भाँचिएको मन, शालीन विद्रोह

पुराना नेतामाथि जनताको भरोसा टुटेको समय हो यो। शालीन संवैधानिक विद्रोह हो। हुनु जरुरी थियो, भयो। यतिबेला पुराना पार्टीका युवा नेतासमेतको सातो गएको छ।
ठूला दलका ठूला नेताहरू हालै सम्पन्न उप–निर्वाचनको नतिजा सुनेर झसंग भए रे। दरखास्त खुल्नुभन्दा ठीक अघिसम्म स्वर्णिम वाग्ले नेपाली कांग्रेसको युवा नेताका रूपमा परिचित थिए। अघिल्लो निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने मान्छे अकस्मात पार्टी छाडेर किन हिँड्यो ? केही बुझेको, केही गरौं भन्ने सोच भएको र किञ्चित स्वाभिमान पनि भएको एउटा युवक किन पलायन भयो ? पार्टीका युवा र जुझारु नेताहरूलाई माखा सरी पनि नगन्ने नेतालाई ‘तहल्का पिटेपछि’ बल्ल होस् आयो।
देशमा प्रजातन्त्र आएको ३२ वर्षसम्म निरन्तर एउटैले अवसर लिएपछि अरू अथक योद्धा त्यसै सकिने भए। नेताको त्यही झस्काइ पनि क्षणभंगुर हो। शीर्षस्थ नेताले गुमाउनुपर्ने केही पनि छैन यहाँ। उनले जीवनभर मनग्गे पाए, मनग्गे खाए, मनग्गे सुख र शक्तिको भोग गरे। उनको सुखको मूल्य अकिञ्चन नेपाली जनताले तिरे, देशले तिर्यो। ठूला दलका नेताहरू सुध्रिन कठिन छ। कदाचित सुध्रे पनि सम्हाल्न कठिन छ। नेटो काटिसकेका बटुवा हुन् उनीहरू। उनीहरू सत्कर्ममा फर्के भने पनि पवित्रताको दाबी गर्ने नैतिक आधार गुमिसकेको छ।
पछिल्लो निर्वाचन परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीले अकस्मात हासिल गरेको लोकप्रियताको प्रतिफल होइन। उसको त यो प्रवेश परीक्षा हो। मुख्यकुरा
‘जेल नेल भोगेको नेता पो नेता’ भन्ने भाष्य अब समाप्त भयो। जेल तोडेर भागेको नेताका वीरगाथा सुनेर कोही प्रभावित हुनेवाला छैन यहाँ। अब सशस्त्र विद्रोहले स्थापित गरेका उपलब्धिको गणना गरेर मुट्ठीभर भोट पाउन पनि मुस्किल हुनेछ। यो जनजीविकाको सवालको जमाना हो। गुणस्तरीय शिक्षा, रोजगारी, स्वाभिमानयुक्त मानवीय जीवन र राष्ट्रिय गौरवको जगेर्ना जसले गर्ला, उसैको फलिफाप होला। अब गफ, हँसिमजाक र लफ्फाजी गरेर मात्र आकर्षक छवि निर्माण हुँदैन। रास्वपा अविकल छ, किन्तु अविकार छैन। रास्वपा पनि यही समाजभित्रबाट निर्माण भएको हो। उसले आफ्नै सदस्यहरूलाई चिन्न बाँकी छ।
रास्वपा स्वयंको अनुहार स्वयंसँग परिचित हुन बाँकी छ। अहिले रास्वपा बाल्यावस्थामा छ। केही समयका लागि उसका गल्तीहरूलाई नियतबस नभई भूलबाट भएको भनेर क्षमा पनि प्राप्त हुनेछ। परन्तु चार पाइला हिँडेपछि पनि गल्ती दोहोरिन गयो भने किमार्थ क्षम्य हुने छैन। नेपाली जनता माया गर्नमा मात्र होइन, तिरस्कार गर्नमा पनि उत्तिकै सिपालु छन्। रविको पार्टीलाई भविष्यको सपना देखाउने छुट छैन।
राजनीति खाने भाँडो होइन। यो रामरमाइलो गर्ने साधन पनि होइन। राजनीति लोकमंगलका लागि उपयोग गरिने उपकरण मात्र हो। राजनीतिलाई लोकहितका खातिर ‘सत्यम्, शिवम् र सुन्दरम्’को साधन बनाउनु जरुरी छ। इमानदारी बिनाको राजनीति फगत ‘खाऊ, पिऊ र मोज गर’को पिपासामा सीमित हुनेछ। पुराना राजनीतिक दलका नेताहरू जानेर या नजानेर आन्तरिक एवं वाह्य पिपासामा फस्दै गए। रविको पार्टीले कस्ता खुट्टाले टेक्ला, कस्तो दिमागले सोच्ला र कस्तो मुखले बोल्ला ? पार्टीको हृदयको हरेक स्पन्दनमा इमान र कर्तव्यशीलताको प्रेरणा कस्तो होला ? यी र यस्तै कुरामै पार्टी र देशको भविष्य निर्भर रहनेछ।
अहिले एउटा अनिर्णीत उन्मादको दौरमा छ रास्वपा। पार्टीको आवाज बृहत् भइसक्यो किन्तु संगठन छैन। संगठन दिगो राख्न आर्थिक स्रोतको आवश्यकता पर्नेछ। आर्थिक स्रोत जुटाउने सिलसिलामा अनेकौं ‘कम्प्रोमाइज’ गरिने सम्भावनालाई नकार्न सकिन्न। पार्टीमा एउटै व्यक्तिको प्रभुत्व र हैकम चल्ने सम्भावना प्रबल छ। रविलाई आफू त्यस्तो हैकमवादी होइन जस्तो त लाग्ला नै। परन्तु उनले ‘नो नट अगेन’ भनेर लल्कारेका बुढा नेताहरूले पनि आफू हैकमवादी भएको कुरा त कहाँ स्वीकारेका छन् र ! ‘जेल नेल भोगेको नेता पो नेता’ भन्ने भाष्य अब समाप्त भयो ।
प्रतिक्रिया दिनुहोस !
