राजनीतिको अपराधीकरण

राजनीति भनेको सेवा हो, पवित्र कर्म हो। हुनुपर्छ। नेपाली जनताले देखेको र भोगेको राजनीति भने ठीक उल्टो छ-देश र जनतालाई ठग्ने। नेपाली राजनीति केवल एउटै कुरामा केन्द्रित छ-सत्ताको लुछाचुँडी र शक्ति आर्जन।
राजनीति भनेको सेवा हो, पवित्र कर्म हो। हुनुपर्छ। नेपाली जनताले देखेको र भोगेको राजनीति भने ठीक उल्टो छ-देश र जनतालाई ठग्ने। नेपाली राजनीति केवल एउटै कुरामा केन्द्रित छ-सत्ताको लुछाचुँडी र शक्ति आर्जन। त्यो सत्ता र शक्ति देश र जनताका लागि नभई आफ्नै लागि भइरहेको छ। भनिन्छ नि-सत्ता र शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ। हो, नेपाली राजनीतिकर्मी सधैं सत्तामा मात्रै जाने एकमात्रै ध्याउन्न हुनुको कारणै आफू शक्तिशाली बन्ने भन्ने नै छ। पछिल्ला घटनाक्रमले त नेताहरू सत्ता र शक्तिमा हुँदा केसम्म गर्न पछि पर्दैनन् भन्ने पटाक्षेपै गरिदियो। नेपालीलाई अनागरिक बनाएर अमेरिका उडाउन राज्य संयन्त्रकै दुरुपयोग गर्न स्वयं गृहमन्त्री र मन्त्रीहरूको संलग्नताका तथ्यहरू भेटिनु राजनीति केवल राजनीति नभएर अपराध भइरहेको प्रमाण हो।
राजनीति भनेको पैसा कमाउने सजिलो माध्यम भएको वा नेताहरूले बनाइएको उदाहरण पनि हो यो। हुन पनि पुख्र्याैली सम्पत्ति नभएका, स्वआर्जन नभएका र उद्यमधन्दा केही नगरेका नेताहरूको ठाँटबाँटपूर्ण जीवनशैली अपनाउन आवश्यक आर्थिक स्रोत अपराधहरू रहेछन् भन्ने पनि देखिएको छ। हुने काम पनि रोक्ने र बार्गेनिङ गर्ने, नहुने काम पैसाका आधारमा गर्ने कर्मचारी र तिनलाई संरक्षण गर्ने नेतृत्वले देशलाई ‘लुट्न सके लुट’ शैलीमा नै उत्रनु मुलुक पिछडिनुको मूल कारण हो। यो नैतिकताविहीन हर्कतमात्रै नभएर ठूलो ठगी र महाअपराध हो। यसको मूल कारण भने राजनीतिमा नैतिकताकै खडेरी हो। राजनीतिलाई लाजनीति बनाएर भ्रष्टाचार र अपराधहरू भइरहेका हुन्। नेता, सांसद र मन्त्रीहरूको व्यापारिकमात्रै नभई आपराधिक साँठगाँठ हुनु देशलाई कानुनी राज्यबाट असफल राज्य बनाउनु हो।
सिद्धान्त, विचार, निष्ठा, इमान, नैतिकता र जनताप्रति उत्तरदायित्वविहीन राजनीतिकै प्रतिफल घुसखोरी, कमिसन, ठगी, तस्करी र अपराध हुन्। श्रम वा इलमधन्दा नगरी सम्पत्ति आर्जन गर्ने र विलासी जीवन प्रतिस्पर्धा राजनीतिमा जुन देखा परेको छ, त्यो महारोगले समाजलाई भित्रभित्रै बिरामी पारेको छ र खोक्रो बनाएको छ। त्यसैले नै सामाजिक क्षेत्र उस्तै गरी भ्रष्ट हुन थालेको छ, आर्थिक क्षेत्र त्यसैको साइड इफेक्टले चौपट छ। मूल कुरा भने फेरि पनि देशको नेतृत्व गर्ने राजनीतिसँगै जोडिन्छ। मूल्य, मान्यता, मर्यादा र सुसंस्कृतिसहितको उन्नत समाज निर्माण गर्न पनि राजनीति सङ्लो हुनुपर्छ। इलमशीलता विकास गर्दै अर्थतन्त्र उकास्न कानुनी राज नै चाहिन्छ, त्यसका लागि पनि राजनीति सङ्लो हुनुपर्छ। नेपाली राजनीति सङ्लो बनाउन सामान्य शुद्धीकरणमात्रै पुग्दैन, ठूलै उलटपलट गर्नुपर्छ। त्यो पनि राजनीतिकर्मीबाट मात्रै सम्भव छ।
प्रतिक्रिया दिनुहोस !
