जंगलको डढेलो बस्तीमा पस्यो, दुई जना घाइते
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिकामा दुई दिनदेखि लगातार सल्किएको डढेलो बस्तीमा पसेको छ। गोलन्जोर-६ धुसुनी माथिको जंगलको डडेलो डढेलो बस्तीमा पस्दा स्थानीय हरि बिसुंखेको घर जलेर नस्ट भएको छ।
प्रहरीका अनुसार जंगलको डढेलो बस्तीमा पस्दा निभाउने क्रममा शनिबार दुई जना घाइते समेत भएका छन्। गोलन्जोर गाउँपालिका-७ को राताटार गाउँस्थित लालुपाते सामुदायिक वनको जंगलमा शुक्रबारदेखि लागेको आगो बस्तीमा पस्दा निभाउने क्रममा २६ वर्षीया बिनिता राई र ४८ वर्षीया मैयादेवी श्रेष्ठ घाइते भएका हुन्।
राईको दुवै हात र टाउकोमा आगोले पोलेको छ। उनको शुभजीवन अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको र श्रेष्ठको शुभजिवन अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जिवी दाहालले बताए। राईको अवस्था गम्भीर छ। राई ग्वाल्टार स्वास्थ्य चौकीका ल्याव टेक्निसियन हुन्।
त्यस क्षेत्रमा अहिले पनि भीषण आगलागी भइरहेको छ। सिन्धुली र मन्थली रामेछापबाट दुई वटा दमकलको सहायतामा प्रहरी र स्थानीयले आगो निभाउने प्रयास भएपनि सफल हुन नसकेको बताइएको छ।
गोलन्जोर-३ को सान्नेपाखाबाट सल्किएको डढेलो दुई दिनमा वडा नम्बर ६ को धुसुनी हुँदै वडा नम्बर ७ को राताटारसम्मको जंगल सखाप भएको स्थानीय गौरब कार्कीले जानकारी दिए।
डढेलोका कारण गोलन्जोरको सान्नेपाखा, नागपोखरी बस्तीको खानेपानी पाइप जलेर नष्ट भएको छ। सुदामे, च्यानडाडाको बस्ती समेत जोखिममा परेका छन्। कात्तिके, भदौरे, ओख्ले, रिप, धनसिङ्हडाँडा, पात्लेटार क्षेत्रमा समेत जोखिम बढेको छ।
जिल्लाका दर्जनौं सामुदायिक वनमा डढेलो लागेको छ। जिल्लामा डढेलोका कारण हालसम्म एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।