'भिक्टोरिया क्रस' बिजेता लिम्बूको अन्येष्टि
धरान : भिक्टोरिया क्रस (भीसी) विजेता रामबहादुर बेघा लिम्बूको आज अन्त्येष्टि गरिएको छ । ललितपुरको मेडिसिटि हस्पिटलमा उपचारका क्रममा बैशाख ९ गते निधन भएका बेघाको दमक-६ स्थित किरात माङहिममा दाहसंस्कार गरिएको हो।
सन् १९६५ नोभेम्बर २१ मा बुर्नाइको जंगलमा इन्डोनेसियाका सेनासँगको लडाइमा बहादुरी देखाएर युद्द लडेबापत बेघालाई तत्कालिन बेलायती महारानी एलिजा बेथले भिक्टोरिया क्रस (भीसी) को उपाधि दिएकी थिइन् ।
बेलायती सेनामा कार्यरत १३ जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए। तीमध्ये बेघा अन्तिम नेपाली हुन्। भेक्टोरिया क्रस बेलायती राजपरिवारले दिने सबैभन्दा ठूलो पदवी हो।
बेलायती सेनामा हनेरी क्याप्टेनसम्म भएका बेघा २८ वर्षसम्म जागिर खाएर अवकास भएका थिए । विक्रम सम्वत् १९९२ साउन २१ गते पाँचथरको च्याङथापुमा बाबु टेकवीर बेघा र आमा टुनिमाया बेघाको काइलो छोराका रुपमा जन्मिएका रामबहादुर समाजसेवामा पनि सक्रिय थिए ।
उनको अन्त्येष्टिमा बेलायत राजपरिवारको प्रतिनिधित्व गर्दै बेलायती सेनाका प्रमुख जनरल पीएर्सन,नेपाली सेनाको पूर्वीपृतनापति आसबहादुर तामाङ सहभागी थिए।
बेघाको अन्त्येष्टिमा बेलायती सेनाले सलामी दिएको थियो। बेघाको अन्त्येष्टिमा काठमाडौं,पोखरा,धरानलगयतका स्थानबाट भुपु बेलायती सेना र हजारौं आफन्तहरु मलामी आएका थिए ।