प्रतिवेदन भन्छ : मानवीय त्रुटिले तारा एयर दुर्घटना
दुर्घटना भएको करिब ११ महिनामा आयोगले तारा एयरको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो।
काठमाडौं : तारा एयरको विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ। खराब मौसमको जानकारी हुँदाहुँदै भीएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको छ।
तारा एयरको दुर्घटनापछि गठित आयोगले बुधबार अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष थियो।
मौसमी खराबीको समयमा अन्दाजी उडान भर्दा विमान खसेको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनको ३.२ मा लेखिएको छ, ‘यस दुर्घटनाको सम्भावित कारण विमानको टेरेन एभोइडेन्स र चेतावनी प्रणाली (टीएडब्लूएस) बन्द गर्दा मौसम कस्तो छ र डाँडा कति नजिक छ भन्ने जानकारी पाउन सकिएन। यसले गर्दा उचित मार्ग अनुगमन र विमानलाई नियन्त्रण गर्न चालक दल असफल भयो र विमान दुर्घटना भयो।’
आँखाले देखेर भर्ने उडानमा (भीएफआर) मा विमान खराब मौसममा उड्नु हुँदैन भने भिजिविलिटी कम्तीमा ९ किलोमिटर हुनुपर्छ। यस्तै भीएफआर जहाज बादलभित्र पस्न नै नहुने जानकार बताउँछन्। तारा एयरको यो उडानमा खराब मौसममा जहाज उडेको छ भने बादलभित्रबाट नै उडान भरेको रिपोर्टले देखाएको छ। भीएफआर जहाजको बादलसँगको दूरी दायाँबाँया १५ मिटर र तलमाथि ३ सय मिटर टाढा हुनुपर्छ।
यसरी उडान भर्दा उचाइमा अक्सिजनको कमीले चालक दलमा वास्तविक अवस्था (सिचुएसन अवरनेस) को ज्ञानको कमी हुन सक्छ। मतलब पाइलटले अब के गर्ने भन्ने निर्णय लिन सक्दैन। १० हजार फिटमा उडिरहेको जहाज १२ हजार ५ सय फिट पुग्दा अक्सिजनको कमी हुन सक्छ। यस्तै जहाजमा भएको टेरेन एभोइडेन्स र चेतावनी प्रणाली (टीएडब्लूएस)ले जहाजको कुनै डाँडाको नजिक जानेबित्तिकै पुल अप भनेर जानकारी गराउँछ।
तर, तारा एयरको उक्त जहाज खराब मौसमका बाबजुद पनि उड्दा टीएडब्लूएस उपकरकण बन्द भयो। जसले गर्दा चालक दलले कति नजिकै डाँडा छ भन्ने थाहा पाएन र डाँडामा लगेर ठोकेको प्रतिवेदनले देखाएको छ। यस्तै, मानवीय त्रुटिका अन्य कारणमा कम्पनीको विमान सञ्चालनसम्बन्धी मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नगरिएको, बाटोमा मौसम बिग्रिँदै गएको, मुख्य चालक धेरै अनुभवी र सहचालक कम अनुभवी हुँदा दुई जनाबीचमा अनुभवको खाडल भएको, उडानको समयमा कमजोर चालक दल भएको, उपलब्ध नेभिगेसन उपकरणको कम प्रयोग भएको भनिएको छ।
यस्ता दुर्घटना नदोहोर्याउनका लागि टीएडब्लूएसलगायतका उपकरणको प्रयोगलाई अनिवार्य गर्ने, यी उपकरणमा केही समस्या आउने बित्तिकै जानकारी गराउँदा मर्मत गर्नेलगायतका सुझाव दिइएको छ।
तारा एयरको ९ एन–एईटी ट्विनअटर विमान जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकास्थित सानुसरे भिरमा ठोक्किएको थियो। उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना सवार थिए। दुर्घटना भएको करिब ११ महिनामा आयोगले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो।