हेर्ने थलो शाही–चिनो

हेर्ने थलो शाही–चिनो
सुन्नुहोस्

पछिल्ला दिनमा नेपाल आउने पर्यटकका लागि नारायणहिटी दरबार एउटा पुग्नैपर्ने गन्तव्यको रूपमा चिनिँदै आएको छ। उक्त संग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ। 

नेपालमा राणाशासनको अन्त्य भएसँगै सुरु भएको शाहवंशका पनि अन्तिम राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रूपमा रहेको नारायणहिटी राजदरबारलाई संग्रहालय बनाएसँगै सर्वसाधारणको लागि खुला गरिएको थियो। 

यो बीचमा लाखौं पर्यटकले उक्त संग्रहालयको अवलोकन गरिसकेका छन्। नेपालका कुनाकुनाबाट काठमाडौं आइपुगेपछि एक पटक दरबार पुग्नैपर्ने माहोल सिर्जना भएको छ। 

शुक्रबार गाईघाटबाट नातिनीका साथमा दरबार हेर्न आइपुगेका ७० वर्षीय खिमबहादुर थापा शारीरिक रूपमा अशक्त नै देखिन्थे। तर, उनको एकमात्र दरबार हेर्ने रहरका कारण परिवारले उनलाई दरबार घुमाउन ल्याएका थिए। थापा भन्छन् ‘त्यत्रो वर्ष नेपाल चलाएका राजपरिवार बसेको ठाउँ कस्तो थियो होला भन्ने लागिराख्थ्यो। त्यही भएर हेर्न आएको। यही हेरेर मर्ने धोको थियो।’

नारायणहिटी दरबार संग्रहालय त्यही दरबार हो जहाँ विक्रम संवत २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी हत्याकाण्ड भएको थियो। दरबार हत्याकाण्डको रहस्य भने अझै खुल्न सकेको छैन। रहस्यलाई थाँती राख्दै उक्त दरबार भने २०६५ सालदेखि सर्वसाधारणको लागि दरबारको ढोका खुला गरिएको थियो।

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरबार हो। नेपालको राजाहरूको १ सय ३५ वर्षसम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै २०६५ असार १ गते राजदरबारबाट राष्ट्रिय संग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलन गरी संग्रहालयको घोषणा गरेका थिए। 

त्यसअघि भवनको मूल खम्बामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो। त्यसको ठीक आठ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्राहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए। नारायणहिटी संग्र्रहालय ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३ सय १८ रोपनी क्षेत्रफल ओगटेको छ।

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले गद्दीत्याग गर्नुअघि मुलुकको शासन सञ्चालन गर्ने मुख्य केन्द्रको रूपमा रहेको दरबारको विषयमा आम नागरिकलाई कौतुहल थियो। 

दरबारलाई संग्रहालयमा परिणत गरी सर्वसाधारणको लागि खुला गरिएसँगै केही कौतुहलता त मेटिएको छ। तर, पनि दरबारसँग जोडिएका कतिपय विषय अझै रहस्यमयी नै छन्। राजतन्त्रको इतिहास, राजपरिवारका जीवनशैली र अन्य कौतुहलता पनि भएकाले अवलोककर्ताहरू देशविदेशबाट नारायणहिटी दरबार पुग्छन्। संग्रहालय अवलोकनका लागि हालसम्म सार्क राष्ट्रबाट संग्रहालय अवलोकनका लागि स्वदेशी पर्यटकको आवागमन बढी भए पनि त्यसको तुलनामा विदेशी पर्यटक कमै मात्र आउने गरेको संग्रहालय व्यवस्थापनको भनाइ छ।

संग्रहालयमा अहिले दैनिक रूपमा करिब २ हजार पर्यटक अवलोकनका लागि पुग्ने गरेको उक्त संग्रहालयका प्रवक्ता पुरुषोत्तम थापाले बताए। थापाका अनुसार विदेशी देशबाट भारतीय पर्यटक सबैभन्दा धेरै आउने गरेका छन्। अहिले संग्रहालयबाट दैनिक डेढ देखि दुई लाखसम्म आम्दानी हुने गरेको छ। अब संग्रहालयमा १७ ओटा कोठा खुल्न बाँकी छ। प्रवक्ता थापा भन्छन्, ‘एकैपटक खोल्नलाई कोठाको बाटो निकाल्नुपर्ने भएकाले हो। दरवार त घर हो पहिला नै म्युजियम त हैन। त्यसैले घरका कोठालाई त्यही ठाउँमा राखेर कोठा अवलोकनका लागि बाटो निकाल्नु परेकाले समय लागेको हो। अब केही समयमा त्यो पनि तयार हुन्छ। बन्दै छ।’

नारायणहिटी दरबारभित्र स्व. श्री ५ त्रिभुवन शाहले निर्माण गर्न लगाएको त्रिभुवन सदनभित्र विक्रम सम्बत् २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार नीराजनलगायत राजपरिवारका सदस्यहरूको निधन भएको थियो।

ऐतिहासिक नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा क्याफेटेरिया–रेस्टुरेन्ट निर्माणको कुरा पनि आयो। बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टलाई संग्रहालयको गेटबाट पश्चिमपट्टि रेस्टुरेन्ट बनाउन अनुमति दिइएको घटना विवादस्पद बनेपछि त्यो अहिले यथावत् रहेको छ। 

यद्यपि संग्रहालय घुम्न आउने पर्यटकलाई पानी, चिया खाने ठाउँसँगै दुई, तीन घण्टा दरबार घुमेर निस्केपछि थकाइ मेट्नका लागि क्याफेटेरियाको महसुस सबैलाई हुने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.