८ वर्षीया बालिकाको निःशुल्क उपचार
बुटवल : ऐरावती गाउँपालिका–४ तिल्केनी प्यूठानकी ८ वर्षीया बालिका सोना सुनार मामाघर बस्छिन्। आमा अनिता सुनार १ छोरा र २ छोरीको पालनपोषणका लागि भारतमा मजदुरी गर्छिन्। आमाबुवाको सम्बन्धमा खटपट आएपछि बुवा साथमा छैनन्। मामाघरकी हजुरआमाको सहारामा उनी बस्दै आएकी छिन्।
वैशाख २० गते सोना घरको बार्दलीबाट खसेपछि टाउकोमा गम्भीर चोट लाग्यो। बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्ने यो परिवारलाई आपत्ति आइलाग्यो। उपचार गर्न लैजाने कसैको आँट भएन। गम्भीर घाइते भएकी बालिकालाई आर्थिक अभावका कारण तीन दिनसम्म घरमै राखियो।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहसँग उनको दुर्घटनाको खबर पुग्यो। अध्यक्ष शाहले लुम्बिनी सिटी अस्पताल बुटवलका सञ्चालक झिमरुक गाउँपालिका–५ प्यूठान निवासी बसन्त जीसीलाई निःशुल्क उपचारका लागि आग्रह गरे।
शाहको आग्रहलाई जीसीले सहजै स्वीकार गरेपछि वैशाख २३ गते राति ती बालिकालाई उपचारका लागि बुटवल पुर्याइयो। गरिबीको छानोमुनि हुर्किएकी बेसहारा सोनाका लागि बसन्त सहारा बने। उनले आफ्नो अस्पतालबाट हुनसक्ने सहयोग गर्ने बचन दिए।
शल्यक्रिया सफल भयो । आईसीयूमा राखेर उनको उपचार गरियो। ६ दिनको उपचारपछि उनी निको भएर घर फर्किइन् । लुम्बिनी सिटी अस्पतालका न्युरो सर्जन डाक्टर टीके सिंहको नेतृत्वमा बालिकाको शल्यक्रिया गरिएको छ। बच्चाको टाउकोमा रगत जमेको थियो। शल्यक्रियासहितको उपचार खर्च, आईसीयू र औषधिसहित गरी भएको झन्डै तीन लाख रुपैयाँ खर्च अस्पतालका सञ्चालक जीसीको नेतृत्वमा पूर्णरूपमा निःशुल्क गरिएको छ।
उपचार नपाएर घरमै छटपटिएकी सोनाले नयाँ जीवन पाएकी छन्। ‘सामाजिक उत्तरदायित्व बहन गरेर बच्चाको उपचार गरेका हौं’, जीसीले भने, ‘उपचारमा सलंग्न डाक्टर र अस्पताल परिवारको पनि साथ मिल्यो र उपचार सम्भव भयो।’