अन्तर गाउँ तारो खेल प्रतियोगितामा चिमाङ प्रथम
जोमसोम : मुस्ताङको थासाङ-२ बोक्सी खोलामा आयोजित अन्तर गाउँ तारो (आर्चरी) खेल प्रतियोगितामा मुस्ताङको घरपझोङ-१ चिमाङ गाउँ प्रथम भएको छ।
हिमालयन चौरी पालन समूहको आयोजना र धौलागिरी चौरी पालक समूहको सहआयोजनामा प्राकृतिक रोगको उपचार चौरीको आलो रगत खाने मेलामा शनिबार आयोजित अन्तर गाउँ तारो खेलमा चिमाङ गाउँ प्रथम भएको हो।
थासाङ र घरपझोङ गाउँपालिकाका १७ गाउँका १७ समूहको सहभागिता रहेको थियो।
प्रतियोगिता १२ डोरको कुल १२० अंकमा सञ्चालन गरिएको हो। प्रतियोगितामा प्रत्येक गाउँको समूहबाट ५ जना खेलाडी रहने गरी सञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक खेलाडीले २४ पटक तारो प्रहार गरेका थिए।
प्रतियोगितामा घरपझोङ-१ चिमाङले कुल ६५ अंक समेट्दै प्रथम भयो। थासाङ-३ लेते धम्पु गाउँ ६३ अंक समेट्दै दोस्रो भएको धौलागिरी चौरी पालक समूहका अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थासाङ-३ लेते धम्पुका राजेन्द्र शेरचन घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट (खोलर) थासाङ-२ नाउरिकोटका राजन तुलाचन घोषित भए।
तारो खेल प्रतियोगिताको प्रथम हुने समूहले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो। दोश्रो हुने समूहले नगद २५ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पायो।
हिमाली मौलिक कलासंस्कृति र सभ्यतालाई जीवन्त राख्दै तारो हान्ने खेलको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको धौलागिरी चौरी पालक समूहका अध्यक्ष बुद्धिरत्न शेरचनले जानकारी दिए।
थासाङको बोक्सी खोलामा याक चौरीको आलो रगत खाने मेला वैशाख ९ गतेदेखि जारी छ। मेलामा पछिल्लो ७ दिनमा १२ सय जनाले चौरीको रगत खाएका छन्।
याकचौरीको आलो रगतले मानव शरीरको पेट सम्बन्धी रोग निको पार्ने विश्वास गरिएको छ। उच्चलेंकका याकचौरीले वन्य जटिबुटी सेवन गर्ने भएकाले चौरीको आलो रगत स्वास्थ्यवर्द्धक मानिन्छ।