ढोरपाटनमा १२ नाउर ६ झारलको सिकार

ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छालामात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।
बागलुङ : ढोरपाटन सिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो याममा १२ वटा नाउर र ६ वटा झारलको सिकार भएको छ। ढोरपाटन सिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामका लागि १२ वटा नाउर र ९ वटा झारलको कोटा निर्धारण गरेको थियो। तर, दोस्रो याममा कोटाभन्दा तीन वन्यजन्तुको कम सिकार भएको छ। हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामध्येका तीन वटा झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।
प्रमुख संरक्षण अधिकृत कँडेलले दोस्रो याममा नेपाल वाइल्ड लाइफ एडभेन्चर आउटफिटरसमार्फत अमेरिकी नागरिक स्टेफेन मार्क भानले फागुने ब्लकमा एक नाउर र एक झारलको सिकार गरेको जानकारी दिए।
यस्तै हिमालयन वाइल्डलाइफ आउटफिटर्समार्फत अमेरिकी नागरिक चाल्र्स हेरोल्ड वेकलले बार्से ब्लकमा एक नाउर, ट्राक्स ऐन ट्रेल्समार्फत क्यानेडियन नागरिक ब्राएन एडम हुकले घुस्तुङमा एक नाउर र एक झारल, ग्लोबल सफारिजमार्फत हंगेरियन नागरिक मिस्टर जेसोल्ट डेनिस कुटसले घुस्तुङ ब्लबमा एक नाउर र एक झारल र फ्रोन्सेली नागरिक म्रलक्स फ्रान्कोल्स मार्सेल पिरर सिग्नोलसले सुनदह ब्लकमा एक नाउर र एक झारलको सिकार गरेका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।
सुनदह ब्लकमा ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेक्समार्फत पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएलले एक नाउरको सिकार गरेका छन्।
दोगाडी ब्लकमा नेपाल ट्राभल एक्पेडिसनमार्फत पोल्याडका नागरिक बार्टोसिक क्लाउडियसले एक नाउर र रसियन नागरिक सामसोनभ कोनस्टान्टिनले एक नाउर र गुस्तुङ ब्लकमा एक झारलको सिकार गरेका छन् भने स्पेनिस नागरिक मेरिनो जिमेनेज जोसेले बार्से ब्लकमा एक नाउर र गुस्तुङ ब्लकमा एक झारलको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।
हिमालयन सफारिजमार्फत तीन जना अमेरिकन नागरिकहरू राइट जेआर, ब्रान्डन वेड गार्डनर र स्टिओहेन रोल्यान्ड मिल्सले दोगाडी ब्लकमा दुई नाउर र सेङ ब्लकमा एक नाउरको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। उनीहरूले सेङ, सुनदह र गुस्तुङमा एक–एक गरी तीन झारलको सिकार गर्न नसकेको अधिकृत कँडेलले बताए।
विभागले फागुन महिना सिकारका लागि पेसेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी सिकारीहरूले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए।
यसपटक सिकारीहरूले एउटा नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजार रुपैयाँसम्म राजस्व तिरेको अधिकृत कँडेलले बताए। अघिल्लो (पहिलो) याम (असोज–मंसिर) मा एउटा नाउरको २० लाख ५ हजार र झारलको ६ लाख रुपैयाँ राजस्व बुझाइएको थियो। सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ। यस वर्षको पहिलो सिजनमा ८ नाउर र ६ झारलको सिकार कोटा निर्धारण गरिए पनि ७ नाउर र ५ झारलको मात्र सिकार भएको थियो। पहिलो याममा ७ नाउर र ५ झारलको सिकार भएको थियो।
ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छालामात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।
सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
