कुकुरको आक्रमणबाट घाइते पर्यटकलाई हेलिकोप्टरबाट उद्धार

कुकुरको आक्रमणबाट घाइते पर्यटकलाई हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

गोरखा : मनास्लु क्षेत्र भ्रमणमा गएका विदेशी पर्यटकलाई कुकुरले आक्रमणबाट घाइते भएका छन्। 

लार्केपासका लागि गएका अस्ट्रेलियन नागरिक ३३ वर्षीया क्रिस्टेन लुइस विल्सनलाई कुकुरले आक्रमण गर्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

टाउको र खुट्टामा कुकुरले टोकेको उनलाई हेलिकोप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

गाउँका भुस्याहा कुकुरले यसअघि पनि दुई जना पर्यटकलाई आक्रमण गरिसकेको चुमनुब्री गाउँपालिका-१ का अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। ‘गाउँमा भुस्याहा कुकुरको बिगबिगी छ’, उनले भने, ‘हिउँ पर्दा भागेर गाउँतिर आएका कस्तुरीहरूलाई मार्छ, कहिले पर्यटकलाई टोकेर हैरान पार्छ। गाउँका भुस्याहा कुकुरले हैरान पारेको छ।’

भुस्याहा कुकुर नियन्त्रण र व्यवस्थापन गर्न धेरैतिर हारगुहार गर्दा पनि कुनै पनि निकायले वास्ता नगरेको स्थानीय पर्यटन व्यवसायी मिङ्मा छिरिङ लामाले जानकारी दिए। ‘दुई महिनाअघि हाम्रै आँखाअघि भुस्याहा कुकुरले कस्तुरी मृगजस्ता महत्वपूर्ण वन्यजन्तुलाई आक्रमण गरेर मारे’, उनले भने, ‘त्यतिबेला पनि मैले सिडिओसावलाई गुनासो गरेँ। उहाँले कुन कुन कार्यालयमा समन्वय गर्नुभयो। एकहप्ताभित्रै नियन्त्रण हुन्छ भनेर आश्वासन दिनुभयो, तर आजसम्म गाउँमा नियन्त्रण गर्न कोही आएका छैनन्।’ 

दुर्गम गाउँको समस्या समाधान गर्न कसैले चासो नदिने उनको गुनासो छ।
वन्यजन्तुको संरक्षण गर्ने जिम्मेवारी भएकाले घरपालुवा जनावर नियन्त्रण गर्ने कार्यक्रम आफूहरूको नभएको सो क्षेत्रमा कार्यरत मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए। 

‘घरपालुवा जनावरको व्यवस्थापनका लागि हामीले सहयोगचाहिँ गर्न सक्छौँ, तर मुख्य जिम्मेवारी भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रको हो’, जिम्मेवारी अन्यत्र पन्छ्याउँदै उनले भने।
पशु विज्ञ केन्द्रले पनि सो जिम्मेवारीबाट पन्छिने प्रयास गरेको छ। 

‘जिम्मेवारी हाम्रो त हो, तर यसबर्ष सो कार्यक्रमका लागि बजेट सक्कियो’, विज्ञकेन्द्रकी प्रमुख डाक्टर सर्मिला कुमाल भन्छिन्, ‘पालिकाले बजेट तथा कार्यक्रम बनाएको खण्डमा प्राविधिक सहयोगचाहिँ गर्न सकिन्छ।’ 

पालिकाले कार्यक्रम बनाएर पेश गर्नुपर्नेमा उनले जोड दिइन्। चुमनुब्री गाउँपालिकाले भने गाउँका कतिपय समस्या स्थानीयस्तरमै समाधान गर्नुपर्ने तर्क गरेको छ। ‘जिम्मेवारीबाट पन्छिन कोही पनि मिल्दैन। सबैको सामुहिक पहलबाट समस्याको समाधान निस्कन्छ’, गाउँपालिकाका प्रमुख निमा लामा भन्छन्, ‘खासमा यो समस्याको मलाई जानकारीसम्म पनि आएको छैन। वडा कार्यालय छ, पशु सेवा शाखा छ, तर कसैले भनेका छैनन्।’ 

गाउँको समस्या त गाउँमै समाधान गर्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए। ‘सबै काममा सरकारको मुख मात्र ताक्नुपर्छ भन्नु पनि हुँदैन। कतिपय गाउँको समस्या गाउँमै समाधान गर्न पनि सकिन्छ’, अध्यक्ष लामाले भने, ‘आ-आफ्नो घरको कुकुर आफूआफूले जसरी व्यवस्थापन गरे पनि भइहाल्छ नि।’

यसैबीच गोरखाको भिमसेन थापा गाउँपालिका-१ को घ्याम्पेसालमा बिहीबार एकैदिन पाँच जनालाई कुकुरले टोकेर घाइते बनाएको छ। 

साँझ पाँच बजेतिर कुकुरको टोकाइबाट पाँचजना घाइते भएका स्थानीय सितल गुभाजुले जानकारी दिए। उनीहरू पाँचै जनालाई एम्बुलेन्समार्फत गोरखा अस्पताल पठाइएको उनले बताए। 

बारपाक गाउँमा पनि कुकुरको टोकाइबाट तीनजना घाइते भएका छन्। बुधबार घाइते भएका उनीहरू गोरखा अस्पतालमा उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.