बाँझो जमिनमा फलफूल खेती

बागलुङ : पछिल्लो समय दैनिक सयौं युवा पुस्ता रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। वैदेशिक रोजगारीमा जाने र बाँकी भएका पनि सहरतिर झर्ने क्रम बढेको छ। गाउँका कतिपय जमिनमा खेती गर्न छाडेपछि वनमाराले ढाक्दै गएको छ।
बागलुङको तमानखोला गाउँपालिकाले खेतीयोग्य जमिनलाई पुनः प्रयोगमा ल्याउन र स्थानीयलाई गाउँमै आयआर्जनसँग जोड्न फलफूल खेतीमा जोड दिएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९÷८० मा बाँझो रहेका जमिनमा फलफूलका बिरुवा लगाउन थालेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए। उनले गाउँघरमा जग्गा बाँझो राखेर रोजगारी र सुविधाको लागि सहर झर्ने स्थानीयलाई गाउँमै स्वरोजगार बनाउनका लागि फलफूल खेतीमा जोड्न लागेको बताए।
तमानखोलामा यस वर्ष ओखर, स्याउ, उन्नत प्रजातिका आरू र किबीका बिरुवा लगाइएको छ। गाउँपालिका अध्यक्ष बुढाका अनुसार चालू आवमा वडा नम्बर ४ मा फलफूलका १५ सय बिरुवा लगाइएको जनाए। ‘पालिकाले किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको हो,’ अध्यक्ष बुढाले भने, ‘पहिलो चरणमा गाउँका खाली खेतीयोग्य जमिनमा ओखर, स्याउ, आरू र किबीका बिरुवा लगाइएको छ।’
व्यवसाय दर्ता गरेर कृषि गरिरहेका ४० किसानले फलफूलका बिरुवा उत्पादन गर्न व्यक्तिगत बारीमा लगाएको अध्यक्ष बुढाको भनाइ छ। कृषि प्राविधिकद्वारा माटो परीक्षण गरेर बाँझो जमिनमा बिरुवा लगाइएको उनले बताए।
तमानखोलाले हिउँदे र बर्खे गरी दुई सिजनमा बिरुवा उपलब्ध गराउने गरी बजेट विनियोजित गरेको गाउँपालिका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए। उनले पहिलो चरणमा हिउँदे सिजनका फलफूलका बिरुवा उपलब्ध गराइएको र जेठ महिनामा बर्खे सिजनमा लगाउने फलफूलका बिरुवा किसानलाई उपलब्ध गराउने बताए। गाउँपालिका अध्यक्ष बुढाले गाउँमा बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि अभियानको सुरुवात गरेको सुनाए।
तमानखोलाको हावापानी अमिलो र फलफूल उत्पादन हुने सम्भावना देखिएकोले विज्ञको सल्लाहमा गाउँपालिकाले फलफूल खेती गर्न किसानलाई प्रोत्साहित गरेको प्राविधिक पराजुलीले बताए।
प्रतिक्रिया दिनुहोस !
