आर्मी पाँचौं स्थानमा उक्लियो, थ्री स्टार ६ खेलमा जितविहीन
काठमाडौं : जिलेस्पी जंग कार्कीको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी क्लबले शनिबार सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई १–० को नतिजामा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ४३औं मिनेटमा जिलेस्पीले गरेको एकमात्र गोल निर्णायक बन्यो। खेलअवधिभर चर्च ब्वाइजमाथि हाबी बनेको आर्मीले दोस्रो हाफमा पहिलो हाफको अग्रता जोगाउँदै तीन अंक जोड्यो।
जितसँगै १७ खेलबाट २४ अंक जोडेको आर्मी लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ३० अंक जोडेको चर्च ब्वाइजले तीन अंक जोडेर शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
शीर्ष स्थानको जावलाखेल युथ क्लबको १७ खेलबाट ३० अंक नै छ।
मछिन्द्रसँग १–० ले हार्यो थ्री स्टार
युटा सुजुकीको निर्णायक गोलप्रेरित मछिन्द्र फुटबल क्लबले च्यासल रंगशालामा थ्री स्टारलाई १–० को नतिजामा पराजित गरेको छ।
सुजुकीले १०औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा थ्री स्टार लगातार ६ खेलमा जितविहीन रह्यो। पछिल्ला ६ खेलमध्ये चार खेलमा बराबरी र दुई खेलमा थ्री स्टारले पराजय भोगेको छ।
जितसँगै साविक विजेता मछिन्द्र १७ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट २५ अंक जोडेर थ्री स्टार चौथो स्थानमा छ।