धर्तीमै स्वर्गको टुक्रा
२००२ सालमा बझाङ्गी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय पनि तपस्या गर्न पुगेका थिए। पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए।
२०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो। जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि खप्तडको प्रचार हुँदै गयो।
२००२ सालमा बझाङ्गी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय पनि तपस्या गर्न पुगेका थिए। पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए। त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो। देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो।
खप्तड समुद्र सतहबाट २४ सय देखि ३७ सय मिटरको उचाइमा छ। दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडिबुटी पाईन्छ। कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र सयौं प्रकारका चराचुरुंगीहरू यस क्षेत्रमा अवलोकन गर्न पाइन्छन्।
राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि अर्थात २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक राखिएको छ। यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ। यस निकुन्जमा सल्ला, खसुर र निगालोका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन्।
यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगीहरू छन्। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्छ। यस निकुञ्जको करिब मध्यभागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ छ।
सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ। यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। यहाँका घाँसे मैदान, खप्तड दह, नागढुंगा, केदारढुंगा, खप्तडबाबा आश्रम, शिव मन्दिर मुख्य आकर्षण हुन्।
प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन।
यातायात र उचित बास बस्ने व्यवस्था क्रमशः बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरू विस्तारै बढिरहेको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताए।
उनका अनुसार पहिले जेठदेखि कात्तिकसम्म मात्रै पर्यटक खप्तड पुग्ने गरेका भए पनि आजभोलि जुनसुकै समयमा पनि पर्यटक खप्तड पुग्ने गरेका छन्। आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्मको तथ्यांकअनुसार धार्मिक प्रयोजन भन्दा बाहेकका पर्यटकको संख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुराका सूचना अधिकारी रेन्जर ज्ञानेन्द्रबहादुर शाहले बताए।
सूचना अधिकारी शाहका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जम्मा ७ सय ४६ जनाले खप्तड भ्रमण गरेका थिए। आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६ सय ८८ जना, आर्थिक वर्ष २०७८/७९ मा उक्त संख्या बढेर खप्तड भ्रमण गर्नेको संख्या २ हजार २ सय ९ जना पुगेको छ।
पर्यटक वृद्धिका साथै आन्तरिक आयमा वृद्धि भइरहेको समेत सूचना अधिकारी शाहले जानकारी दिएका छन्। उनका अनुसार रोयल्टी, पर्यटन शुल्क, बन पैदावार बिक्री वितरण, दण्ड सजाए बापतको रकम बर्सेनि वृद्धि भइरहेको देखिन्छ। सूचना अधिकारी शाहले आर्थिक वर्ष २०७७/७८ मा ६ लाख २२ हजार र आर्थिक वर्ष २०७८/७९ मा ९ लाख २० हजार आम्दानी भएको बताए।
पर्यटन ब्यवसायी दीपकबहादुर खड्का भन्छन्, ‘खप्तडका लागि यो आम्दानी नगन्य हो। खप्तडमा आवतजावत गर्ने सडक र बस्ने बासको मात्रै व्यवसथा भयो भने त्यहाँ थेग्न नसक्ने पर्यटकहरू आउन सक्छन्। ’ सरकारले खप्तडको विकासका लागि ध्यान दिन नसकेको यस क्षेत्रका पर्यटन व्यवसायीको गुनासो छ।
चालू आर्थिक वर्षमा अहिलेसम्म १ हजार ६ सय ४ जना पर्यटकले खप्तड घुमिसकेका छन्। निकुञ्जका रेन्जर तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर शाहले नेपालीलाई एक सय रुपैयाँ, सार्क मुलुकका नागरिकलाई ५ सय रुपैयाँ र अन्य देशका पर्यटकलाई १५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए। खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको खप्तडछान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ।
खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा. केआईसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तडछान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ। विश्वका धेरैजसो मुलुकहरू पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिप्रेक्षमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न सक्छ। खप्तड जान आकाश मार्ग र सडक मार्ग दुवै सुधार गर्न सकिने हो भने पर्यटकिय गतिविधि बढाउन सकिने पर्यटन व्यवसायी किशोर खड्काले बताए। उनका अनुसार अहिले धनगढी–बझाङ सातामा दुई दिन मात्रै हवाई उडान छ। निजी क्षेत्रको समिट एयरले उडान गरे पनि यहाँको प्रचारप्रसार र होमस्टे, अत्याधुनिक होटलको व्यवस्था हुन सकेको छैन।
नेपाल वायुसेवाको सस्तो दरको दैनिक उडान भएमा र सडक यातायात पूर्वाधार भएमा खप्तडले सुदूरपश्चिमको अर्थतन्त्रमा सुधार ल्याउने उनको भनाइ छ। खप्तड आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परे पनि आवागमनमा कठिनाई र बासको व्यवस्थ नहुँदा नराम्रो प्रचार भइरहेको छ।
खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्नलाई अलि समस्या रहेको झिग्रेनामा होमस्टे सञ्चाल गरिरहेका पर्यटन व्यवसायी दीपक खड्काले बताए। ‘सरकारले पर्यटकीय स्थलका बारेमा नारा ल्याउँदा राम्रा राम्रा ल्याउँछ तर व्यवहारमा लागू हुँदैन’, खड्काले भने, ‘सरकारले देशभरमा सयवटा गन्तव्य स्थल छानेको छ। त्यसभित्र खप्तड पनि पर्छ। तर, त्यहाँ पुग्दा पर्यटकलाई के–कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन। सरकारले पर्यटन प्रवर्धन गर्ने कुनै पनि नीति ल्याउँदा व्यवसायीसँग पनि सल्लाह गरेर ल्याएमा त्यो फलदायी हुने थियो। तर, अहिलेसम्म यस्तो गरिएको छैन। ’
निकुञ्जमा घुम्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको र सरकाले निश्चित मापदण्ड बनाएर निश्चित व्यवस्था गरे राम्रो हुने खप्तडछान्ना गाउँपालिका अध्यक्ष्य उत्तम रोकायाले बताए। खप्तड राष्ट्रिय निकुञ्जको नाम सुन्दा र हेर्दा खप्तड जति सुन्दर छ त्यस्तै व्यवस्थापकीय पक्ष साह्रै कमजोर रहेको सरोकारवाला र भ्रमणकर्ताहरू बताउँछन्।