नेपालको शान एक सिंगे गैंडा

नेपालको शान एक सिंगे गैंडा
सुन्नुहोस्

मुखको माथिल्लो भागमा रौंको गुजुल्टोबाट बनेको चुच्चो परेको सिङ। ठाडा कान, बाक्लो छालाले ढाकिएको शरीर। विश्वमा दुर्लभ हुँदै गरेको अनौठो जीव ‘गैंडा’। यो जनावरलाई देखेपछि जो कोही टोलाउँछन्। झट्ट हेर्दा गैंडा के होर झैं लाग्छ। तर, त्यसलाई नियालेर हेरिरहने हो भने अजिवको प्राणी लाग्छ। जति पटक हेरे पनि मन नअघाउने गैंडा देशकै पहिचान पनि हो।

गैंडाको नाकमा हुने रौंको गुजुल्टोबाट गुजुल्टो हुँदै बढेपछि सिङ आकारमा बन्ने खाग हेर्न बर्सेनि लाखौं पर्यटक आउँछन्। यसको मुख्य बसोबास नै चितवन राष्ट्रिय निकुञ्ज हो। गैंडाकै कारण चितवनको परिचय फरक बनेको छ। वन्यजन्तु पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो। निकुञ्जमा गैंडा हेरेपछि पर्यटकले बेग्लै अनुभूति गर्छन्। 

२० देखि सय सेन्टिमिटर लामो त्यही सिङले लाखौं पर्यटकलाई नेपाल भित्र्याएको छ। विश्वका थुप्रै राष्ट्रबाट गैंडा हेर्नकै लागि पर्यटक चितवन आउँछन्।  राप्ती नदी किनारमा थुप्रै होटल खुलेका छन्। गैंडा अवलोकनका लागि पर्यटक आउन थालेपछि नदी किनारमा व्यवसाय चलेका छन्। 

गैंडा हेर्न आउने पर्यटकहरूको आकर्षक गन्तव्य चितवन हो। चितवन पुगेपछि गैंडा अवलोकन गरिएन भने यात्रा नै अपूरो हुन्छ। वन्यजन्तु पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो, चितवन राष्ट्रिय निकुञ्ज।  गैंडा हेर्नैका लागि बर्सेनि लाखौं पर्यटक आउँछन्। गैंडा भएरै चितवनको पर्यटन भएको हो। 

गैंडा कूटनीतिक सम्बन्धको माध्यम पनि हो। सरकारले बाह्य देशसँग सम्बन्ध प्रगाढ बनाउन गैंडा उपहार दिने गरिएको छ। पाँच वर्षअघि नेपाल सरकारले चीनलाई दुइटा गैंडा उपहार दिएको थियो। एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई गैंडा उपहार दिएको छ। 

भारतलाई सन् १९८४ मा ४ वटा गैंडा र  १९८७ र १९९० मा गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो। सन् १९९० देखि २००६ सम्म पनि नेपालले विभिन्न देशमा गैंडा उपहार दियो। जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो। राष्ट्रिय निकुञ्जका अनुसार पाकिस्तान, बर्मा र थाइल्यान्डलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांक छ।

गैंडा संरक्षणमा पछिल्लो एक दशक सुखद रह्यो। चोरी–सिकारीबाट गैंडा जोगाउन चुनौती देखिए पनि गैंडाको संख्यामा उल्लेख्य वृद्धि भयो। दुर्लभ वन्यजन्तुको रूपमा रहेको एक सिङ्गे गैंडाको संख्या वृद्धिले संरक्षणकर्मीहरू खुसी छन्। 

चोरी–सिकारीको घटना न्यूनीकरणसँगै संख्या बढाउन चितवन राष्ट्रिय निकुञ्ज सफल भएको हो। ६ वर्षमा नेपालमा १ सय ७ वटा गैंडा बढ्दा चितवनमा ८९ गैंडा बढे। 

नेपालमा १९५० को दशकमा ८ सय  गैंडा थिए। तर, १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा आइपुगेको थियो। त्यसपछि संरक्षणका लागि कार्यक्रम लक्षित गरियो। अहिले नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ। २०१५ मा गरिएको गणनामा ६ सय ४५ थियो। नेपालमा ६ सय ४५ वटा गैंडा थिए। गैंडा संरक्षण क्षेत्रमा ठूलै फड्को मारेको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए। 

सन् १९७३ मा मात्रै सरकारले गैंडा संरक्षणलाई प्राथमिकतामा राखेर चितवन राष्ट्रिय निकुञ्ज निर्माण गरेको थियो। सशस्त्र द्वन्द्वको बेला चोरी–सिकारी बढेको थियो। आव ०५७/५८ मा मात्र ३७ वटा गैंडा चोरी–सिकारीले मारेका थिए। २००५ को गणनामा जम्मा ३७२ मा झर्‍यो। २०६१/६२ मा २५ वटा गैंडा मरेकामध्ये अधिकांश चोरी–सिकारीबाट मारिएका थिए।

त्यसपछि चोरी सिकारी नियन्त्रणको काम तीव्र पारियो। ‘पछिल्लो समय चोरी–सिकारीको घटनामा कमी आउनु, संरक्षणमा स्थानीयको चासो बढ्नु र बासस्थान व्यवस्थापनका कारण गैंडाको संख्या बढाउन सकिएको हो’, सहायक संरक्षण अधिकृत तिवारीले भने, दुर्लभ वन्यजन्तुको संख्या बढ्नु सरक्षण मिलेको सफलता हो। यसले नेपाललाई विश्व सामु पहिचान बढाएको छ।’

खाग तस्करीको लागि गैंडा मारिन्छन्। खागको अवैध व्यापारका लागि चोरी–सिकारीले गैंडा मार्छन्। २०७३/७४ मा पनि २५ गैंडा मरेका थिए। आर्थिक वर्ष ०६२/६३ मा १७, ०६३/६४ मा १५, ०६४/६५ मा १३, ०६५/६६ मा १७, ०६६/६७ मा २४, ०६७/६८ मा १६, ०६८/६९ मा १३, ०६९/७० मा १०, ०७०/७१ मा ११, ०७१/७२ मा ११ र ०७२/७३ मा १४ गैंडा मरेका थिए। सन् २००६ मा गैंडाको चोरी–सिकार शून्यमा झारेकोमा २०७० सालपछि तीनवटा गैंडाको मात्र चोरी–सिकार भएको छ। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले समुदायको अग्रसरताले मात्रै संख्या बढेको बताए। ‘अहिले गैंडा हाम्रो हो भन्ने बुझेका छन्। त्यसैले पनि समुदाय जागेका छन्। समुदाय जागरुक नभएको भए संरक्षण सफल हुन्थेन’, उनले भने, ‘मानवीय क्षतिमा दिइने राहत, लागे जति उपचार खर्चको व्यवस्थाले पनि मानव वन्यजन्तुको द्वन्द्व कम भएपछि संरक्षणमा सफल भएका हौं।’

भारतको असामस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जपछि चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैंडाको संसारकै दोस्रो ठूलो वासस्थान हो। एक सिंगे गैंडा हेर्नकै लागि पर्यटक चितवन आउने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जका कारण यस आसपासमा होटल व्यवसाय सञ्चालित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.