भेरीको पानी पम्पिङ

भेरीको पानी पम्पिङ
फाइल तस्बिर।
सुन्नुहोस्

वीरेन्द्रनगरको खानेपानी समस्या ३ वर्षभित्र समाधान गर्न भेरीको पानी पम्पिङ आयोजना अघि बढाइएको छ।

कर्णाली प्रदेशको राजधानी हो– वीरेन्द्रनगर सुर्खेत। बढ्दो सहरीकरण र जनसंख्याका कारण यहाँ खानेपानीको अभाव छ। त्यसैकारण भेरी नदीको पानी पम्पिङ गरेर प्रदेश राजधानीको  तिर्खा मेटाउने तयारी भइरहेको छ। वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या ३ वर्षभित्र समाधान हुने गरी भेरी नदीको पानी पम्पिङ आयोजना अघि बढाइएको छ। 

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले यहाँका बासिन्दाका लागि पर्याप्त रूपमा खानेपानीको व्यवस्था गर्न सकेको छैन। ०५७ सालमा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ। आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरिरहेको छ। तर पर्याप्त छैन। 

वीरेन्द्रनगर कर्णाली राजनीतिक, सामाजिक तथा प्रशासनिक केन्द्र हो। यहाँ कर्णाली प्रदेशका १० वटै जिल्लाका बासिन्दाको बसोबास छ। गुणस्तरीय शिक्षा हासिल गर्न तथा रोजगारीका अवसरका लागि हिमाली जिल्लासँगै कर्णालीका अन्य जिल्लाका बासिन्दाको पनि बाक्लो बसोबास छ। घरजग्गा व्यवसायीहरूले चिराचिरा पारेको जमिनमा घना बस्ती बस्दै गएपछि यहाँका पानीका स्रोतहरू सुक्दै गएका छन्। जसले भविष्यमा पानीको हाहाकार हुने अनुमान गरिएको छ। 

वीरेन्द्रनगरमा स्थायी र अस्थायी गरी करिब ५ लाख बढीको बसोबास छ। संघीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा बन्न लागेको भेरी लिफ्टिङ खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ सम्पन्न भइसकेको छ। अब ठेक्का प्रक्रिया अगाडि बढाइएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बताइन्।  

उनका अनुसार कर्णाली प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा हुनसक्ने जनसंख्यालाई अनुमान गरी खानेपानीको सहज आपूर्ति पुर्‍याउने लक्ष्य लिइएको छ। यसका लागि आयोजनाको  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने प्रक्रिया सकिएको छ। दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गरिएको थियो।  आयोजनाका लागि बजेटको पनि सुनिश्चितता भइसकेको छ। 

विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष २०७९/८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ आयोजना अघि बढाइएको हो। जसमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनु पर्ने हुन्छ। कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ५ करोड रुपैयाँ विनियोजन गरेको छ। नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेट छुट्याएको छ। 

भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा पानी ल्याइनेछ। पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब १० मिटर गहिरो इन्टेक निर्माण गरिनेछ। जसमा २ वटा इन्टेक रहने छन्। २ मध्ये एकले कुनै कारण काम गर्न छाडे वा सरसफाइ गर्नु परे सप्लाईमा कुनै बाधा हुने छैन्। त्यसपश्चात् इन्टेकदेखि करिव चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइप लाइन विस्तारसँगै अमृत डाडाँमा रिजर्भ ट्यांकी निर्माण हुनेछन्। यस्तै पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ। 

यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ। वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए)को बाँकी काम हुनेछ। पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्यांकीमा खसालिने छ। त्यसपश्चात करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्यांकीमा पानी हालिने छ । ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म विस्तार गरिनेछ । अमृतडाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ। 

वीरेन्द्रनगरमा दैनिक ३ सय २० लिटर प्रतिसेकन्ड पानीको माग छ। आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर मात्रै छ।  हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्ने गरिएको छ। १८ हजारबढी घरधुरीलाई खानेपानीको अभाव छ। हाल झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाको पानी वितरण भइरहेको छ। 

भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम भएको नगर प्रमुख मोहनमाया ढकालले बताइन्। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले भने, ‘समयमै आयोजना सम्पन्न गरी वीरेन्द्रनगरमा बढ्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधान हुनुपर्छ। ’ वीरेन्द्रनगर १ प्रगति टोलकी सुस्मिता परिवारलाई दैनिक खानेपानीको चिन्ता हुन्छ। उनी भन्छिन्, ‘खोलाबाट एक घण्टा लगाएर एक ग्रागी धौ–धौ पानीको जोहो गर्छौं। धारामा तीन/चार दिनको एक पटक आधाघण्टा पानी आउँछ। ’ 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निकण्ठ खनाल गर्मीयाममा सधैं पानीको समस्या हुने गरेको बताउँछन्। उनले भने, खानेपानीको समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।  वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएकाले छिट्टै आयोजना सञ्चालन हँुदैछ। ’ 

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजनाले अबको ३ बर्ष भित्रै लक्ष्य हांसिल गर्ने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए। वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.