अग्रता जोगाउन नसक्दा मनाङले संकटासँग अंक बाँड्यो
काठमाडौं : पहिलो हाफमा लिएको १–२ को अग्रता जोगाउन नसक्दा सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग २–२ को बराबरी खेलेको छ।
च्यासल रंगशालामा भएका खेलको १९औं मिनेटमा कोफी कौडोले गोल गरेसँगै मनाङले अग्रता लिएको थियो। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा योसेफ अत्रिसले संकटाका लागि बराबरी गोल फर्काएका थिए।
तर, पहिलो हाफको अन्तिम मिनेटमा कौडोले गरेसँगै मनाङले पुनः अग्रता लिएको थियो। दोस्रो हाफको सुरुआतमै मनीष डाँगीले गरेको गोलसँगै संकटाले बराबरी गर्यो।
खेलमा दुई पटक अग्रता लिए पनि ५२औं मिनेटमा संकटाका मनीषलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य भयो।
बराबरीसँगै मनाङ १९ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। यस्तै, संकटा समान खेलबाट २२ अंक जोडेर आठौं स्थानमा छ।
आजै दशरथ रंगशालामा भएको अर्को खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबले पनि २–२ गोलको बराबरी खेलेका थिए।