एसईईमा नक्कली परीक्षार्थी प्रकरण : पक्राउ परेका धरौटीमा छुटे, नाबालकलाई अभिभावकको जिम्मा लगाइयो

एसईईमा नक्कली परीक्षार्थी प्रकरण : पक्राउ परेका धरौटीमा छुटे, नाबालकलाई अभिभावकको जिम्मा लगाइयो
जिल्ला अदालत मोरङ। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङका विभिन्न परीक्षा केन्द्रबाट ठूलो संख्यामा पक्राउ परेका एसईईका नक्कली परीक्षार्थीमध्ये अधिकांशलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।  जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले साबालक रहेका नक्कली परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । 

आदेशपछि १ सय ६० जना परीक्षार्थी धरौटीवापतको रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार इजलासको आदेशसँगै नाबालक रहेका परीक्षार्थीलाई भने खोजेका बखत अदालतमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाएर छाडिएको छ । 

नाबालक नक्कली परीक्षार्थीको संख्या ३४ रहेको बुढाथोकीले बताए । ‘पछि ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा इजलासले नक्कली परीक्षार्थीमध्ये साबालकलाई धरौटीमा छाड्न र नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दियो,’उनले भने । 

बुढाथोकीका अनुसार नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । राईले आफ्नो इन्स्टिच्युटमार्फत नक्कली विद्यार्थी खडा गरेर अर्काको नाममा एसईई परीक्षा दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

अर्काको नाममा परीक्षा दिइरहेका ठूलो संख्याका नक्कली परीक्षार्थीलाई प्रहरीले गत चैत २२ र २३ गते पक्राउ गरेको थियो । प्रहरीले केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यमिक विद्यालय केन्द्रबाट मात्रै १ सय २६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो । 

केराबारीकै मचिन्द्र माविका विद्यार्थीका नाममा परीक्षा दिइरहेका बेला उनीहरू पक्राउ परेका हुन् । जसमा ९८ जना साबालक र २८ जना नाबालक थिए । त्यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटको सरस्वती मावि केन्द्रबाट ५३ जना पक्राउ परेका थिए । उनीहरु बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविका विद्यार्थीको नाममा परीक्षा दिइरहेका बेला पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये ६ जना नाबालक छन् । 

सुन्दरहरैँचा नगरपालिका–१ हरैँचास्थित जनता मावि केन्द्रबाट १५ जना पक्राउ परेका थिए । पक्राउ पर्ने सबै साबालक छन् । मृगौलिया माविका विद्यार्थीको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

नक्कली परीक्षार्थीविरुद्ध शिक्षा ऐन २०२८ को कसूर अनुसार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि त्यसका आधारमा अभियोगपत्र तयार पार्दै जिल्ला सरकारी वकिल कार्यालय मोरङले १ सय ९४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो । वकिल कार्यालयले सुन्दरहरैँचा र ग्रामथानबाट पक्राउ परेकाविरुद्ध मंगलबार तथा केराबारीबाट पक्राउ परेकाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो । 

त्यसपछि सबैको बयान लिएर वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएसँगै बुधबार र बिहीबार गरी २ दिनसम्म लगाएर अदालतले मुद्दामा आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार नक्कली परीक्षार्थी पक्राउ परेपनि उनीहरुलाई आफ्नो नाममा परीक्षा दिन लगाउनेजति सबै फरार छन् । 

‘जतिजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्,उनीहरुलाई परीक्षा दिन लगाउने त्यति नै जना फरार छन्,’बुढाथोकीले भने, ‘फरार रहेकाको मुद्दा मुल्तवीमा रहन्छ ।’ फरार रहेकाहरू उपस्थित भएमा वा प्रहरीले पक्राउ गरेर बुझाएमा मुल्तवीलाई ब्यूँताएर अदालतले निर्णय गर्ने उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.