टोपबहादुरको क्षेत्रमा कांग्रेसको नारा- 'मान्छे बेच्न पाइँदैन, यस्ता सांसद चाहिँदैन'
अर्घाखाँची : नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझीको नाम मुछिएपछि नेपाली कांग्रेसका भातृसंस्थाहरूले विरोध गरेका छन्।
उनीहरूले भ्रष्टाचारविरुद्ध विरोधसभा गरेका हुन्। ‘मान्छे बेच्न पाइँदैन, यस्ता सांसद चाहिँदैन, ठूला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ, अर्घाखाँचीको बदनाम गर्न कसैलाई छुट छैन'जस्ता प्लेकार्ड बोकेर उनीहरूले सन्धिखर्क बजार परिक्रमा गरेका थिए।
कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले जिल्लाको सांसद मान्छे बेच्नेजस्तो अपराधिक कार्यमा संलग्न रहेको भन्दै जिल्लाको शिर झुकेको बताए। सांसदले कुन दलको प्रतिनिधित्व गर्छ भन्ने गौंण कुरा भएको भन्दै उनले समग्र जिल्लाको बेइज्जत भएको बताए।
उपप्रधानमन्त्री भइसकेका व्यक्तिको नाम कीर्ते काम र भ्रष्टाचारमा मुछिनु दुःखद भएको भन्दै उनीहरूले जनताको विश्वासमाथि ठूलो बेइमानी भएको बताएका थिए।