डोटीमा भूकम्पले थिलोथिलो बनाएको बस्ती विस्तारै तङ्ग्रिँदै

डोटीमा भूकम्पले थिलोथिलो बनाएको बस्ती विस्तारै तङ्ग्रिँदै

डोटी : गत कार्तिक २२ गते राति २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण डोटीको पूर्बीचौकी गाउँपालिका-३, गैरागाउँका ६ जनाको मृत्यु भयो। ७ जना घाइते भए। 

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प जाँदा सो क्षेत्रका सयौं घर भत्किएका थिए।

भूकम्पले थिलोथिलो भएको उक्त क्षेत्र अहिले विस्तारै तंग्रिन थालेको छ। भूकम्पले पूर्बीचौकी गाउँपालिकाका सबैजसो वडाका बस्तीहरू तथा दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका तथा सायल गाउँपालिकामा समेत क्षति पुर्‍याएको थियो। 

भूकम्पबाट प्रभावित भई घरवारविहीन भएका गैरागाउँ, काँडामाण्डौ लगायतका बस्तीहरूका पीडित केही महिनासम्म विभिन्न संघ संस्थाले दिएका त्रिपालमुनी बसेका बसे। 

केहि महिना त्रिपालमुनि बस्दै आइरहेका परिवारहरू अहिले टिनले बनेका घरमा बसिरहेका छन्। बिहीबार राति बाजुरा केन्द्रबिन्दु बनाएर आएको ५.९ म्याग्निच्युडको भूकम्पको डोटीमा समेत धक्का महसुस भएका थियो। 

तर बिहीबारको भूकम्पको धक्काले उनीहरूले कुनै किसिमको डरत्रासको महसुस गरेनन्। भूकम्पको धक्का महसुस भएपनि ढुक्कसँग सुतेको स्थानीय टीका लुहारले बताए। 

त्रिपालबाट अस्थायी घरमा बस्नुपर्दा साह्रै खुसी महसुस भएको लुहारले बताए। नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले निर्माण गरिदिएको टिनका अस्थायी आवासका कारण अहिले भूकम्प प्रभावित क्षेत्रका परिवारहरू ढुक्कसँग रात कटाइरहेका छन्। 

रेडक्रसले अहिले भूकम्पबाट बढी प्रभावित क्षेत्रमा टिनका अस्थायी आवास निर्माण गरेको छ।

रेडक्रसले टिनका दुई सय ३३ वटा अस्थायी घर निर्माण गरेको छ। एउटा शौचालयसहित दुईवटा कोठा भएको टिनका घर निर्माणको लागि सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति खडकबहादुर खड्काले जानकारी दिए। 

प्रति परिवारलाई जम्मा ९८ हजार छ सय रकम उपलब्ध गराइएको खड्काले बताए। भूकम्प गएदेखि नै रेडक्रसले विभिन्न किसिमका राहत वितरण गर्दै आइरहेको छ। 

टिनको अस्थायी घर निमार्णका लागि ७३ हजार ६ सय, पोषणयुक्त खानेकुरा तथा आवश्यकता अनुसार तत्कालै खर्च गर्नका लागि १५ हजार र हेन्डवास स्टेसन निमार्ण गरेवापत चार हजार तथा शौचालय बनाउनका लागि १० हजार प्रदान गरिएको शाखाका मन्त्री सुवास श्रेष्ठले बताए। 

आवास निर्माण गरेवापत प्रत्येक परिवारको व्यक्तिको खातामा सिधै रकम पठाइएको श्रेष्ठले जानकारी दिए।

भूकम्पमा परी एकै परिवारका ४९ वर्षीय प्रेम बोहरा र उनकी १४ वर्षीया छोरी तुल्सी बोहराको ज्यान गएको थियो भने प्रेमकी श्रीमती बिष्नादेवी बोहरा गम्भीर घाइते भएकी थिइन्। हाल उनी श्रीमान् र छोरीलाई सम्झिँदै टिनको अस्थायी घरमा रात कटाइरहेकी छन्। 

उनले आफूमाथि यति ठूलो विपद् पर्दा समेत सरकारले खासै नहेरेको गुनासो पोखिन्। रेडक्रसका कारण रात काट्न केही राहत भए पनि दीर्घकालीन रूपमा समस्याको समाधानमा सरकारले सहयोग गर्नुपर्ने उनले बताइन्।

अहिले टिनको घरमा बसिरहेको भए पनि हावाहुरी आयो भने कतै उडाएर लैजान्छ की भन्ने डर अझै रहेको स्थानीय बिर्मादेवी भुलले बताइन। उनले सरकारबाट कुनै ठोस नीति ल्याएर भूकम्प पीडितहरूका लागि स्थायी रुपमा बस्तीहरू विस्तार गर्नुपर्ने बताइन्। 

‘हाम्रो आग्रहमा सरकारले कात्तिक २२ गते आएको भूकम्पबाट प्रभावित क्षेत्रलाई हेर्ने गरी पुनर्निर्माणको कार्यालय स्थापना भएको छ’, पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘उहाँहरूको पुनर्स्थापना र स्थायी बसोबासका लागि संघिय सरकार, प्रदेश सरकारसँग हामीले पटक पटक भन्दै आइरहेकाले अब आउन बजेटमा सम्बोधन हुने आश्वासन पाएका छौं।’ 

‘नेपाल सरकारबाट पाउने स्थायी पुनःस्थापनाका लागि हामीले आफ्नो तर्फबाट सकिने पहल गर्दै आएका छौं।’ डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘स्थानीय सरकार र प्राधिकरणका प्राविधिकहरूको सल्लाहमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माणको लागि हामी सबैले पहल गर्नुपर्छ र केही ढिलो भएपनि सरकारले यो अभियानलाई अगाडि बढाउने नै छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.