भीमफेदीका कैदीबन्दीले बनाएका मुढा चीन पठाइँदै
हेटौंडा : मकवानपुको भीमफेदी कारागारमा विभिन्न आपराधिक गतिविधिमा संलग्न भई कारागार जीवन बिताइरहेका कैदीबन्दीहरूले बाँसबाट बनाएका मुढा चीन निर्यात हुन थालेको छ।
विश्वव्यापी कोरोना संक्रमण फैलिँदा बन्द रहेको रसुवागढी नाका खुलेसँगै कैदीबन्दीहरूले बनाएको मुढाहरूले पनि उत्तरको छिमेकी देश चीनमा नयाँ बजार पाएको हो।
निर्यातका लागि रसुवागढी नाका हुँदै भीमफेदी कारागारका कैदीबन्दीहरूले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात भएको भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलले बताए।
उनका अनुसार भीमफेदी कारागारबाट ४ लाख ३२ हजार बराबरको ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको छ।
उनले भने 'बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ।' दुई वटा ब्लकमा रहेका ४ सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा उत्पादन गर्ने भएकाले मासिक २६ सयभन्दा बढी मुढा उत्पादन हुने गरेको छ।
निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको अवस्थामा अहिले निर्यात खुलेपछि तिब्बतबाट माग आउन थालेको उनले बताए।
नाका खुलेसँगै कारगारमा रहेका करिब १ हजार कैदिबन्दीहरूमध्ये ४ सय जना कैदिबन्दीहरू मुढा बनाउन व्यस्त छन्।
कैदीबन्दीहरूले बनाएका मुढा संकलनका लागि व्यापारीहरू आफै कारगार पुग्ने गरेका छन। बासँबाट बनाइएका मुढाहरू सस्तो र बलियो हुने भएकाले चीनको ल्हासा, सिगात्से, न्यालम र धिंग्रीमा माग बढेको छ।
विशेषगरी चिनियाँहरूले चाडपर्वको समयमा मुढाको माग गर्ने गरेका छन्। उनीहरूले पाहुनालाई मुढा तथा हस्तकलाका सामग्रीहरू उपहारका रूपमा दिने गरेका छन्।