मोरङबाट निर्माणाधीन पुलको सामग्री चोरी गर्ने गिरोह पक्राउ

मोरङबाट निर्माणाधीन पुलको सामग्री चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको केराबारीमा निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

केराबारी गाउँपालिका–७ र १० को सिमानामा रहेको खदम खोलामाथि निर्माण भइरहेको पुलको सामग्री चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय केराबारीका नायव निरीक्षक (सइ) दिपिन थापा नेतृत्वको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा केराबारी–१० का १९ वर्षीय राहुल माझी, साबल परियार, २० वर्षीय रुपेश भुजेललगायत छन्। अन्य २ जना १८ वर्ष मुनिका छन्। 

पुलको निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिएको को २ हजार ८२७६ नम्बरको अटोसहित चोरीमा संलग्न गिरोहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार पक्राउ परेकामध्ये राहुल अटोका चालक हुन्। पाँचै जनाविरुद्ध चोरी एवं डाँका मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले गिरोहमाथि अनुसन्धान थालेको हो। ‘केही समयअघिदेखि निर्माणाधीन झोलुंगे पुलको सामग्री चोरी भइरहेको सूचना आएको थियो। 

त्यसका आधारमा निगरानी गर्न निर्माणस्थल वरपर प्रहरी परिचालन गरियो,’ डीएसपी दाहाल भन्छन्, ‘चोरी गरेका सामान अटोमा लोड गर्दै गरेको अवस्थामा गिरोहलाई पक्राउ गरिएको हो। कानुनी कारबाही अघि बढाउन थप अनुसन्धान सुरु भएको छ।’ उनका अनुसार गिरोहले चोरी गरेर सामान १ किलोमिटरजति टाढा रहेको कटेरोमा लुकाएर राखेको पाइएको छ। 

कटेरोमा भण्डारण गरेर राखिएको सामग्री गत शुक्रबार राति अटोमा लोड गरेर लैजान लाग्दा चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चोरी गरेको पुलको निर्माण सामग्री मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेमा रहेको एउटा कवाडी पसलमा लगेर बिक्री गर्ने गरेको पाइएको छ। 

‘चोरीमा संलग्नले सामान भने गाउँघरमा आउने कवाडी संकलकलाई सस्तो मूल्यमा बिक्री गर्ने गरेको खुल्यो। कवाडी संकलकले कवाडी पसलसम्म पुर्‍याएर पसलका सञ्चालकलाई बेच्दा रहेछन्,’ डीएसपी दाहालले भने, ‘कवाडी पसलबाट पुल निर्माणमा प्रयोग हुने केही सामग्री बरामद पनि गरिएको छ। पसल सञ्चालक भने फरार बनेका छन्।’ फरार रहेका पसल सञ्चालक र त्यहाँसम्म पुर्‍याएर सामान बेच्ने कवाडी संकलकको खोजी भइरहेको उनले बताए। 

पक्राउ नपरेका कारण प्रहरीले पसल सञ्चालकको पहिचान खुलाएको छैन। पक्राउ परेको गिरोहले निर्माणाधीन पुलको सामान त्यसअघि पनि पटकपटक चोरी गरेको पाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार त्यसअघि लगेर बिक्री गरिएका निर्माण सामग्री कवाडी पसलबाट बरामद भएको हो। चोरी सामान किन्ने गरेको पाइएपछि प्रहरीले सुन्दरहरैँचा र बेलबारीका अन्य कवाडी पसलमाथि पनि निगरानी बढाएको छ। 

प्रहरीले घटनास्थल र कवाडी पसलबाट ५ लाख २० हजार मूल्य बराबरको पुल निर्माण सामग्री बरामद गरेको छ। पक्राउ परेको गिरोहले दिएको बयान र प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा चोरीमा संलग्न अन्य व्यक्तिको खोजी जारी राखिएको डीएसपी दाहालको भनाइ छ। उनका अनुसार कवाडी पसलमा छापा हान्दा निर्माणाधीन पुलका सामग्री बरामद भएपछि अनुसन्धानको दायरा फराकिलो पारिएको छ। 

निर्माणाधीन अवस्थाका पुल तथा सडकका निर्माण सामग्री चोरी हुने क्रम बढेसँगै नियन्त्रणका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन्। 

उनले निर्माणस्थलको सुक्ष्म निगरानी गर्दै चोरी नियन्त्रण गर्न निर्देशन दिएर प्रहरी खटाएका हुन्। ‘निर्माणाधीन संरचनाका सामग्री चोरी हुने क्रम बढ्यो। त्यसले निर्माण कार्य अलपत्र पर्ने अवस्था आयो,’ एसपी पोखरेल भन्छन्, ‘चोरी नियन्त्रण गर्न र त्यसमा संलग्नलाई कानुनको दायरामा ल्याउन प्रहरी खटाइएको छ। प्रहरी सक्रियता बढाएर सुक्ष्म ढंगले निर्माणस्थलको निगरानी गर्न थालिएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.