झापाका चिया उद्यमी श्यामानन्दको निधन
झापा : झापाका पुराना चिया उद्यमी श्यामानन्द सिंह राजवंशीको निधन भएको छ । साबिक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका– ७ स्थित रंगियाडाँडा निवासी राजवंशीको ८७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि बिरामी परी घरमै थला परेका उनको शनिबार बेलुका साढे ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई आइतबार दिउँसो २ बजे धार्मिक परम्परा अनुसार बुधकरण बगान नजिकैको देउनियाँ नदीमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । झापामा २०१६ सालमा चिया खेतीको सुरुवात गरेका थिए।
राजवंशी बुधकरण एन्ड सन्स टी कम्पनी प्रालिका संस्थापक हुन् । उनका दुई छोरा राजेन्द्रकुमार सिंह र भूपेन्द्रकुमार सिंह रहेका छन् । राजेन्द्रकुमार बुधकरण टी प्याकेजीङ प्रालिका सञ्चालक हुन् ।