भ्रष्टाचारी विरुद्ध सिन्धुलीमा युवा र विद्यार्थीको प्रदर्शन
सिन्धुली : नक्कली भुटानी शरणार्थी प्रकरण तथा सबैखाले भ्रष्टाचारका मुद्दालाई कुनै दवावविना निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै शुक्रबार सिन्धुलीमाढीमा प्रदर्शन गरिएको छ।
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले शुक्रबार साँझ सिन्धुलीमाढीमा ब्यानर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
राज्यमा भएका विभिन्न प्रकारका अनियमितता, भ्रष्टाचार लगायतका काण्डमा मुछिएका सबैमाथि निष्पक्ष छानविन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सचेत नागरिक एक भएर खबरदारी गर्नुपर्ने संगठनहरूले माग समेत गरेका छन।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेतृत्व सहितको संलग्नता रहेको खुल्दै गएपछि निष्पक्ष छानविनका लागि सरकारलाई कसैको दावाव र प्रभावमा नपर्न समेत आग्रह गरिएको छ।
यस्तो अभियना देशैभरी सञ्चालन हुने भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा उभिन हरेक सचेत नागरिकले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन समेत आह्वान गरिएको वाइसिएल सिन्धुलीका इन्चार्ज चिरञ्जीवी दाहालले बताए।
भ्रष्टाचार देशको साझा दुस्मन भएकाले जसले गरेपनि पार्टीको झण्डा र नारा नबोकी भ्रष्टाचार विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन दाहालले आग्रह गरे।
उनले दोषीलाई कारबाही गर्न सरकार पछि नहटोस् भन्नका लागि सचेत नागरिकको तर्फबाट खबरदारी गर्नुपरेको बताए।