नक्कली शरणार्थीबारे सक्कली अभिमत : अमेरिकाबाट नियाल्दा

नक्कली शरणार्थीबारे सक्कली अभिमत : अमेरिकाबाट नियाल्दा

नेपालका शिविरहरूबाट अमेरिकामा पुनर्वास गरिएका नेपालीभाषी भुटानीलाई हामीले नक्कली शरणार्थी प्रकरणबारे सोधेका थियौं– ‘गैरभुटानीहरूलाई भुटानी बनाएर अमेरिका लैजाने मुद्दामा पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति तपाईं के भन्नुहुन्छ ?’ उनीहरूको भनाइ जस्ताको तस्तै :

खेमराज रिजाल, लेखक 
शक्तिशाली राष्ट्र भएर हामीलाई देश निकाला गर्न, हामीमाथि दमन गर्न, अत्याचार गर्नका लागि ठूलो भूमिका खेलेको थियो भारतले। भारतले भुटानीमाथि ठूलो दमन गर्‍यो। पछि हामीले देश फिर्तीका लागि पटक–पटक शान्तिपूर्ण संघर्ष गर्दा पनि भारतले हामी भुटानीमाथि गोली काण्ड नै गर्‍यो। हामी त्यसै पनि पीडित थियौं। हामीलाई देश निकाल्न दमन, अत्याचार गर्नुमा भारतले ठूलो भूमिका खेलेको थियो। नेपाल चाहिँ हाम्रो पक्षमा छ होला भन्ने लाग्थ्यो।

तर, यो अहिलेको क्रियाकलापले गर्दा त्यस्तो लाग्न छाड्यो। अहिले त यो एउटा मात्रै काण्ड बाहिर आयो। यस्ता अरू कति काण्डहरू छन् थाहा छैन। हामीमाथि कति खेलेका रहेछन् नेपाल र नेपालीले। विस्तारै आउलान् अरू पनि। यो काण्ड ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तो पनि हुन सक्छ। सामाजिक सञ्जाल सबैतिर कराइरहेका छन्। नेपालमा एउटा काण्ड आइरहेको बेलामा कुनै अर्को काण्ड निकालिदिन्छन् र यो कुरालाई ओझेलमा पार्छन्। किनभने माथिका ठूला व्यक्ति नै संलग्न भएपछि कसले अनुसन्धान गर्ने ? केहीलाई समाए झैं पनि गर्छन्। भित्रभित्रै सबै मिल्छन्। कुरा सामसुम पार्छन्। हेरिराख्नुहोस्, यो सबै फासफुस पर्छन्। यसैबीचमा अर्को कुनै काण्ड निकालेर यसलाई छायाँमा पार्छन्। यस्ता कर्तुतहरू धेरै छन्। यो हामी भुटानीहरूका लागि दुर्भाग्य हो।
 
प्रकाश धमला, सञ्चारकर्मी 
नेपालमा २० वर्ष शरणार्थी भएर बसें। त्यहाँको माटो र त्यहींको धुलो चाटेर गहिरो आत्मीयता बसेछ क्यारे। अरू सबैथोक बिर्सिएर बास बस्न दिएको गुण, पात बाल्न दिएको गुण, कम्ती ज्यालामै भए पनि काम गर्न दिएको गुण, मर्दा जलाउने र पुर्ने ठाउँ दिएको गुण, विश्वकप हुँदा टीभी हेर्न दिएको गुण, दातृसंस्थाको गाडी गुड्न दिएको गुण, जंगलमा भकुण्डो खेल्न दिएको गुण, दिसापिसाब गर्न दिएको गुण र केही खास मानिसहरूले बाँच्न हैसला दिएको गुण बिर्सेको छैन मैले। म एकदिन ती गुणहरूको ऋण तिर्ने प्रतीक्षामा छु।
 
डा. डीएनएस ढकाल, नेता 
यो दुर्भाग्यपूर्ण हो नेपाल र नेपालीका लागि। यो मुद्दाले हाम्रो कम्युनिटीलाई क्षति पुगेको छ। यो वार्तामा कसरी भाग लिने हो नेपालले ? कतिपय भुटानी शरणार्थी क्याम्पमै सडेर बसिरहेका छन्। नेपालले उनीहरूका विषयमा कुन अन्तर्राष्ट्रिय निकायसँग कसरी काम गरिरहेको छ, त्यो उनीहरूलाई थाहा हुनुपर्छ। यो यूएनएचसीआरले यसरी हात धोएर हिँड्नु हुने थिएन। हामी यूएनएचसीआरको प्रोटेक्सनमा थियौं। उसले हात धोएर नहिँडेको भए यस्तो स्थिति हुने थिएन। म विशेष गरेर अन्तर्राष्ट्रिय निकायलाई आरोप लगाउँछु। उसैको लापरबाहीले गर्दा विभिन्न इन्ट्रेस्टले मौका पाए। तहसनहस गरिदिए।
 
तिलक राई, शरणार्थीका प्रतिनिधि 
नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग अघि सार्दै ‘भुटान सरकारले हामीमाथि लगाएको आरोप मिथ्या हुन सकोस्। साथै, नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा उच्च कायम हुन सकोस्। 

राम कार्की, मानव अधिकारकर्मी
सरकारी संयन्त्रले नै नेपालका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा करोडौं रुपैयाँ खाएको समाचारले धेरै दुःखी भएको छु। यो त एउटा मानवताविरुद्धको अपराध हो जस्तो मलाई लाग्छ। किनभने भुटानी शरणार्थी ३० वर्षदेखि आफ्ना आमाबाबु, नातागोता, भएभरको सबै जायजेथा छाडेर नेपाल आएर खाइ–नखाई यो लेभलमा पुगेका छौं। शरणार्थीका नाममा नेपाल सरकारका मन्त्रीहरूले यसरी सरकारी संयन्त्र नै प्रयोग गरेर नक्कली शरणार्थी बनाएर विदेश पठाउने काम गर्नु ठूलो अपराध हो।

म के भन्न चाहन्छु भने नेपाल सरकारले यो मुद्दाका विषयमा के गर्छ ? विशुद्ध छानबिन भएर दोषीलाई अविलम्ब कारबाही हुनपर्छ। एउटा समिति खडा गरेर बेलडाँगी र शनिश्चरेमा रहेका सबै शरणार्थीलाई परिचयपत्र दिएर राख्नुपर्छ। र, उनीहरूलाई अविलम्ब व्यवस्थापन गर्नुपर्छ। अहिले पनि सामाजिक सञ्जालमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलगायत कसैले पनि भुटानी शरणार्थीका विषयमा आवाज नउठाएको देख्दा अत्यन्तै दुःख लागेको छ। यो समस्या यस्तै अवस्थामा राख्यो भने पछि पनि आर्थिक लाभ गर्न कसैको आँखा लाग्ने ठाउँ हुन सक्छ। त्यसकारण नेपाल सरकारले अविलम्ब यो समस्या समाधान गर्नुपर्छ। शरणार्थीले न्याय पाउनुपर्छ। 

कर्ण गुरुङ, साहित्यकार 
बाध्यता र महत्त्वकांक्षामा चाहिँ फरक छ। बाध्यता भएर भ्रष्टाचार गर्नु र महत्त्वकांक्षा भएर भ्रष्टाचार गर्नु नितान्तै फरक कुरा हो। त्यो भएकाले यस्तो कुरामा सरकारले फोकस गर्न सक्नुपर्छ। मानसिक, आर्थिक र सामाजिक रूपमा सरकार सावधान हुन सक्यो भने बिल्कुलै देशको एउटा कुल गार्हस्थ्यमा राम्रो हुन सक्छ। 

अर्जुन प्रधान, सञ्चारकर्मी
मलाई चाहिँ एकदमै दुःख लाग्यो। एउटा राष्ट्रलाई निर्देश गरिरहेका राष्ट्रनायक भनिएका व्यक्तित्वहरूबाट उनीहरूकै पारिवारिक संलग्नतामा एउटा गुटबन्दी बनाएर हामी भुटानी माथि खेलिएको एक किसिमको चलखेलले हामीले एउटा पैतृक थलो भनेर एक किसिमको सम्मान नेपाललाई दिइरहेको र त्यहाँ साह्रो गाह्रो पर्दा पनि हामीले यहाँबाट सकेको मद्दत गरिरहेका थियौं। 

अमेरिकामा स्थायित्व भएता पनि नेपालमा दुःख पर्दा एउटा आत्मीयता थियो। त्यो हुँदाहुँदै पनि हामीमाथि पूर्वउपप्रधानमन्त्रीलगायतका व्यक्तिहरूको संलग्नतामा यति ठूलो शोषण र दमन भइरहेको रहेछ। हामी त यहाँ आयौं त्यहाँ क्याम्पमा रहेका करिब ७ हजार मानिसहरूलाई दीर्घकालीन स्थायित्व गर्नुपर्नेमा यसरी नेपालले नक्कली शरणार्थी बनाएर सम्पत्तिकै लागि यस्तो काम गरेको देख्दा दुःख लागेको छ। यस घटनाले नेताको मात्र नभएर एउटा राष्ट्रको बेइज्जत भयो। हामीले कसलाई विश्वास गर्नु र ? 

जसले राष्ट्रलाई सञ्चालन गरिरहेको छ। उसले नै गिरोह बनाएर यस्तो काम गरेको देख्दा अब कसलाई विश्वास गर्ने भन्ने वातावरण सिर्जना भएको छ। अर्को कुरा क्याम्पमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि दुःखद् क्षण हो।  

यसरी कमाएको सम्पत्तिले अवकास्श हुन लागेको अवस्थामा एडभाइस गर्नुपर्नेमा उनीहरू नै यस्तो खेलमा लिप्त रहेको देख्दा आउँदा पुस्ताले के गर्लान् भन्ने लागिरहेको छ। यस्ता कुराहरूले उनीहरूलाई पोल्छ, पोल्नै पर्छ। 

हरि खनाल, पत्रकार 
सयौं नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकहरूमा पठाउने गम्भीर ठगी प्रकरणमा नेपालका पूर्वसभासद्, पूर्वगृहमन्त्रीदेखि पूर्वउपप्रधानमन्त्री र बिचौलियाहरूको ठूलो गिरोह संलग्न रहेको खबरप्रति गहिरो ध्यानाकर्षण भएको छ।

यसरी शरणार्थीका नाममा भएको यो ठगी प्रकरणले केवल नेपालको मात्रै बदनाम भएको छैन। यस घटनाले हाल नेपालका शिविरहरूमा रहेका निर्दोष शरणार्थीहरूको भविष्यमाथि नै खेलवाड भएको छ। उनीहरूको अपमान भएको छ। यो पछिल्लो नक्कली शरणार्थी प्रकरणले जबसम्म नेपालमा भुटानी शरणार्थी शिविर रहिरहन्छ, तबसम्म तिनीहरूको नाममा यस्ता काण्डहरू भइरहन्छन् भन्ने डर सिर्जना भएको छ।

यो काण्डले विगत केही साता लगातार चर्चा पाइरहेको छ। यो प्रकरणले नेपालको त बदनाम भयो–भयो, भुटानी शरणार्थीको नामसमेत जोडिएर आउने भएकोले हामी पुनर्वास गइसकेका र हालसम्म पनि शिविरहरूमा कष्टकर जीवन गुजारा गर्न बाध्य शरणार्थीहरूको पहिचानमासमेत गम्भीर चोट पुर्‍याएको छ। तसर्थ, यस प्रकरणका दोषीउपर उचित कारबाही गरी शरणार्थीलाई न्याय दिन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु। यसका साथै शरणार्थी समस्याको दिगो समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको संलग्नतामा स्वदेश फिर्ती वा पुनर्वासमध्ये कुनै एक विकल्प अपनाएर सधैंका लागि शरणार्थी शिविर बन्द गर्ने उपयुक्त व्यवस्था मिलाउन पनि माग गर्दछु। 

तिलक पकुवाल, समाजसेवी 
जसलाई विश्वास गरी हामी २५ वर्षसम्म शरण लिएर घर फिर्तीको माग गर्दै एउटा आशा लिएर बसिरहेका थियौं, उसैले हाम्रा आशालाई मारेर सरकारले आफ्नै नागरिकमाथि खेल खेलेको खबरले अचम्मित बनायो। म दोषीउपर कडा कारबाहीको माग गर्छु। 

जीवन प्रधान, समाजसेवी 
सुरुदेखि भुटान र नेपालको पहलमा सञ्चालित द्विपक्षीय वार्ताहरूका नाममा, शरणार्थीको शृंखला पुष्टीकरणका नाममा, खाना वितरणका नाममा, अन्तर्राष्ट्रियकरणका नाममा र अब शरणार्थी पुनर्वासका नाममा नेपाली राजनीतिज्ञहरूले भुटानी शरणार्थीहरूको पहिचानमाथि व्यापारीकरण गरिएको छ। शरणार्थी समस्या समाधान नभएसम्म अपराधीहरूलाई काठमाडौंको जेलमा थुन्नुपर्छ।

नारद अधिकारी, नेता 
यो मुद्दा गम्भीर एवं संवेदनशील छ। हिजोका दिनमा नेपाली जाति हुनुप्रति गर्व गर्नेहरू आज शिर झुकाएर हिँड्नु परेको छ। दिनप्रतिदिन स्थिति झनै जटिल बन्दै गएको छ। यसले भुटानका लागि ठूलो उपलब्धि भएको छ भने नेपाल यसमा डुबेको अवस्था छ। हाम्रो मान्यता यति मात्र हो कि यो मुद्दाका कारण पीडित भुटानीलाई अन्याय हुनु भएन। नेपालका सम्बन्धित दोषीहरू जुनसुकै पदका भए पनि छाडिनु भएन। नेपाललाई ठूलै कलंक लगाएको देखिन्छ। दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। 

बलराम पौडेल, नेता 
तीन दशकअघि हामी भुटानबाट भाग्दै गर्दा अलपत्र परेका समयमा नेपालले शरण दियो। नेपाल हाम्रा लागि नयाँ जीवनदाता हो। तत्कालीन समयमा हामीलाई आश्रय दिन पहल र सहयोग गर्ने नेतृत्ववृन्द हाम्रा लागि धन्यवादका पात्र हुन्। तर, हाल आएर हामी पीडित शरणार्थीलाई बगरमा अलपत्र छोडेर हाम्रो परिचय ‘भुटानी शरणार्थी’ प्रयोग गरी केही भ्रष्टाचारीहरूले आर्थिक आर्जन गर्ने माध्यम बनाएको सुन्दा दुःख लाग्छ। यो सामान्य घोटाला होइन र आज मात्र देखा परेको समस्या पनि होइन। यो अन्तर्राष्ट्रिय मानव तस्करी हो। यसलाई कुनै हालतमा पनि क्षमा दिनु हुँदैन।

झापामा रहेको शरणार्थी समन्वय इकाइलाई छलेर गृह मन्त्रालयबाट बालकृष्ण पन्थीको समन्वयमा दर्ताविहीन शरणार्थी छानबिन गर्ने जुन प्रपञ्च भयो, त्यो नै यो घोटालाको सूत्रधार हो। पन्थी आयोगले संकलन गरी गृहमा बुझाएको लिस्टमा ३५ प्रतिशतमात्रै असली भुटानीको नाम छ। छानबिन त्यहाँबाटै गर्नुपर्छ। चुरो कुरो आफैं खुल्छ। म प्रशासनले लिएको कदमको स्वागत गर्दै दोषीमाथि सख्त कारबाहीको माग गर्छु। यसले शिविरमा अलपत्र असली भुटानी शरणार्थीका मुद्दा ओझेलमा नपरून्। उनीहरूको समस्या चाँडो समाधान गर्न पहलका लागि नेपाल सरकारलाई अपिल पनि गर्दछु।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.