीका स्थानीयहरूले आफ्नो घरको लालपूर्जा आफूसँग नहुँदा दुःख मान्ने गरेका छन्। ‘१० घरको लालपूर्जा एउटै हुँदा कयौं काममा अवरोध आउने गरेको छ,’ स्थानीय लालबहादुर परियारले भने,‘नमुना बस्तीका लागि आवश्यक संरचनाहरू समेत अझै तयार भएका छैनन्। आफै निर्माण गर्न श्रोत पनि छैन र लालपूर्जा पनि आफ्नो नाममा छैन। सरकारबाट बजेट नै आउँदैन।’
गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि योजना बनाएको बताए। उनले बस्तीमा खानेपानी र सडक पुर्याउनका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताए।
१० वटै घरमा औसतमा पाँच जनाको परिवार बस्ने गरेको स्थानीयले बताए। ‘दुई कोठा भएका घर नजिकै जोडेर बनाइएको छ,’ स्थानीय धनमाया दर्जीले भनिन,‘नमुना बस्तीको जग्गा र घर सबैको एकमुष्ट लालपुर्जा छ। पुर्खौली घर भएको ठाउँमा घरसँगै उब्जाउन गर्ने जमिन पहिराले बगायो।’
मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टर्नै समस्या रहेको बताउँछन्। घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जीको भनाइ छ।
ठूलो परिवार भएकाहरूलाई नमुना बस्तीमा भनेका घरसमेत अपुग छ। एउटा कोठामा भान्छा र अर्को कोठामा चार पाँच जना कोचाकोच गरेर बस्नु परेको रुपा दर्जीको भनाइ छ। ‘नत खेती गरेर खाने जमिन छ, नत पशु पालौं भने गोठ छ’ दर्जीले भनिन्,‘घरमा खाने तरकारी त फलाउन सकिन्थ्यो, एक टुक्रा जग्गा पनि छैन।’
प्रतिक्रिया दिनुहोस !
