मधेशमा छकछके रेल

मधेशमा छकछके रेल

जनकपुरधाम : सन् १९२७ मा अमलेखगन्जदेखि भारतको रक्सौलसम्म रेल चल्थ्यो। राजा त्रिभुवनले उद्घाटन गरेको उक्त रेल नै नेपालको पहिलो थियो। तत्कालीन बेलायती (ब्रिटिस) सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेल निर्माण गरेको थियो। 

यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो। त्यतिबेला रेल सञ्चालनमा आएको घटनालाई विश्वबाट प्रकाशित हुने अखबारहरूले स्थान दिएका थिए। अमेरिकाबाट प्रकाशित हुने ‘दी विनिपेङ ट्रिब्युन’ को २७ मार्च १९२७ को आफ्नो अंकमा नेपालमा पहिलो रेल शीर्षकमा खबर छापेको थियो, ‘हिमाली अधिराज्य नेपालले आफ्नो पहिलो रेल देख्यो र त्यहाँका महाराजाधिराज त्रिभुवन वीर विक्रमले समेत आफ्नो जीवनमा पहिलोपटक रेलमा यात्रा गरे। 

त्यहाँका २१ वर्षे लक्का जवान महाराजाधिराज आफ्नो जीवनको पहिलो एकदमै नौलो रेल यात्राका क्रममा कत्ति पनि आत्तिएका थिएनन् र साहसपूर्ण तरिकाले यात्रा गरे।’ जस्ता शीर्षकमा समाचार प्रकाशन गरेको इतिहासकारहरू बताउँछन्। 

उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो। रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो। महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भइसकेको छ। दोस्रो रेल जयनगर–जनकपुर रेल हो। सन् १९३७ मा जयनगर–विजलापुर रेल सञ्चालनमा आएको थियो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ भित्र्याउन रेल सञ्चालन गरेको थियो। 

उक्त रेल पनि न्यारोगेजकै थियो। तर, नेपालको काठ निकासीमा रोक लागेपछि सोही रेलमा मानिस आवत–जावत गर्न थाले। साथै दुई देशीय परिवहन सेवासमेत रेलको माध्यमबाटै हुन्थ्यो।

जनकपुर–विजलपुर २२ किलोमिटरको रेलवे ट्रयाक र दुइटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको छ। 

यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिँदै छ। यसलाई जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किमिसम्म विस्तार गर्ने तयारी छ। भारतले निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये ३ किमि भारतको विहारमा पर्छ।

त्यस्तै, भारतबाट नेपालको सीमानाका वीरगन्जको सुक्खा बन्दरगाहसम्म रेलसेवा सञ्चालन हुँदै आएको छ। यो रेलसेवा कार्गो (मालवस्तु ढुवानी) का लागि मात्र प्रयोग हुँदै आएको छ। यातायातका साधनमा सबैभन्दा सस्तो पानी जहाजलाई मानिन्छ। त्यसपछि रेल पर्छ। 

सुरुवातमा कोइला तथा दाउरा ओसार्न प्रयोग हुने रेलले २०१८ सालदेखि यात्रु बोक्न थालेको थियो। २०२१ सालमा आएर नेपाल यातायात संस्थानको एउटा शाखाका रुपमा कायम भयो जनकपुर रेलवे। त्यसैलाई व्यवस्थित गर्ने उद्देश्यले ०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत राखिएको रेल सेवालाई ०२५ मा जनकपुर–जयनगर रेलवे नामकरण गरियो। 

भारत सरकारले चार डिजेल पावर इन्जिन र १८ बोगी प्रदान गरेपछि ०५१ सालमा आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो। ०५८ सालमा यातायात संस्थान विघटन भएर ०६१ सालको जेठ १८ मा नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेका रूप लिएको हो। 

नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा बन्द भएको झन्डै ६ वर्षपछि ०७८ मंसिर २ गते जनकपुरधाम रेल आयो। पुरानो ‘न्यारो गेज ट्रयाक’ विस्थापित गरेर ‘ब्रोडगेज ट्रयाक’ मा आधुनिक रेल सञ्चालन गर्ने योजनाअनुरुप नयाँ रेल गुडिरहेको छ। रेल्वे विभाग नेपालले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याएको हो। 

लामो समयको प्रतीक्षापछि बहुप्रतिक्षित कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याएर एक वर्षदेखि नियमित सञ्चालित छ। नेपालको राष्ट्रिय झन्डा अंकित रंगमा तयार पारिएको दुवै रेल जनकपुर–जयनगरको दुईपटक यात्रा तय गर्ने गरेको छ। एकपटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेलको नेपाल सेवाको इतिहास करिब ९ 
दशक लामो छ।

धरानको ढुंगे रेल 

सन् १९५८ देखि १९६२ सम्म धरानमा मालवाहक रेल चल्थ्यो। धरानको फुस्रेबाट घिर्लिङ्ग (रोपवे)ले ल्याएका ढुंगाहरूलाई हालको रेल्वे नजिक झारिन्थ्यो। त्यहाँ झारिएका राम्रा र दह्रा ढुंगाहरू रेलमा हालिन्थ्यो। त्यो रेलको गन्तव्य हुन्थ्यो सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगर सप्तकोसीको ब्यारेज। 

कोसी परियोजना सम्झौताको धारा तीनको उपधारा चारमा लेखिएबमोजिम आयाजनालाई चाहिने ढुंगा, गिटीको लागि धरानको फुस्रेडाँडासम्म रेल ल्याउने सम्झौता भयो। सम्झौताअनुसार सन् १९५८ देखि १९६२ सम्म अर्थात् विक्रम सम्वत् २०१६ देखि २०२० आसपाससम्म धरानमा रेल चल्थ्यो। ढुंगा बोक्ने रेल भएकोले ढुंगेरेल भनेर त्यसबेला चिनिएको रेलले सर्दु खोला हुँदै घिर्लिङ्गबाट आएका ढुंगाहरू रेलमा हालेर कोसीब्यारेजज पुर्‍याउँथ्यो।

त्यसबेला धरान–भीमनगरसम्म रेल कुद्थ्यो। जतिबेला विराटनगर–धरानसम्म आउने हालको पक्की सडक कच्ची मात्रै थियो। त्यसबेला नै धरानमा दैनिक तीनपल्ट रेल ओहोर–दोहोर गथ्र्‍यो जबकि विराटनगरदेखि धरानसम्म एउटा मात्रै दैनिक गाडी चल्थ्यो। 

आर्थिक समृद्धिमा रेल कोसेढुङ्गा

भनिन्छ, यातायात भनेको विकासको मेरुदण्ड हो। र, पूर्वाधारको पनि पूर्वाधार हो। कुनै पनि देशको समृद्धिको मापन गर्ने महत्वपूर्ण मापदण्ड यातायात क्षेत्र नै हो। कुनै समयमा जनकपुरधाम आर्थिक राजधानीका रूपमा चिनिन्थ्यो। भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेलसेवा र स्थानीय व्यापार–व्यवसायको प्रमुख करिडोर थियो। 

भारतीय बजारबाट खाद्यान्नसहित लत्ताकपडालगायत सामग्री किनमेल गरी यहाँका व्यवसायीले खुद्रा तथा थोक व्यापार राम्रैसँग फस्टाएको थियो। तर, रेल बन्द भएसँगै यहाँको व्यापार व्यवसायमा मन्दी छायो। 

जनकपुर जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। जनकपुरलाई आर्थिक राजधानीको लागि जयनगर–जनकपुर रेलसेवा र जनकपुर चुरोट कारखानाले महत्वपूर्ण योगदान पुर्‍याएको थिए। तर, रेलसेवा र कारखाना बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसाय ठप्प भयो। 

  •     यातायातका साधनमा सबैभन्दा सस्तो पानी जहाजलाई मानिन्छ। त्यसपछि रेल पर्छ।
  •     नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा बन्द भएको झन्डै ६ वर्षपछि ०७८ मंसिर २ गते जनकपुरधाम रेल आयो।
  •     एकपटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेलको नेपाल सेवाको इतिहास करिब ९ दशक लामो छ।

पटक–पटक भएको मधेस आन्दोलन र सडक अभियानले लथालिङ्ग भएको जनकपुर क्षेत्रको व्यापार नै चौपट भएको युवा व्यापारी अमित पाठक बताउँछन्। त्यसलगत्तै विश्वव्यापी कोरोना महामारीबाट ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ। ‘हाम्रो त व्यापार–व्यवसाय नै चौपट भयो। 
जनकपुरबाट व्यापारीले त व्यापार छोडेर भारततिर पलायन भए, तैपनि हामी यहाँ जेनतेन धानीरहेका छौं, हाम्रो पनि व्यापारबाट विस्थापित हुने अवस्था आइसक्यो, अब रेलले पहिले जस्तै मालसमान ल्याउन र भारतबाट जनकपुर घुम्न आउनेको संख्या वृद्धि भए व्यापार फस्टाउने आशा छ’, उनले भने। 

व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर उद्योगी तथा व्यवसायीहरू पलायन भएको उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन्। उनले पटक–पटकको मधेस आन्दोलन, जनकपुर सडक विस्तार अभियान, कोरोना महामारी जस्ता समस्याले व्यापार ठप्प भएको बताए। ‘रेल्वे व्यापार–व्यवसायको ठूलो आशा क्षेत्र हो, तर जनकपुर–जयनगर रेल्वे नियमित र दुरीमा चले आर्थिक विकासमा टेवा पुग्छ’, उनले भने।  

रेलसेवाले जनकपुर क्षेत्रमा किनमेल गर्न आउनेको वृद्धिसँगै सस्तो सेवाले यहाँको व्यापार व्यवसायमा आर्थिक समृद्धिको सपना पलाएको व्यापारी बताउँछन्। ‘रेलमार्ग सञ्चालनमा आएपछि ढुवानीका लागि यातायातको सुगम सुविधाका साथै भारतको विभिन्न ठाउँबाट मालसमान ल्याउनमा सहज भएको छ’, अध्यक्ष हिराले भने, ‘रेल्वे सेवा सञ्चालनपछि मालसामान सहज रुपमा सस्तो खरिदपछि बिक्री पनि सोहीअनुसार हुन्छ, जसले व्यापार–व्यवसाय फस्टाउछ। वर्षौंदेखि ठप्प भएको व्यापारको मार्ग प्रशस्तमा रेल कोसेढुंगा हुन्छ।’ 

रेलसेवा सञ्चालनले उद्योग विकास तथा व्यापार विकास निश्चित हुने प्राध्यापक तथा अर्थशास्त्री डा. बरुणलाल कर्ण बताउँछन्। ‘रेलसेवा सञ्चालनपछि यहाँको विकास आधार खुल्छ, एक त पर्यटन उद्योगको विकास हुन्छ र व्यापार फस्टाउँछ, अर्को व्यवसायी फस्टाएपछि रोजगारीका अवसरहरू सिर्जना हुन्छन्’, उनले भने। जनकपुरमा धार्मिक तथा ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरू भएकाले भारतबाट ठूलो संख्यामा पर्यटकहरूको आगमन हुने र पर्यटन उद्योगले राजश्व संकलनमासमेत ठूलो योगदान पुर्‍याउने बताए।

कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले ७ सय करोड रुपैयाँ सहयोग गरेको छ। जसमध्ये जयनगरदेखि जनकपुर–कुर्थासम्म ३५ किलोमिटरको काम सम्पन्न भइसकेको छ भने, कुर्थादेखि महोत्तरीको विजलपुरा–बर्दिबाससम्म १७ किमी रेलमार्गको काम धमाधम भइरहेको छ। 

अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि ठूला अर्थतन्त्र चीन र भारतसँग रेल सेवा जोड्नाले विकासको मूल फुट्ने अर्थशास्त्री प्राध्यापक सुरेन्द्र लाभले बताए। ‘उत्तर–दक्षिण तथा पूर्व–पश्चिम रेल सेवालाई काठमाडौंसँग जोड्नुपर्छ। 

यात्रु र मालसामानको महत्वपूर्ण गन्तव्य राजधानी नै हो। त्यसमाथि पनि काठमाडौंलाई केरुङ–काठमाडौं र रक्सौल रेलमार्ग तथा पूर्व–पश्चिम रेलमार्गसँग आबद्ध गर्न सकिए यसले नेपालको यातायात क्षेत्रमा मात्र होइन, समग्र विकासमा निकै ठूलो योगदान दिने निश्चित छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.