घर फर्किए पुष्पा र अञ्जली, एक्लै भए लालु

घर फर्किए पुष्पा र अञ्जली, एक्लै भए लालु
गैंडाका बच्चा पुष्पा र अञ्जलीसँग टहलिँदै लालबहादुर महतरा । तस्बिर सौजन्य : चितवन राष्ट्रिय निकुञ्ज

ट्रकमा रहेको खोरमा कसैले राख्न नसकेपछि आफ्नै इसारामा उनीहरू ट्रकमा चढेको दृश्य देखेर लालु भक्कानिए।

चितवन : वन्यजन्तु प्राविधिक लालबहादुर महतरा शनिबार रातभरि निदाउन सकेनन्। किनकि भोलिपल्ट उनका दुई साथी घर फर्किंदै थिए। बिहान झिसमिसेको उज्यालोसँगै महतराको अनुहार मलिन थियो। माउबाट छुट्टिएका दुई गैंडाका बच्चा दिदीबहिनीजस्तै थिए। एउटाको नाम पुष्पा र अर्को अञ्जली। आमाले छोडेर टुहुरो बनेका गैंडाका बच्चा लालुलाई छोडेर जंगल जाँदै थिए, त्यो पनि कहिल्यै नफर्कने गरी। बिदाइ हुने क्षणको कल्पनाले उनी भावुक थिए। उनलाई लाग्थ्यो, ‘भोलिको बिहान कहिल्यै नआए हुन्थ्यो।’

माउको माया पाउन नसकेका यी दुई गैंडाका बच्चालाई उनले माया दिएका थिए। महतरा हरेक बिहान दुवै गैंडा बाहिर निस्कने बेला ढोकामा पर्खिन्थे। उनले बोलाएपछि लुरुलुरु आउँथे। उनैले जंगल डुलाउँथे, नुहाइदिन्थे। तर, आइतबार यो भएन। ‘मेरो बोली सुनेपछि पछिपछि लाग्थे, जतिबेला पनि सँगै हुन्थे, अहिले शून्य भएको छ,’ लालुले भावुक हुँदै भने।  

पुष्पा र अञ्जलीलाई जंगलमा छोड्ने खबर सुनेदेखि लालु निराश थिए। प्राकृतिक बासस्थानमा छोड्ने भनेपछि तयारी बिहानैबाट थियो। तर, पुष्पा र अञ्जली ट्रकमा चढ्न मानेनन्। ट्रकमा रहेको खोरमा कसैले राख्न नसकेपछि लालुले नै इसारा गरेपछि चढे। यो दृश्य सहन लालुलाई निकै कठिन थियो। 

ट्रकमा राखेपछि लालु उनीहरूसँगै बसेर जंगल गए। ट्रकबाट झारेपछि पुष्पा र अञ्जली जंगलबाट करिब दुई सय मिटरसम्म सँगै गए। एकैछिन बसे फेरि चर्दैचर्दै जंगल छिरे। लालु टोलाएर हेरिरहे। उनको वाक्य अड्कियो। कसैसँग बोल्न सकेनन्। अनि मन अमिलो बनाउँदै फर्किए। 

आफूसँग अघिपछि पुष्पा र अञ्जली आइतबार लालुसँग थिएनन्। उनीहरूको  बिदाइले लालु दिनभर उदास थिए। आफ्नो सन्तान जस्तै गरेर हुर्काएका गैंडाका बच्चा जंगलमा छोडेपछि उनलाई शून्य लागेको छ। के गर्दै होलान्, के खाँदै होलान् ? भन्ने कुरा दिमागमा खेलिरहेको छ। उनीसँग अर्को गैंडाको बच्चा पूजा छ। उसैलाई हेरेर मन बुझाएका छन्। ‘यत्रोवर्ष सँगै बसियो, आफ्नो सन्तानभन्दा बढी माया गरेर हुर्काएँ, नरमाइलो त लागिहाल्छ नि’ लालुले भने, ‘जंगलमा राम्रोसँग बसिदिए हुन्थ्यो। उनीहरूलाई केही नहोस्, त्यसैमा खुसी हुन्छु।’ 

दुईबीचको उमेर अन्तर १५ महिनाको छ। यी दुवैका माउ भने अलग–अलग हुन्। यी दुई गैंडा बिहानदेखि बेलुकासम्म छुट्टिँदैनथिए। आफ्नो सन्तानभन्दा बढी माया गरेर हुर्काएका थिए लालुले पुष्पा र अञ्जलीलाई। नवलपरासीको तमासपुरमा माउबाट छुट्टिँदा पुष्पा ७ दिनको थियो। अञ्जली १५ दिनको। जन्मिएको एक सातामै गत पुसमा माउबाट अलग भएपछि पुष्पालाई २०७७ माघ ३ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने तमासपुरको घना जंगलबाट उद्धार गरिएको हो। अञ्जलीलाई जन्मिएको एक सातामा गत वर्षको चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको कुँजौलीबाट उद्धार गरिएको हो। 

‘गैंडा जंगलमा गएपछि लालबहादुर टोलाएका थिए केही बोल्नै सकेनन्,’ निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भने, ‘जनावर भएपछि मान्छेको माया पाएका थिए। आफ्नो सन्तानको बिदाइमा डुबेका अभिभावक जस्तै देखिएका थिए।’ उनका अनुसार गैंडाको स्वास्थ्य परीक्षण, शारीरिक अवस्था हरेर जंगल छोडिएको हो। 

माउबाट अलग भएका गैंडाका बच्चालाई उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखेर हुर्काइएको हो। पुष्पालाई ३७ महिना र अञ्जलीलाई ३० महिना हुर्काएपछि जंगल छोडिएको हो। प्राकृतिक बासस्थानमा बाँच्न सक्ने भएपछि निकुञ्जमा छोडिएको डा. श्रेष्ठले बताए। ‘जंगली अवस्थामै बस्न सक्ने भएपछि विभागको निर्णयअनुसार जंगलमा छोडिएको हो,’ निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने, ‘शारीरिक अवस्था, स्वास्थ्य परीक्षण गरेर छोडेका हौं।’

पुष्पा र अञ्जलीलाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.