भ्रष्टाचार नियन्त्रणमा साथ

इजलास

भ्रष्टाचार नियन्त्रणमा साथ
सुन्नुहोस्

आफ्नो देशको नागरिकलाई नागरिकता त्याग्न लगाएर अर्को देशमा पठाउने प्रयास गर्नेहरू देशद्रोही हुन्, गिरोह हुन्। यो प्रकरण मात्रै होइन सबै घटनामा प्रहरीलाई अनावश्यक दबाब नदिइकन स्वतन्त्र ढंगले छानबिन गर्नु दिनुपर्छ।

अहिलेको चर्चित विषय नै हो नक्कली शरणार्थी प्रकरण। शरणार्थीलाई पुनर्बास गर्दा भएको भ्रष्टाचारको फाइल खुलेको छ, अनुसन्धान भइरहेको छ। यसमा पूर्वमन्त्रीदेखि सचिवसहित विभिन्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यो सरकार र प्रहरीको सकारात्मक कदम पनि हो। यसको फाइल खोलेर सरकारले साँच्चिकै भ्रष्टाचार नियन्त्रण गर्न खोजेको हो भने त्यसलाई सबैले समर्थन गर्नुपर्छ। 

भ्रष्टाचार नियन्त्रणको कुरामा एमालेको सधैंसाथ रहने छ नै। किनकि कानुनी रूपमा विधिवत् ढंगले सुशासन कायम गर्न हाम्रो पार्टीको सधैं समर्थन रहँदै आएको पनि छ। तर, हरेक घटनामा हामीलाई हिलो छ्याप्ने प्रयास भइरहेको देखिन्छ। त्यो भने पार्टीले सहने कुरै भएन। त्यस्ता कुराको भने एमालेले सधैं प्रतिवाद नै गर्नेछ।

पछिल्लो घटना नक्कली शरणार्थीको विषय छ यसमा पनि हाम्रो पार्टीका सचिव टोपबहादुृर रायमाझीमाथि अनुसन्धान गर्नुपर्ने देखिएपछि पुर्जी जारी भयो। आशंका गरेका व्यक्तिलाई अनुसन्धान गर्न पाइन्छ। त्यो कानुनले नै दिएको अधिकार पनि हो। कानुनी राज्य सञ्चालनमा एमालेको सधैं साथ हुन्छ नै। अनुसन्धानमा सघाउन पार्टीले पनि उहाँलाई सम्पर्कमा रहेको समयमा भनेकै हो। अनुसन्धान किनारा नलागेसम्म उहाँलाई पार्टीले निलम्बन पनि गरेको छ। तर, अझै पनि उहाँ पार्टी र अध्यक्षज्यूकै सम्पर्क र संरक्षणमा हुनुहुन्छ भन्ने कुरा बाहिर आइरहेको छ। म यो कुराको खण्डन गर्छु। यो आरोप मात्रै हो। 

यस काण्डमा अन्य केही व्यक्तिको नाम आइरहेको छ किन तिनीहरू समातिएका छैनन् ? के त्यहाँ दबाब छ ? प्रहरीलाई मेरो प्रश्न छ उनीहरूलाई समाउने मापदण्ड तयार भएको छैन ? कानुन सबैलाई एकै हुनुपर्छ। अहिले सार्वजनिक भएको नक्कली शरणार्थी प्रकरण त भ्रष्टाचार मात्र होइन। यो एक किसिमको देशद्रोह नै हो। 

आफ्नो देशको नागरिकलाई नागरिकता त्याग्न लगाएर अर्को देशमा पठाउने प्रयास गर्नेहरू देशद्रोही हुन्, गिरोह हुन्। यो प्रकरण मात्रै होइन सबै घटनामा प्रहरीलाई अनावश्यक दबाब नदिइकन स्वतन्त्र ढंगले छानबिन गर्नु दिनुपर्छ। दोषीलाई कारबाही हुनुपर्छ। निर्दोष फस्नु हुँदैन। दोषी उम्कनु हुँदैन। जसरी यो केस अगाडि बढेको छ यसलाई टुंगोमा पुर्‍याउनु पर्छ। लहरा तानेर मात्रै हुँदैन जरै उखेल्नुपर्छ। 

पछिल्लो समयमा यही घटनालाई लिएर पुराना दल सबै भ्रष्ट हुन्, काम नलाग्ने हुन् भन्ने पनि गरिन्छ। यो गलत हो। यसरी मुछ्नु हुँदैन। गणतन्त्रवादी सबै भ्रष्ट हुन् ? लोकतन्त्रवादी सबै भ्रष्ट हुन् ? जसले पञ्चायत फाल्यो, राजा फाल्यो, सामन्तवादको अन्त्य गर्‍यो, संविधान ल्यायो त्यो कुरा पनि सबैले बुझ्न जरुरी छ। पार्टीभित्र कुनै व्यक्ति शक्तिको आडमा अपराध गर्न घुसेको पनि हुन सक्छ। त्यसलाई पार्टीले समयमै किनारा लगाउनुपर्छ। 

हरेक व्यवस्थामा कमी, कमजोरीहरू छन्। तर, सबै पार्टी र व्यक्ति गलत हुन् भनेर हतारमा विकल्प खोजे कमजोरी हुन सक्छ। बिना कुनै गन्तव्य, सिद्धान्त, लक्ष्य गरिने यस्ता हर्कतले क्षणिक लाभ हुन्छ। तर, यसले मुलुकलाई अस्थितरता तर्फ धकेल्छ। भ्रष्टाचार नियन्त्रण गर्नु राम्रो कुरा हो। यो अभियानलाई नकारात्मक पाटोबाट बचेर टुंगोमा लानुपर्छ। भ्रष्टाचार नियन्त्रणमा सबैको साथ आवश्यक छ।

(गुरुङ, नेकपा एमालेका उपमहासचिव हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.