ओखलढुंगामा सडक अलपत्र पार्ने ठेकेदार सांसद कान्छाराम र रामहरि खतिवडाविरुद्ध प्रदर्शन
ओखलढुंगा: सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पार्ने ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङविरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् ।
यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए पनि ठेकेदारलाई काम लगाइएको थिएन । कारवाही गर्न खोज्दा प्रशासन कार्यालयलाई समेत राजनीतिक पहुँचका भरमा तामाङले उल्टो दबाब दिँदै आएका थिए ।
सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबरसहितको तस्बिरको ब्यानर बोकेर विरोध गरेका हुन् । प्रर्दशनमा ३ सय स्थानीयले राजमार्गमा प्रदर्शन गरेका छन् ।
आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारे । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो ।
पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो ।
आन्दोलनमा उत्रिएका सयौं स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका प्रमुख तामाङको विरोधमा नाराबाजी गरेका छन् । उनलाई बारम्बार संरक्षण गरेको भन्दै ओखलढुंगाका प्रतिनिधि सभाका सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदिप सुनुवारविरुद्ध समेत आक्रोश पोखेका थिए ।
सदरमुकाममा स्थानीयको आन्दोलन चर्किएपछि प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले सामाजिक सञ्जाज फेसबुकमार्फत् दोषी ठेकेदारमाथि कारवाही गर्न र जनताको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । खतिवडाले आन्दोलनमा समर्थन रहेको उनि उल्लेख गरेका छन् । स्थानीयले भने उनीमाथि ठेकेदार संरक्षण गरेको आरोप लगाएका छन् ।
ठेकेदार कान्छाराम रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय प्रतिनिधिसभाका सांसद हुन् । उनको ठेक्काको काम स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले गर्दै आएका थिए । काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत पाएका छैनन् ।
सडक निर्माण तत्काल सुरू गरी सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।