कर्णाली छैन टाढा अब

गतिलो सडक नहुँदा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र रारा पुग्न आन्तरिक तथा बाह्य पर्यटकले निकै सास्ती खेप्नुपर्ने बाध्यता छ। सुर्खेत–दैलेख–कालिकोट–जुम्ला हुँदै मुगुको रारा पुग्न कर्णाली राजमार्गबाहेक स्थल मार्गबाट अन्य विकल्प छैन।
स्तरोन्नति नहुँदा ‘मृत्यु मार्ग’को नामले चिनिने कर्णाली राजमार्ग हुँदै रारा पुग्ने पर्यटकहरू ढुक्कसँग यात्रा गर्न सक्दैनन्। ठाउँ–ठाउँमा पहिरो गएर बाटो अवरुद्ध हुने र दुघर्टना पनि धेरै हुने भएकाले रारा घुम्न जाने पर्यटकहरू हच्किने गरेका छन्।
यही कर्णाली राजमार्गको विकल्पका रूपमा त्योभन्दा सहज, छोटो र स्तरीय बाटो बनाई पर्यटन विकासमा टेवा पुर्याउन रारा राजमार्गको अवधारणाअनुसार यो सडक निर्माण थालिएको हो।
सल्यानको थारमारेदेखि पश्चिम रुकुमको चौरजहारी हुँदै जाजरकोट खलंगादेखि पाँचकाटिया, ब्याउलीढुंगा जुम्लाको डुसिले लेक, टोप्ला, ताम्ती, कुडारी, जुम्ला खलंगा, भुलभुले हुँदै मुगुको ताल्चा भएर रारा जोड्ने दुई सय ६३ किलोमिटरको रारा राजमार्ग (थारमारे–चौरजहारी–जाजरकोट खलंगा–जुम्ला कुडारी–मुगु रारा राजमार्ग) निर्माण थालिएको छ।
देशको राजधानी काठमाडौं, कोसी, मधेस, गण्डकी र बागमती प्रदेशबाट नजिक पर्ने यो सडक बनेमा कर्णालीका जुम्ला र रारा जान धेरै सहज हुने देखिन्छ। खासमा यो बाटो लुम्बिनीदेखि रारा जोड्ने छोटो सडक मार्ग हो। लुम्बिनी आएका पर्यटकलाई दाङ, सल्यान, पश्चिम रुकुम, जाजरकोट, जुम्ला हुँदै रारासम्म पुग्न सहज हुन्छ।
यो बाटो बनेमा अहिलेको भन्दा झन्डै आधा दूरी र समय घट्ने छ। जाजरकोटलाई जुम्लासँग जोड्न र रारासम्म पुग्न सहज त हुने छ नै, पूर्व–पश्चिम राजमार्ग अर्थात् तराईसम्म जोडिन पनि सजिलो हुनेछ।
यो सडक बनेमा कर्णाली प्रदेशको मध्यभागमा रहेको जाजरकोटको पर्यटन, व्यापार र समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने कर्णाली प्रदेशसभा सदस्य राजीव विक्रम शाहको भनाइ छ। यो राजमार्गलाई सरकारले महत्वका साथ निर्माण गर्नुपर्ने उनको माग छ। उनले भने, ‘यस क्षेत्रको पर्यटन विकास र अन्य पूर्वाधार विकासका साथै ब्यापार, व्यवसाय वृद्धिका लागि रारा राजमार्गलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय राजमार्गका रूपमा विकास गरिनुपर्छ।’ यो सडकको केही भागबाहेक धेरै भूभागमा ट्याक खुलिसकेको छ।
जाजरकोट र जुम्लाको सिमाना ब्याउलीढुंगा र डुसीले लेक क्षेत्रमा २० किलोमिटर जति ट्रयाक खोल्न बाँकी छ। जाजरकोट र जुम्ला दुवै तर्फबाट सडक खन्ने काम भइरहेको छ। जुम्लातर्फ इमिल्चा टोप्लादेखि डुसिले लेकतर्फ पूर्वाधार विकास कार्यालय जुम्लाले सडक निर्माणको काम अघि बढाएको छ।
जाजरकोटतर्फ कुशेदेखि ब्याउलीढुंगातर्फ सडक डिभिजन कार्यालय चौरजहारीले सडक निर्माणको काम अघि बढाइरहेको छ। सडक डिभिजन कार्यालय डिभिजन प्रमुख आशुतोष कर्णले रारा राजमार्ग निकै छोटो र सजिलो बाटो छ।
उनले भने, ‘कर्णाली राजमार्गको तुलनामा यो राजमार्ग निकै छोटो र सजिलो हुन्छ। बाटो बनेसँगै आर्थिक गतिविधि बढ्नुका साथै पर्यटकीय दृष्टिकोणले पनि निकै राम्रो हुन्छ। रारा जाने पर्यटकहरूले बाटामा पनि अन्य ठाउँहरूको भ्रमण गर्छन्। चहलपहल पढे सँगै व्यापार बढ्छ। जसका कारण यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खुल्छ।’
सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर छ। जुम्लादेखि रारासम्म ९३ किलोमिटर छ। नेपालगञ्जदेखि सुर्खेत एक सय किलोमिटर गरेर नेपालगञ्ज रारा ४ सय ३५ किलोमिटर दूरी छ।
जबकि सल्यानको थारमारे देखि रारासम्म दुई सय ६३ किलोमिटर मात्र छ। दाङदेखि पूर्वबाट रारा पुग्नेका लागि रारा राजमार्ग बनेमा कम्तिमा एक सय किलोमिटर दूरी छोटो हुनेछ र बाटो पनि सरल र सहज हुनेछ। थारमारेदेखि चौरजहारीसम्म र जाजरकोट खलंगादेखि पाँचकाटियासम्म सडकको स्तरोन्नतिको काम भइरहेको छ।
यो राजमार्गमा केही भाग सडकको नयाँ ट्रयाक खोल्ने, पुरानो सडकको स्तरवृद्धि गर्ने, ग्राभेल गर्ने, पुल बनाउने र कालोपत्रे गर्नेलगायतका विभिन्न स्तरवृद्धिको काम गर्नुपर्ने छ।
६९ किलोमिटर जाजरकोट खण्डको कालोपत्रे र स्तरोन्नतिको काम हेर्ने जिम्मा सडक डिभिजन कार्यालय चौरजहारीको छ।
जुम्ला र मुगु खण्डको १ सय ४१ किलोमिटर सडक हेर्ने क्षेत्राधिकार सडक डिभिजन जुम्लाको छ। ३४ किलोमिटर सल्यान खण्ड र १९ किलोमिटर पश्चिम रुकुमखण्ड सडक डिभिजन कार्यालय दाङले हेर्ने क्षेत्राधिकार तोकिएको छ।
रारा राजमार्ग आयोजनाको अवधारणा अनुरूप विकास नगरिएकोले खण्ड–खण्ड गरेर बजेट विनियोजन गरिएको छ। राजमार्ग आयोजनाका रूपमा विकास गरिए मात्र छुट्टै कार्यालय स्थापना भएर पूरै सडकको जिम्मा लिने व्यवस्था रहेको डिभिजन प्रमुख कर्णले बताए।
उनका अनुसार जाजरकोट खण्डमा मात्र चालु आवमा साढे १४ करोड रुपैयाँ विनियोजन भएर काम भइरहेको छ। जाजरकोट खण्डमा पनि साना÷ठूला १० पक्की सडक पुल बनाउनुपर्ने भएको छ। यो राजमार्गको विस्तृत आयोजना प्रतिवेदन नै नभएकाले कति लागत लाग्छ र कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने एकिन भई नसकेको उनले बताए।
सडक डिभिजन जुम्लाले टोप्ला–त्रिवेणी र ताल्चा–रारा खण्डमा काम गरिरहेको सब ईन्जिनियर वीरेन्द्र रावलले बताए। उनका अनुसार टोप्ला–डुसिले खण्डमा पूर्वाधार कार्यालयले काम गरिरहेको छ। त्यस्तै रारा राजमार्गअन्तर्गत जुम्ला एयरपोर्टदेखि भुलभुलेसम्म तीनवटा पक्की पुल निर्माण हुने भएका छन्।
बजेट व्यवस्थापनका लागि पुल महाशाखामा पेस भई अर्थ मन्त्रालयले सहमति दिन बाँकी छ। जुम्ला रारा सडक खण्डमा करीब १० वटा पक्की पुल बनाउनु पर्ने छ। ताल्चादेखि रारा खण्डमा हाल ग्राभेल, नाला निर्माणलगायतका काम भइरहेको रावलले बताए। बजेट अभावले गर्दा सडकले सोचेजति गति लिन नसकेको उनको भनाइ छ।
सडकको स्तरोन्नति र पुल निर्माणका लागि जुम्ला र मुगु खण्डमा मात्र करिब तीन अर्ब बजेट आवश्यक पर्ने सव ईन्जिनियर रावलले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले रारा राजमार्गलाई आयोजनाकै अवधारणाअनुसार अगाडि बढाइने बताए। कर्णालीवासीको समृद्धिका लागि यो राजमार्ग कोसेढुंगा सावित हुने भएकाले सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।
उनले चुनावी घोषणपत्रमा नै रारा राजमार्गको विकास गरी लुम्बिनी र रारा जोड्ने सवैभन्दा छोटो मार्गको विकास गरी जाजरकोटलाई मुख्य केन्द्रबिन्दुमा राखेर विकास तथा समृद्धि गरिने उल्लेख गरेका थिए।
यो बाटो बनेमा जाजरकोटको दाङ, सल्यान, पश्चिम रुकुम साथै जुम्ला र मुगुसँगको सीधा सम्पर्क कायम हुनेछ। देशकै आर्थिक विकास र समृद्धिमा समेत यो बाटोले महत्वपूर्ण योगदान पुर्याउने छ।
प्रतिक्रिया दिनुहोस !
