पारिजातसँगको त्यो विमति

स्मृति–विम्ब

पारिजातसँगको त्यो विमति

प्रथम पृष्ठमा आँखा दौडाइसकेपछि भित्री पृष्ठ पल्टाउने क्रममा अचानक एउटा हेडलाइन हेर्दा देखें– ‘रजनीशको आलोचना रजनीशकै प्रचार’।

आजजस्तो दैनिक अखबार कुनै थिएनन् त्यो समय, केवल एउटा गोरखापत्र थियो। साप्ताहिक पत्रिकाहरू नै निकै लोकप्रिय थिए त्यसबखत। नेपालको राजनीतिप्रति त्यो समय निकै चासो राख्थें। आफूलाई पायक पर्ने पत्रिका पसलहरूमा पुगेर पत्रिका पढ्नैपर्ने मेरो लत बसिसकेको थियो। रानीपोखरीको एउटा कुना, सोह्रहाते गणेश मन्दिरछेउमै माइल्दाइ (कृष्णप्रसाद गौतम) पत्रिका फिँजाएर राख्थे।

२०४६ साल–समयताका, जनआन्दोलनको पूर्वसन्ध्याको समय थियो। आन्दोलनमा हुने हूलदंगा–जुलुस र प्रहरीले दिइरहने दुःखका माइल्दाइको पत्रिका पसलमा डिस्टर्ब भइरहन्थ्यो। त्यसैले खासगरी साँझको समयमा भने उनका पत्रिका रत्नपार्कका पसलहरूका पछाडिपट्टिको खाली ठाउँमा फिँजाइन्थे। तत्कालीन आन्दोलनको साक्षी–सहभागी आफैं भएर पनि पत्रिकाहरूमा आन्दोलनबारे के छापिए भन्ने खुल्दुली लाग्थ्यो।

ती पत्रिकालाई हातमा लिएर पल्टाउँदै सरर आँखा नदौडाई चित्तै बुझ्दैनथ्यो। त्यो एकदिन, हातमा त्यतिखेर ‘युगान्तर’ थियो। प्रथम पृष्ठमा आँखा दौडाइसकेपछि भित्री पृष्ठ पल्टाउने क्रममा अचानक एउटा हेडलाइनमा आँखा पुगे, लेखिएको थियो– ‘रजनीशको आलोचना रजनीशकै प्रचार’। ‘प्रसंग प्रवाह’ स्तम्भअन्तर्गत लेखिएको उक्त लेखको लेखकको नाम थियो पारिजात।

त्यो शीर्षकप्रति किन आकर्षित भएँ भने एक त त्यो लेख मेरा प्रिय लेखक पारिजातले लेखेकी थिइन्। अर्को, त्यसबखतसम्म रजनीशका धेरै पुस्तक पढिसकेको थिएँ। एक प्रकारले रजनीशको दर्शनबाट अत्यन्तै प्रभावित थिएँ। सरसर्ती आँखा आलेखमा दौडिन लागे। केही पंक्ति पढ्दा नपढ्दै बेचैनी पैदा हुन लाग्यो। कारण थियो, त्यो लेख मैले नै लेखेको एउटा लेखसँग सम्बन्धित थियो। पूरै नपढी पत्रिका बन्द गरें र किनेर पट्ट्याउँदै खल्तीमा राखें।
घरमा आएपछि माथिदेखि पढ्न सुरु गरें। दोहोर्‍याएर पढें। एकातिर खुसी लाग्यो, त्यति ठूला लेखकले मेरो लेखका विषयमा लेखेका थिए। तर

अर्कोतिर त्यत्तिकै दुःखित पनि भएँ। कारण थियो, त्यसमा एकपक्षीय ढंगले लेखविरुद्ध विश्लेषण गरिएको थियो। मैले लेखेको लेखको शीर्षक थियो– ‘एउटा विवादास्पद नाम भगवान्।’ जुन ‘साधना’ मासिकमा प्रकाशित भएको थियो। त्यो लेखमा, भगवान् कुनै बहसको होइन, मान्यताको विषय हो भन्ने धारणा प्रस्तुत गर्दै प्रसंगवश रजनीशको भनाइलाई उदाहरणको रूपमा पेस गरेको थिएँ।

‘हिजोका सिद्धार्थ जंगल गएर बुद्ध बने, भगवान् कहलाइए तर आज भगवान् बन्न जंगल गइरहनुपर्ने जरुरत छैन। रजनीशले आफूलाई भगवान् घोषित गरेका थिए। तर, उनको यो भनाइलाई गलत अर्थ लगाएर उनलाई पाखण्डी भनियो। वास्तवमा उनले उनले आफूलाई पूजा गरिने भगवान्को रूपमा परिचय दिलाएका थिएनन्। आफैंले आफैंलाई चिन्ने हो भने ईश्वरको दर्शन मिल्छ भन्ने उनको मान्यता थियो।’, यही थियो त्यो लेखमा।

तर पारिजातले यही बुँदालाई पक्रेर, युगान्तरको त्यो लेखमा रजनीशलाई चिमोटे जस्तो गरेर रजनीशकै प्रचार गरिएको रूपमा व्याख्या गरेकी थिइन्। पटक्कै चित्त बुझेन उनको कुरो। तत्काल मैले पत्रिकाको पछाडि पातोमा अंकित सम्पादकको नाम पढें– प्रेम कैदी। पत्रिकामा दिइएको कार्यालयको नम्बरमा तत्कालै फोन गरें, कैदीजीले नै फोन उठाए। गुनासो सुनाएँ।

‘ओहो भाइ। म तपाईंलाई राम्रोसँग चिन्छु। तपाईंको घरपरिवारको बारेमै जान्दछु’, कैदीजीले बडो विनम्र र सहजताका साथ भने– ‘पारिजात दिदीले लेख्नुभएको, नछाप्ने कुरै भएन। तर तपाईंलाई चित्त बुझेको छैन भने प्रतिक्रिया लेख्नोस् ! म छापिहाल्छु नि !’ सर्त राखें– ‘जुन पेजमा जुन स्तम्भमा पारिजातको लेख छाप्नुभएको छ, तपाईंले त्यहीँ ठाउँमा छाप्नुपर्छ नि ! अर्को कुरा, लेखको कुनै शब्द काट्न पाउनु हुन्न।’ र, प्रत्युत्तरका क्रममा लेखको शीर्षक राखें, ‘हात्ती सम्पूर्णमा हात्ती हो, केराको थम्बा होइन।’ जसमा पारिजातले मेरो लेखलाई आँखा नदेख्नेले हात्तीलाई बुझेजस्तो रूपमा मात्रै बुझिन्, सिंगो रूपमा बुझिनन् भन्ने भाव थियो।

भोलिपल्ट फेरि बिहानै कैदीजीलाई फोन गरें। उनले लेख लिएर आउने निम्तो दिए। (स्मरणीय छ, त्यस बखत हातैले लेख्ने गरिन्थ्यो, कम्प्युटर–इन्टरनेटको प्रयोग सामान्यतः हुँदैनथ्यो)। सम्बन्धित विषयमा थोरै र अन्य धेरै रमाइला कुराकानी पनि भए। अर्को दिन कैदीजीले फोन गरेर भने– ‘लेख ठीक छ, तर एउटा लाइन अलि आपत्तिजनक लागेर काटेको छु।’ बुझिहालें, त्यसमा पारिजात मानसिक रूपमा पनि अपाहिज रहिछन् भन्ने बेहोराको आवेगपूर्ण पंक्ति लेख्न पुगेको थिएँ। प्रसंग–प्रवाह स्तम्भअन्तर्गत प्रतिवाद भनेर त्यही हप्ता मेरो लेख छापियो। केही दिनपश्चात् कैदीजीले भने– ‘दिदीले तपाईंलाई सरी भन्नुभएको छ।’

ooo

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेर पनि टुंगिसकेको थियो। लगत्तै, अर्को सालको जेठमा मेरो संयुक्त कवितासंग्रह ‘जिन्दावाद–मुर्दावाद’ प्रकाशित भएपछि भतिज उत्तमलाई साथ लिएर पारिजातको निवासस्थान म्हैपी पुगें। आआफ्नो परिचय दियौं। ‘ए, तपाईं नै हो भौकाजीजी ?’ उनले छोटो प्रतिक्रिया जनाउँदै सोधिन्– ‘के–कति कामले आउनुभो ?’

आफ्नो उद्देश्यअनुरूप हामीले हाम्रो ‘जिन्दावाद–मुर्दावाद’का पाँचप्रति उनलाई हस्तान्तरण गर्‍यौं। ‘यी किताबका लागि धन्यवाद ! बिक्रीबाट आएको रकम जेलबन्दीहरूलाई चामल किनेर लगिदिने गरेको छु।’ खुसी भएर फर्कियौं। तथापि भित्रभित्रै डर लागिरहेको थियो, कतै युगान्तरमा छापिएको लेखबारे उनले कुरो उप्काएर बहसमा उत्रने हुन् कि उनी ! तर त्यसो भएन। वातावरण असहज बनेन।

ooo

संयोगले, २०५५ सालको एक दिन पारिजातद्वारा लिखित अप्रकाशित एउटा नाटकको टाइप गरिएको पाण्डुलिपि मलाई प्राप्त भयो। पारिजातको निधन भइसकेको समय थियो त्यो। भाञ्जा सुवर्ण कर्माचार्यको सहकार्यमा भर्खरै मात्र सम्पादन सुरु गरेको ‘घुयेंत्रो’को ‘दिवंगत लेखक अंक’मा प्रकाशित गर्न कवि मञ्जुलले मलाई त्यो पाण्डुलिपि हस्तान्तरण गरेका थिए। ‘एकजोडी अन्तराल’ शीर्षकको त्यो नाटक सम्भवतः प्रदर्शन गर्ने तैयारी चलिरहेको थियो। छनक मिलेको थियो, पाण्डुलिपि हेर्दा। किनकि त्यसका प्रायः पृष्ठहरूमा पेन्सिलले ठाउँठाउँमा निर्देशनका टिप्पणी कोरिएका थिए।

सम्पादकको सामान्य धर्म हो, छाप्नुअघि सम्बन्धितलाई सूचित गर्नु। अतः पारिजात स्मृति प्रतिष्ठानमा सम्पर्क गरेर छाप्न लागेको सूचना दिन खोजें। तर, त्यहाँबाट गजबको प्रतिक्रिया आयो– ‘दिदीको यो पाण्डुलिपि धेरै पहिले चोरी भएको थियो। तपाईंले छाप्न पाउनु हुन्न।’ असमञ्जस्य स्थिति बन्यो। तैपनि जान्न चाहें– ‘चोरी भएको सूचना कुन मितिमा कहाँ सार्वजनिक भएको छ ?’ वास्तवमा कुनै संस्थासँग केवल नाम जोडिँदैमा उसका सम्पूर्ण कृति संस्थाका हुन सक्दैनन्।

लाग्यो– पारिजात निश्चित कुनै संस्थाको मात्रै होइन, सम्पूर्ण नेपाली भाषासेवीको हो। यही सोचका साथ ‘घुयेंत्रो’मा छाप्यौं। पछि किताबको रूपमा अर्को तेस्रो व्यक्ति सम्पादक बनेर किताबको रूपमा त्यसलाई छापेका छन्। मैले त्यसतर्फ त्यति ध्यान दिइनँ। पारिजातको अप्रकाशित कृति आउनु थियो, आयो बस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.