निजीका पुस्तकमा कमिसनको खेल

निजीका पुस्तकमा कमिसनको खेल
तस्बिर : दीपेन श्रेष्ठ

आधारभूत तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ। तर स्थानीय तहहरूले पनि निजीका पुस्तक र विद्यालयहरूमा अनुगमन गर्न सकेका छैनन्।

धनगढी/वीरेन्द्रनगर : धनगढी उपमहानगरपालिका— २ मा रहेको युनिक बोर्डिङ स्कुलले यसपालि कक्षा १ देखि ७ सम्मका सबै पुस्तक परिवर्तन गर्‍यो। गत वर्ष उसले एसिया पब्लिकेसन र युनिक पब्लिकेसनको पुस्तक लगाएकोमा यसपालि १२ प्रकारका पुस्तक ग्रिन पब्लिकेसनका लगाएको छ।

एक पुस्तक व्यवसायी भन्छन्, ‘युनिक बोर्डिङ स्कुलले आफूले लगाएको पब्लिकेसनका पुस्तक सार्वजनिक नै गरेन। युनिक बोर्डिङका अधिकांश अभिभावकले धनगढीको पार्कमोडमा रहेको सानबी पुस्तक पसलबाट मात्र पुस्तक किने।’ एक मात्र पुस्तक पसलबाट किन्न लगाए मोनोपोली हुने भएकाले यस्तो गरिएको हो। धनगढीकै सार्वजनिक गुठीअन्तर्गतको चर्चित ऐश्वर्य विद्या निकेतनले पनि यसपालि कक्षा ९ र १० का सामाजिक, विज्ञान र गणित परिवर्तन गर्‍यो। ऐश्वर्य विद्या निकेतनका सहप्रधानाध्यापक सञ्जय पन्त भन्छन्, ‘कक्षा १० को पाठ्यक्रम परिवर्तन भयो। त्यसैले सिरिज मिलाउनका लागि कक्षा ९ का पनि तीन पुस्तक परिवर्तन गरिएका हुन्।’

ऐश्वर्यले एक वर्षमै पुस्तक परिवर्तन गरेको हो। ऐश्वर्य विद्या निकेतनले गत वर्ष ओसिस पब्लिकेसनको गणित, टाइम्सको विज्ञान र रिडमोरको सामाजिक लगाएकोमा यसपालि परिवर्तन गरेर अर्कै पब्लिकेसनको लगाएको हो। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीका चर्चित र विद्यार्थी संख्या बढी अध्ययन गर्ने संस्थागत (निजी) विद्यालयहरूले हरेक वर्ष पुस्तक परिवर्तन गर्दै आएका छन्।

धनगढीको अर्को ठूलो संस्थागत विद्यालय स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले यस वर्ष पब्लिकेसन परिवर्तन नगरे पनि, सोही पब्लिकेसनमा लेखक परिवर्तन भयो भनेर १ कक्षादेखि १० सम्मका सबै पुस्तक परिवर्तन गरेको छ। उसले एलायट पब्लिकेसनकै पुस्तक लगाए पनि अभिभावक भने पाठ्यक्रम परिवर्तन भएको भन्दै नयाँ किताब किन्न बाध्य भए।

गुनासो गर्दै एक अभिभावक भन्छन्, ‘गत वर्षका पुस्तक पढेपछि नयाँ बिक्री हुँदैन भनेर यस्तो गरिएको हो। कसैले पब्लिकेसन नै फेरेर परिवर्तन गरे भने कसैले राइटर परिवर्तन भएकाले पनि नयाँ पुस्तक किन्न लगाए।’

विद्यालयका प्रधानाध्यापक रामजी हमालले भने आफूहरूले किताब परिवर्तन नगरेको बताए। उनले भने, ‘५, ८ र १० को पाठ्यक्रम परिवर्तन भएको हुनाले त्यही कम्पनीको किताब लगाएका हौं। कम्पनी त्यही हो, पाठ्यक्रम मात्र परिवर्तन भएको हो। अरू केही कक्षामा लेखक परिवर्तन भएकाले केही किताब परिवर्तन भएका छन्। तर कम्पनी त्यही हो।’

धनगढीकै ग्यालेक्सीले नर्सरीदेखि ८ सम्म स्वास्थ्य र नेपालीको पुस्तक परिवर्तन गर्‍यो। सामुदायिक विद्यालयतर्फ धनगढीकै चर्चित पञ्चोदय माविले पनि अंग्रेजी माध्यमतिर स्वास्थ्यको किताब परिवर्तन गर्‍यो। एक्सिस विद्याश्रमले पनि नर्सरीदेखि ८ सम्मको अंग्रेजी र गणित परिवर्तन गर्‍यो। अंग्रेजी पुस्तकमा गत वर्ष गुलमोहर कम्पनीको लगाएकोमा यस वर्ष परिवर्तन गरेर उसले सेम्फोनीको अंग्रेजी लगायो भने गणितमा गत वर्ष युनाटेडको लगाएकोमा यस वर्ष कोसेलीको लगाएको छ।

धनगढीको हसनपुरमा रहेको बालवाटिका मन्टेश्वरीले त रिजल्ट आएलगत्तै सार्वजनिक गरिएको पुस्तकको लिस्ट बीचैमा परिवर्तन गर्‍यो। आधा विद्यार्थीले सोविनार पब्लिकेसनको पुस्तक किनिसके पछि, उक्त पब्लिकेसनको परिवर्तन गरेर बुद्ध पब्लिकेसनको पुस्तक लगाए। ‘बच्चाको पुस्तक किनियो, कभर हालियो। नाम लेखेर ठिक्क पारियो। तर, फेरि पुस्तकको पूरै सेट परिवर्तन भयो। कभर हालेका पुस्तक बुझाएर बुद्ध पब्लिेकसनका नयाँ पुस्तक लिएर आएँ’, एक अभिभावकले भने, ‘पुस्तकमा निजी विद्यालय र व्यवसायीको मनपरी भयो। नियमन गर्ने निकाय पनि आँखा चिम्लेर बसेको छ।’

शिक्षाको आधारभूत तह स्थानीय तहको जिम्मामा राखिएको छ। धनगढी उपमहानगरपालिकाले यसअघि नै पाँच वर्षभित्र पुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको थियो। उसले कुनै पब्लिकेसनको पनि पुस्तक, पाँच वर्षभन्दा अगाडि नै परिवर्तन नगर्न निर्देशन नै जारी गरेको हो। उपमहानगरका शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर खातीले सार्वजनिक सूचना जारी गर्दै हरेक विद्यालयलाई गत वर्ष लगाइएको पब्लिकेसन र यस वर्षको तथ्यांक नै नगरपालिकामा पेस गर्न निर्देशन दिएका छन्।

‘अधिकांश विद्यालयले तथ्यांक पेस गरेका छन्। त्यसको पनि अनुगमन हुन्छ। केहीको आउन बाँकी छ। नआएका विद्यालयहरूमा पनि गएर किन नपठाएको भनेर अनुगमन गरिन्छ’, खातीले भने, 
‘हामी सबै विद्यालयको पुस्तकको विवरण उपमहानरको वेवसाइटमा पनि राख्छौं। कसैले झुटा विवरण पेस गरेको उजुरी परेमा त्यसको छानबिन भएर कारबाही पनि गरिन्छ।’

कमिसनका लागि परिवर्तन

निजी विद्यालयका सञ्चालकहरूले कमिसनका लागि पुस्तक परिवर्तन गरेको आरोप लाग्दै आएको छ। राम्रो लेखकको पुस्तकभन्दा पनि कमिसन बढी दिने पब्लिकेसनको पुस्तकहरू बढी लगाउने गरिएको छ। निजी विद्यालयका एक शिक्षक भन्छन्, ‘सबै विद्यालय यस्तै छन् त भन्दिनँ, तर वार्षिक परीक्षा पछि पब्लिकेसनले दिने लाखौं कमिसन मात्रै जोगाउने विद्यालयहरू पनि धेरै छन्।’

निजी विद्यालयहरूलाई दुई प्रकारले कमिसन आउने गरेको छ। एउटा सीधै पब्लिकेसनबाट किताब लगाई दिएबापत। अर्को पुस्तकको लिस्ट सार्वजनिक नगरेर कुनै एक वा दुई मात्रै पुस्तक पसललाई दिएबापत। एक पुस्तक व्यवसायी भन्छन्, ‘हामीले विद्यालयमै गएर पनि लिस्ट माग्यौं तर दिन मान्दैनन्। कमिसन बढी दिनेलाई मात्रै लिस्ट जाने गरेको छ।’ निजी विद्यालयका सञ्चालकहरूले पब्लिकेसनको पुस्तक लगाई दिएबापत एसी लिएको, प्रोजेक्टरहरू उपहार मागेका, विद्यालयको संरचना मन्दिर, पार्किङ, बाउन्ड्री वाल बनाउन लगाएका घटनाहरू चर्चामा आएका छन्।

पुस्तक व्यवसायीको सिन्डिकेट

प्रायःजसो बोर्डिङ स्कुलका पुस्तकहरू धेरै महँगा हुन्छन्। ती महँगो हुनुको कारण कमिसन नै हो। विक्रेतालाई पुस्तकमा ५० प्रतिशतसम्म कमिसन हुने गरेको पुस्तक व्यवसायी नै बताउँछन्। तर यसपालि कागजको मूल्य बढेकाले पुस्तक व्यवसायीको केही कमिसन पब्लिकेसनहरूले घटाएका छन्। तर पुस्तक व्यवसायीले पनि त्यो रकम अभिभावकलाई छुट नदिएर कमाएका छन्। ‘बोर्डिङका पुस्तकमा गत वर्ष १०÷१५ प्रतिशतसम्म छुट पाइन्थ्यो। तर, यसपालि त एक रुपैयाँ पनि छुट दिएन’, अभिभावक सत्यराज जोशीले भने, ‘छुट पनि दिएनन्। किताब समयमा पनि आएनन्।’ उनले अझै दुई किताब नपाएको गुनासो गरे।

यसपालि पुस्तक व्यवसायी महासंघले पुस्तक बिक्रीमा सिन्डिकेट लगाएको छ। महासंघले छुट दिने व्यवसायीलाई कारबाही गर्ने चेतावनीसहितको निर्णय गरेर अभिभावकलाई छुट नदिन निर्देशन गरेको छ। ‘महासंघले छुट नदिने सर्कुलर जारी गरेको छ। पब्लिकेसनले होलसेलरको कमिसन घटाइदिएको छ। पुस्तक व्यवसायी पनि बाँच्नु पर्‍यो’, एक पुस्तक व्यवसायीले भने।

पुस्तक व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मेखराज दाहाल भने कमिसनको कुरा हल्ला भएको दाबी गर्छन्। ‘कमिसनको कुरा हल्लामात्रै हो तर यसपालि छुट नदिन भने महासंघबाटै सर्कुलर भएको छ’, दाहालले भने, ‘सरकारले कागजको मूल्यअनुसार पुस्तकको मूल्य बढाइदिएको छैन। २०७० सालमा सरकारले एक पेज पुस्तकको १ रुपैयाँ ४५ पैसा तोकिदिएको छ। कागजको मूल्य यति धेरै बढिसकेको छ कि ३० पब्लिकेसन धान्न नसकेर बन्द नै भइसकेका छन्।’

अनुगमनको अभाव

आधारभूत तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ। तर स्थानीय तहहरूले पनि निजीका पुस्तक र विद्यालयहरूमा अनुगमन गर्न सकेका छैनन्। धनगढीमा मात्रै १८ सामुदायिक विद्यालय र १ बोर्डिङको नतिजा शून्य आएको थियो। निजी शिक्षाका लागि बढीजसो विद्यालयहरू कैलाली र कञ्चनपुरको जिल्ला सुदरमुकाम धनगढी र महेन्द्रनगरमा छन्।

तर, स्थानीय तहहरूले अनुगमन भने गर्न सकेका छैनन्। ‘पुस्तक वर्षैपिच्छे परिवर्तन हुन थाले भनेर हामीले यसपालि गत वर्ष र यस वर्षको पब्लिकेसन खुलाएर सबै विद्यालयबाट लिस्ट मागेका छौं। त्यो अनुगमनकै लागि हो। उपमहानगर त्यो लिस्ट ठीक छ वा छैन भनेर अनुगमनमा पनि जानेछ’, धनगढी उपमहानरपालिकाको शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर खातीले भने। उनले, पुस्तकको छुट र कमिसनको छानबिनको काम प्रशासनको भएको बताए।
यस्तै सुर्खेतमा रहेको इगरब्रिज बोर्डिङ स्कुलले ओम स्कुल स्टोर, उषा बालबालिका बोर्डिङ स्कुलले हाम्रो पुस्तक पसल, होराइजन बोर्डिङ स्कुलले नवबिहानी पुस्तक पसल, चिल्डे«न प्याराडाइज बोर्डिङ स्कुलले हाम्रो पुस्तक पसलसँग पाठ्यपुस्तक खरिद गर्न अभिभावकलाई भनेर सिन्डिकेट नै लगाएका छन्। यी मात्र होइनन्, सुर्खेतमा रहेका सबैजसो निजी शैक्षिक संस्थाहरूले पुस्तक पसल तोकेरै अभिभावकलाई पाठ्यपुस्तक खरिद गर्न लगाएका छन्।

यता विद्यालयका प्रधानअध्यापकहरू विद्यार्थी र अभिभावकको सहजताकै लागि पुस्तक पसल तोकेर पाठ्यपुस्तक खरिद गर्न लगाएको बताउँछन्। साउथ एसियन बोर्डिङ स्कुलका प्रिन्सिपल प्रेमबहादुर दसुनीले भने, ‘हामीले विद्यार्थी र अभिभावकलाई सहज होस् भनेर पर्वत स्टेसनरीमा पाठ्यपुस्तक लिन भनेका हौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.