खाली ट्रकको छतमा राखेर सामान तस्करी
झापा : भारतबाट सामग्री लिएर आउने भारतीय नम्बर प्लेटको मालवाहक सवारी साधनमा अवैध सामग्री भित्रने गरेको पाइएको छ।
सशस्त्र र नेपाल प्रहरीले नाकामा कडाइ गरेसँगै तस्करी गर्ने समूहले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेर अवैध सामग्री भित्र्याउने गरको खुलेको हो।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–६ स्थित काली खोलामा भारतीय नम्बर प्लेटको खाली ट्रक रोकेर चेकजाँच गर्दा ठुलो मात्रामा भन्सार छलीका सरसामान बरामद गरेको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
डब्लुबी ७३ एएन ४२६६ नम्बरको भारतीय ट्रकका चालक निरञ्जन रायले आज बिहान पौने सात बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा १७ सय रुपैयाँ तिरेर खाली ट्रकको एक दिनको भन्सार प्रज्ञापन पत्र कटाएका थिए।
चालकले भन्सार प्रज्ञापन पत्रमा आयातकर्ता भारत राम छविलाल गिरी र नेपालका एजेन्ट जनक ट्रेडर्स काठमाडौं उल्लेख गरेका छन्।
भन्सार प्रज्ञापन पत्र कटाएर पश्चिमतर्फ गइरहेको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रकको हुडमाथि त्रिपालले छोपेर भित्र्याइएको करिब ११ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको डीएसपी रिजालले बताए।
ट्रकको हुडमाथिबाट प्रहरीले २४ कार्टुन टायल्स, ३ हजार ७८ पिस राधेराधे गम्छा, ३५ थान रेडमी कम्पनीका मोबाइल, विभिन्न प्रकार औषधि बरामद गरेको छ।
‘बाहिरबाट झट्ट हेर्दा गाडी खाली, हुडमाथि लाखौँको सामान भेटिएको छ,’ उनले भने। अब भारतबाट आउने प्रत्येक खाली ट्रकहरूमाथि प्रहरीले निगरानी बढाउने उनको भनाइ छ।
यता बरामद गरिएको सरसामान, ट्रक र ट्रक चालक रायलाई २२ लाख ९० हजारमा मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ।