आगोले जलेर मृत्यु भएका एकै गाउँका चारजनाको सामूहिक दाहसंस्कार
अर्घाखाँची : आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबांगका चारजनाको सामूहिक दाहसंस्कार गरिएको छ । मृतक चारजनाको खाकाबेसीको बघमारे घाटमा सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनालले बताए।
भुमिकास्थान नगरपालिका-२ ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे शोकमा डुबेको छ।
मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका -२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ वेल्वासे टोलका चारैजनाको मृत्यु भएको थियो ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा उपचारको लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।
आगोलागीमा परि घाइते भएका भुमिकास्थान -२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा,५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
आगोलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस